भोली उज्यालो हुनेछ

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १५, २०८०

प्रीय ममता !
हिजो द्वन्द्वमा म तिम्रो साथ भइनँ, तिम्रो सहारा भइनँ ।
तिम्रो हराएको भाइ, इज्जत लुटिएकी छोरीको साथी भएँ
तिम्रो श्रीमान अर्थात दिवंगत सहिद कमरेडको
साथी पनि भएँ ,
दर्किरहेको भदौरे झरीका बेला भुटेका अलौटा मकै
मुरुक्मुरक चपाउँदै भोली आउने सुखका
अनि शान्तिका बाटोहरु कोरिएका
तिम्रा सपनाहरुको साक्षि पनि भएँ ।
अन्धकार छिचोलेर एकदिन उज्यालो हुने आशामा
समानता र मुक्तिको आन्दोलनका बेला
दुस्मनको कुनैपनि बेला हुनसक्ने आक्रमणको पनि
कत्ति चिन्ता भएन,
क्रान्तिका बेला बुर्जुवा शिक्षा नपढ्ने आन्दोलन चलाउने म पनि थिएँ
सांस्कृतिक क्रान्तिका नाममा दशै रु.१ टीका,
सामुहिक बिबाह र व्रतबन्धहरु पनि गराइए,
उसो त विबाह प्रगतिशील पनि गराइए ।
कुसंस्कारका विषय आज
सिर्फ छुवाछुत बाहेक सबै उस्तै उस्तै छ,
दाइजोले आज पनि बहिनी घरबार बिहिन छे ।
छाउगोठहरुमा आजपनि बहिनीहरुको अस्मिता धिक्कारिरहेछ ।
बाटोघाटोमा बहिनी आजपनि असुरक्षित छे ।
त्योबेला भनिएको स्वतन्त्रता आज कानूनका हरफमा पनि आएन आमा१
बहिनीको त के कुरा आमा,
भाइ नबराजहरु नै आज भेरीमा धिक्कारिरहेकै छन् ।
हामीले सोचेको, रेखा कोरेको प्रगतिशील विबाहहरु
आज तारे होटल सरेकाछन् ।
सर्वहाराहरुको संस्कृति देखेर सहिदहरु छक्क परेका छन् ।
दशैँले दशा भरेकै छ आमा !

हिजो क्रान्तिमा दशैँ विषय बन्यो। आज बनेन ।
हिजो सामन्तहरु विषय बने आज विषय र बिचारहरु सामन्त बनेकाछन् ।
हिजो क्रान्तिका बेला तीजले गाउने गीत
बजाउने बिगुल आज मोर्डनाइज्ड भै
आज क्यालेण्डरले महिना भरेको छ।
सुख सयल र येशआरामको गुनासोमा सिमित भएको छ ।
तिम्रो मजेत्रो त उस्तै छ आमा
शहरमा दिदीबहिनीहरुको धोती आज
लेहेँगा र मोड्यूल सारीमा फड्किएको छ ।
बिदेशमा बस्ने ज्वाईँभिनाजुले हाम्रो संस्कार नाप्न
कमसल र असल जाँच्न आइफोन पठाएकाछन्
आज तिनै क्यामेराहरु तिम्रो घुर्मैलो मजेत्रो र पुरानो धोती
कमसल तिजमा नापिरहेका छन् शनैशनै !
दाइ नहराइदिएको भए उ पनि बिदेश जाँदो हो ,
पैसा कमाएर तिमीलाई राम्रै लाउन दिँदो हो ।
उसको पनि आइफोन खेलाइदिने भाउजू हुँदिहुन् ।
तिमीलाई दिनका दिन सघाउने मेरी भाउज्यू
घरै बस्दिहुन् । तिम्रा हरेक दुखमा साथ दिँदिहुन् । मलाई पनि अपाङ्ग नभनी कन खाना खुवाउँदिहुन् ।
कल्पना पनि कति मीठो हगी आमा !
क्रान्तिका बेला दाइ हरायो । यो कथा पनि त्यतै हरायो ।

