धादिङमा सफल निमित्त मेसु बनेका डा. रुद्रमणी चौतारा अस्पतालको मेसु बने

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ३, २०८०

धादिङ । धादिङ अस्पतालमा रहँदा सफल निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा परिचित डा. रुद्रमणी भण्डारी चौतारा अस्पतालको मेसु बनेका छन् । चौतारा अस्पताल बागमती प्रदेश मातहतको ५० शैय्याको स्वीकृति प्राप्त अस्पताल हो । उनलाई बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले मेसु बनाएर उक्त अस्पताल पठाएको हो ।

धादिङ अस्पतालमा मिति २०७९ माघ ५ गते मेडिकल अधिकृतको रुपमा हाजिर भइ कामकाज शुरू गरेका डा. रुद्रमणी बागमती प्रदेश स्वास्थ्य मन्त्रलायको निर्णय बमोजिम मिति २०७९ चैत्र २० गते देखि २०८० असोज २ गतेसम्म धादिङ अस्पतालको नि. मेडिकल सुपरिटेन्डेन्ट बनेका थिए ।

धादिङ अस्पतालमा करिब ६ महिना नि. मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा रहदा अस्पताल प्रशासनलाई व्यबस्थित र स्वास्थ्य सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी रुपमा सन्चालन गरेका थिए । अस्पताल सँग नजिकको सरोकार राखेर कार्य गर्ने नीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखा, नेपाल पत्रकार महासंघ धादिङ शाखा, सुरक्षा निकायहरु,धादिङ सोसल भोलिन्टिएय नेपाल, संयुक्त एम्बुलेन्स चालक समाज धादिङ र नागरिक समाजसङ्ग निकट सम्बन्ध राखी समन्वय र सहकार्य गरेका थिए ।

अस्पताल सन्चालन तथा व्यबस्थापन समितिका अध्यक्ष राजाराम रिजाल सँग राम्रो सहकार्य र समन्वय गर्दै डा. भण्डारीले अस्पताल सिटी स्क्यान भवनको निर्माण, अपङ्गता र ज्येष्ठ नागरिक सौचालय निर्माण, अस्पताल फार्मेसी सेवालाई थप व्यबस्थित, विशेषज्ञ सेवाको विस्तार, पार्किङ स्थलको निर्माण, ल्याब शाखामा प्रतीक्षालय निर्माण, जेष्ठ नागरिकलाई काउण्टर र फार्मेसी शाखा नजिकबाटै सहज सेवा लिने व्यवस्था गर्नुको साथै “अस्पताल न्युनतम सेवा मापदण्ड तथा सुदृढीकरण कार्यक्रम” मार्फत अस्पतालको ३० बेडको जनरल वार्ड निर्माण, प्रयोगशाला विस्तार र डिजिटल सेवा सन्चालको लागि बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयमा प्रस्ताव पेश गरी प्रभावकारी समन्वय गरेका थिए ।

अस्पताल सन्चालन तथा व्यवस्थापन समिती, तथा विशेषज्ञ चिकित्सक देखि कार्यालय सहयोगीसम्म टीम वर्कमा समन्वय, सहकर्य र सहजीकरण गरी कार्य गरेका डा. भन्डारीले अस्पतालमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुको कुशल परिचालनबाट धादिङ अस्पतालको ईतिहासमा प्रथम पटक ९६% अन्क प्राप्त गर्दै नेपालकै दोस्रो ५० शैय्याको उत्कृष्ट अस्पताल बनाउन सफल भएका थिए ।