रामनाथ अधिकारीको संसदमा प्रश्न ३० वर्ष पुरा भयो, अब कहिले पुरा हुन्छ ? धादिङवेसी-सांकोष-तिप्लिङ सडक

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २०, २०८०

धादिङ । नेपाली कांग्रेस धादिङका सभापति एवम् धादिङका संघीय सांसद रामनाथ अधिकारीले प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा मन्तव्य राख्दै धादिङवेसी-सांकोष-तिप्लिङ सडक (दामन पाख्रिन राजमार्ग) को निमार्ण सुरुभएको ३० वर्ष पुरा भयो यसले कहिले पूर्णता पाउँछ ? भन्दै यसको उत्तर मागेका छन् ।

यस्तो थियो मतव्य

सम्माननीय सभामुख महोदय,
संघीय गणतन्त्र नेपालको केन्द्रीय राजधानी काठमाडौं संग जोडिएको धादिङ जिल्ला उत्तरको तिव्वती सिमाना हिमालय पर्वत देखी दक्षिणमा महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको उच्च हिमाली देखी मध्य पहाडी भू-भाग रहेको एकमात्र जिल्ला हो । उक्त जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरू मध्ये म एकजना प्रतिनिधि पात्र हुँ । उक्त जिल्लाको सदरमुकाम धादिङवेसीमा रहेको छ जुन ठाउॅं पृथ्वी राजमार्गको मलेखु बजारबाट जम्मा १८ किलोमिटर मात्र भित्र पर्दछ । त्यस सदरमुकाम धादिङवेसी देखी उत्तर तर्फको साविकको १२ वटा गाउॅं विकास समिति तथा हालको ६ वटा स्थानीय तह (नीलकण्ठ नगरपालिका, नेत्रावती डपजोङ गाउॅंपालिका, त्रिपुरासुन्दरी गाउॅंपालिका, खनियावास गाउॅंपालिका, गंगाजमुना गाउॅंपालिका र रूविभ्याली गाउॅंपालिका)को केही पहाडी र केही हिमाली तथा उच्च हिमाली भू-भागहरूलाई जोड्दै जिल्लाको उत्तरी सिमाना तर्फको उच्च हिमाली क्षेत्रमा अवस्थित गणेश हिमालको काखमा रहेको प्राकृतिक सौन्दर्यले भरिपुर्ण पर्वतिय तथा साँस्कृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको रूविभ्यली गाउॅंपालिकालाई जोड्ने एकमात्र सडकमार्गको रूपमा रहेको “धादिङवेसी-सांकोष-तिप्लिङ सडक” (क्रान्ति नायक स्वर्गिय दामन पाख्रिनको नामबाट नामाकरण गरिएको राजमार्ग) उक्त सडकको निर्माण कार्य शुरू भएको आज ३० वर्ष पुरा भएको छ ।

सम्माननीय सभामुख महोदय,
तत्कालिन जिल्ला विकास समितिको आयोजनामा “कामको लागि खाद्यन्न कार्यक्रम” अन्तर्गत बिक्रम सम्बत २०५० सालमा निर्माणकार्य शुरू गरिएको करिव १०० किलोमिटर लम्बाई रहेको उक्त सडक खण्डको निर्माण भैसक्दा लाभान्वित हुने नागरिकहरू वर्षायाममा अहिलेपनी सदरमुकाम आइपुग्नलाई ३ देखी ४ दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । जम्मा १०० किलोमिटर सडकको निर्माणकार्य शुरूभएको तिन दशक पुरा भैसक्दा पनि सडकको अन्तिम गन्तव्यसम्म सडकको ट्रयाक पनि नखोलिएको र ट्रयाक खोलिएको सडकको हालको अबस्था वर्षायामको समयको त कुरै नगरौं हिउॅंदमा माघेझरी पर्दापनी सडक अबरूद्ध हुन पुग्छ । उक्त सडक खण्डमा अत्यन्त आवश्यक रहेको बिभिन्न ८ वटा खोला माथी बनाउनुपर्ने पक्की पुल मध्ये सबैभन्दा ठुलो किन्ताङ खोला माथीको पुलको अहिलेसम्म पनि सर्वे नभएकोले एकजना जनप्रतिनिधिको हैसियतले पटक पटकको हारगुहार पछाडी नेपाली सेना र विद्धुत प्राधिकरणको साहायतामा यसपाली बेलिब्रिज निर्माण गर्दैछौं ।