उबेला ग्रिनेट नपड्किँदो हो त मेरा हात गोडा सद्धे हुन्थे ।
म मेरी आमाका लागि संसारको सबै भन्दा बढी खुसी
किनेर ल्याउँथे नि आमा !
फगत आज तिम्रै सहारामा म बाँचेको छु ।
बुबाले कमरेडहरुलाई सर्कुलरका बेला भन्नुहुन्थ्यो
कमरेडहरु ! घर नसम्झनू, घर पार्टीको जिम्मा भो भन्नुहुन्थ्यो,
रणमैदानमा रहेका बेला कमजोर बनाउन
दुस्मनले आफ्नै परिवारलाई दागे पनि
आमाबुबा नै हताहति नै भएपनि कठोर हुनू
परिवार भन्दा सहयोद्धाहरुको ख्याल राख्नू !
सबैले ताली बजाएकै हो ।

दुबैभाई छोरा गुमाएका काईँला बा र काँईँली आबैँलाई
१/१ थान ढाकाको खादा लाइदेछन् ।
यसवर्षको जनयुद्ध दिवस यसरी मनाइयो भनेर फोटो फेसबुकमा हालेछन् ।
बाको सरकुलरमा कमरेडहरु सहादत प्राप्त गर्नु भयो भने
परिवारको जिम्मा पार्टीको हुन्छ भन्नू हुन्थ्यो ।
पार्टी त बिलखमा छ आमा ! काँइलीआमाले
मलाई सराप्नु भो र भन्नू भो
तँ नभैदिएको भए, मेरा २ भाइ म सँगै हुन्थे आज
हो मैले नलगेको भए तिनीहरु जान्न थे होलान्
दुस्मनको त्यो तातो गोली सहनु पर्ने थिएन तिनले
तर समाजले परिवर्तन पाउने थिएन नि हगी आमा !

गाऊँकै ठुलो मान्छे हुन उसलाई म चाहियो
बोक्न आयो, भोट हालेँ
आज मुक्ति दिवसमा उसले सम्झौता गर्यो ।
मन गह्रुँगो भाको बेला मेरो मन बोक्न आएन आमा !
खै किन हो ? आज कमरेडहहरु ! परिवार सम्झिन्छन् ।
कमरेडहरु पद र लालसा सम्झिन्छन् ।
सहयोद्धाको अबिरल आँसु सम्झिन्नन् ।
योद्धाहरुको अपमान त कति हो कति आमा,
मुक्तिआन्दोलनको अर्थात जनयुद्धकै दिवसलाई कालो दिन
नरसंहार शुरु भएको आदी अनादरका बचनले
पोतिरहेकैछन् ।
तर बा ! को बोली एकदिन पुग्छ आमा
पूर्वछितिजमा उज्यालो भैसक्यो,
उज्यालोको छनक चराहरुले पनि पाइसके
समताको दीयो बल्नेछ एकदिन
समानताको जगमा क्रान्तिका बाँकी कामहरु फत्तेहुनेछन् ।
आमा ! तिमी निदायौ ?
२० वर्ष भो आमा तिमी मेरा कथा सुन्दा सुन्दै निदाएको
मेरा कन्थाहरु, फगत पट्ट्यार लाग्दा छन् हगी आमा !
सुत आमा ! अबेर भो, भोली फेरि उज्यालो हुनेछ ।
श्रमको पुजा हुने, श्रमजीविको सम्मानहुने
समानता फुलेका फुलबारीमा
समाजवादको ठूलो पर्दामा अट्नेगरी
तिम्रो र मेरो फोटो खिँचेर टाँसौँला,
सबै कमरेडहरुले सम्मान गरेको त्यो क्षण
हराएको दाइ टुप्लुक्क आइपुगोस्
मामा, काका, सानेहरु अनि
बुबा र दिदीहरु पनि मुस्कुराईरहेको हुनेछन् सायद
तर त्यो फोटो कसले खिचिदेला ?
सुत आमा ! भोली उज्यालो हुनेछ।