ढोला मण्डलीमाई महोत्सवको तयारी पुरा

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २७, २०८०

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ४ स्थित ढोला बसाह मण्डलीमाईको थप प्रचार प्रससारको लागी फागुन २८ र २९ गते दुई दिन प्रथम ढोला मण्डलीमाई महोत्सव हुने भएको छ । जिल्ला सदरमुकाम धादिङवेशीबाट करिब ८ किलोमिटरको दूरीमा रहेको यस मन्दिर करिब वि. सं. १७५० सालतिर उत्पत्ति भएको अनुमान गरिन्छ ।

हरेक मंगलबार सयौं पाठी पुजा गरिने यस मन्दिरको प्रचार प्रसार गरि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन महोत्सवको आयोजना गरिएको बताईएको छ । महोत्सव पूर्वमन्त्री नेपाली कांग्रेस धादिङका दिलमान पाख्रिनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस मन्दिरमा एकादशी, औँसी, श्रावण महिना र अरू अहिंसात्मक चाडपर्व बाहेकका प्रत्येक मङ्गलवार करिब २००-३५० हाराहारीमा पाठी बलि दिइँदै आइएको छ ।

कसरी पुग्ने ढोला बसाहा मण्डलीमाईको मन्दिर
मण्डली जाने आउने ३ वटा बाटोहरू रहेका छन् । पहिलो बाटो धादिङवेशी, धौखोला हुँदै मण्डलीसम्म आइपुग्छ । दोस्रो बाटो गाउँ हुँदै झर्ने पुरानो बाटो हो भने तेस्रो बाटो मुरलीभन्ज्याङ हुँदै मण्डलीमाईको थानसम्म आउने गर्दछ । यहाँ जानआउन मोटरबाटोको प्रयोग गर्न सकिने र जिल्ला सदरमुकामबाट ८ किमीको दूरीमा रहेको छ ।

ढोला मण्डली बारे जनाकारी
ढोला मण्डली थानको आफ्नै किम्वदन्ती छ । करिब वि. सं. १७५० साल ताका ढोला मंडली थानको वरीपरी रहेको जंगलमा रुख काट्न गएका एकजना सिकर्मीले रुख कट्न खोज्दा रुख काटिएन । जती प्रयास गर्दा पनि रुख काटिएन बरु बञ्चरो नै बाङ्गो भयो । रुख नकाटिए पछि हैरान भएर उनी घरतिर लागे । अर्को दिन बञ्चरो मर्मत गरेर पून रुख काट्न गएका उनले अचम्मको दृश्य देखे । उनले जुन रुख काट्ने भनेर बञ्चरो हिर्काएका थिए, त्यो रुखबाट रगत बग्न थाल्यो ।

रुखबाट रगत वगेको देखेर उनी डराउदै घर फर्किए । राती सपनामा कसैले उनलाई भन्यो, ‘म ढोला मण्डली माई हुँ, तिमीहरुले मेरो अपमान गरेका छौ, यदी मेरो सम्मान गर्ने हो भने हरेक मंगलबार पाठीको वली चढाउ’ । सपनाको कुराले ति सिकर्मीको होस हवासै उढ्यो । अर्को दिन उनी बिहानै मन्दिर भएको ठाउमा पुगे ।

त्यहाँ उनले मन्दिरको छेउमा रहेको पीपलको रुखमा बेरिएर रहेको अवस्थामा एउटा सर्प देखे । सर्प देखे पछि उनी झस्किए । त्यसपछि उनलाई सपनाको कुरा पुरै विस्वास भयो । त्यही सर्प नै देबी रहेछ । त्यो घटना पछि हरेक मंगलबार मंन्दिरमा पाठीको बली चढाइने गरेको त्यहाँ काटिएका पाठीको मासु महिलाले खान नहुने र घरमा समेत लैजान नमिल्ने चलन छ ।