यस्तो लाजमर्दो किसिमको विकासको नमुना हामिले कहिलेसम्म गरिरहने हो ? जनताले अहिलेको सूचनाप्रबिधिलाई प्रयोग गरेर विश्वमा भएका भौतिक विकासका नमुनाहरू हेरिरहेका छन् । जसबाट १० वर्ष, १५ वर्ष, २० वर्षको अवधीमा भौतिक विकासमा कायापलट गरेका मुलुकहरूलाई नियालिरहेका छन् तर हामिहरू ३० वर्षमा पनि जम्मा १०० किलोमिटरको सडकलाई पक्की बनाउन सक्दैनौ भने, जनतालाई कहिलेसम्म झुक्याइरहने हो ? अझ गज्जबको कुरा त के छ भने सरकारले वार्षिक रूपमा बजेट निर्माण गर्दा उक्त सडकलाई ५,६ ठाउॅंमा संघीय सरकारले शिर्षक राख्छ, ३,४ ठाउॅंमा प्रदेश सरकारले सडक कालोपत्रे भन्ने शिर्षक राख्छ र रकम छुट्याउछ ५ लाख, १० लाख । के गर्ने हो त्यो पैसाले? हुमादी गर्ने हो की श्राद्ध गर्ने हो? त्यसपछी कार्यन्वयन गर्ने अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय, सडक बोर्ड देखि डिभिजन सडक कार्यालय, प्रादेशिक सडक कार्यालय, प्रदेश सरकारको बिभिन्न मन्त्रालय, जिल्ला पूर्वाधार विकास कार्यालय सम्म गरेर दर्जन कार्यालयहरू जोडिन्छन् अनि आयोजना फलोअपमा गयो एउटा कार्यालयले अर्को कार्यालय देखाउने उक्त कार्यालयमा गयो त्यस कार्यालयले फेरी अर्कै कार्यालय देखाउने यसरी कार्यालय देखाउॅंदा देखाउॅंदै उक्त सडकको निर्माण शुरू भएको ३० वर्षको अवधी सकियो तर फिल्डमा भएको कामको प्रगति भने अहिले पनि नागरिकहरू राज्य संचालकहरूलाई गाली गर्दै पैदल यात्रामा हुनुहुन्छ । मलाई लाग्छ सायद यो मेरो क्षेत्र र जिल्लाको मात्रै समस्या होइन, यो त देशै भरिको समस्या हो यहाँ रहनुभएका सबै माननीयहरूले यो पिडा भोग्नु भएको छ भन्ने मलाई लागेको छ ।

यो त एउटा विकासको प्रतिनिधि उदाहरण मात्र हो, यस्ता अन्य धेरै आयोजनाहरूको उदाहरण हाम्रासामु रहेका छन् । हाम्रो विकासको कार्य गर्ने शैली यस्तो छ अनि हामी जनतामा निराशा छायो भन्छौ,………. नागरिकहरू असन्तुष्ट भए भन्छौ,……… किन छाउदैंन निरासा, किन हुदैनन् असन्तुष्ट हामीले जसो गरेपनी जनता खुशी भैरहनुपर्ने हामीले जसो गरेपनी जनताले ताली बजाइदिरहनु पर्ने? राज्य किंकर्तव्यविमुढ भैरहॅंदा पनि जनताले जय जयकार गरिरहनुपर्ने? के यहि हो हाम्रो काम गर्ने शैली? हामी कहिले परिवर्तन हुने हो? हाम्रो शैली कहिले परिवर्तन गर्ने हो? जनतालाई हामिले कहिलेसम्म मुर्ख बनाईराख्ने, हो? बेकुब बनाइराख्ने हो?

सम्माननीय सभामुख महोदय,
म सम्माननीय सभामुख मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु वसौं छलफल गरौं, सदनमा छलफल गरौं, समितिमा छलफल गरौं, घण्टौं छलफल गरौं, हप्तौं छलफल गरौं, के कारणले यस्तो समस्या भैरहेको छ? कसका कारणले ढिलासुस्ती भैरहेको छ? समस्या कहाँ छ ? सोचमा छ कि स्रोतमा छ? कागजमा छ कि कर्मचारीमा छ? नियममा छ कि नियतमा छ? नेतामा छ कि नागरिकमा छ? कतै न कतै समस्या छ, के मा छ? पहिचान गरौं र समस्याको समाधान निकालौं र अघि बढौं अन्यथा नागरिकको आसुँले हामि सबैलाई पोल्ने छ । र अन्त्यमा

सभामुख महोदय,
३० वर्ष पुरा भयो, अब कति वर्ष कुर्नु पर्ने हो निमुखा नागरिकले? अझैं कति दुःख पाउनुपर्ने हो त्यहाँको नागरिकले? उक्त सडकको निर्माणकार्य कति वर्षमा पूर्ण हुन्छ? मलाई त्यसको जवाफ चाहियो सभामुख महोदय अनि म जनताको विचमा गएर सरकारको संदेश स्वरूप त्यहि भन्नेछु । धन्यवाद ।