नीलकण्ठ माविबाट २७१ जना एसईईमा सहभागी हुँदै

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १५, २०८०

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ माध्यामिक विद्यालयबाट आज देखि सुरुहुने एसईईमा २७१ जना विद्यार्थीहरु सहभागी हुने प्रधानाध्यापक ध्रुव अधिकारीले बताए । जसमा २५ जना खुल्ला तर्फ, ३९ जना प्राविधिक तर्फ र २०७ जना नियमित तफका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेका हुन् ।

धादिङबाट सामुदायिक तथा संस्थागत गरी ४ हजार ९११ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई धादिङका कृष्णकुमार श्रेष्ठ बताए । धादिङबाट २४ वटा परिक्षा केन्द्रमा २०७ जना प्राविधिक तर्फबाट, ग्रेडबृद्धि तर्फबाट २१ जना र खुल्ला विद्यालयबाट ३२ जना सहित ४ हजार ९११ जना विद्यार्थीहरु धादिङबाट एसईईमा सहभागी हुने छन् ।

गत वर्ष नीलकण्ठबाट २४० जना विद्यार्थीले एसईई दिएका थिए जसमा सुवाश र रितेशले जिल्लाबाटै ल्याए ३।९६ जीपीए सहित उत्कृष्ट नतिजा ल्याएका थिए । नीलकण्ठ बाटै गत वर्ष बाबु-छोरा श्यामकुमार श्रेष्ठ र प्रदिप श्रेष्ठले सँगै एसईई उतिर्ण गरेका थिए ।

देशभरबाट सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै छन् ।