महिला सशक्तिकरणमा जनयुद्धको भुमिका

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २६, २०८०

सन् १९१० मा अमेरिकामा उठेको महिला आन्दोलनबाट उत्साहित भएर क्लारा जेटकिनले समाजवादी श्रमजीवी महिलाहरूको डेनमार्कको कोपनहेगनमा भएको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा महिलाहरूको एउटा दिवश मनाउने प्रस्ताव राखिन् जुन सर्वसम्मतिले पारित भयो । त्यस निर्णय अनुसार प्रथम अन्तर्राष्ट्रिय महिला दिवश अष्ट्रेलिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा सन् १९११ मार्च १९ मा मनाइयो । यो मिति जर्मन महिलाहरूले तय गरेका थिए किनभने यसै दिन १८४८ मा फ्रान्सका राजाले सशस्त्र विद्रोहको सामना गर्नु परेको थियो ।

सन् १९१३ मार्च १९ को मिति बदलेर ८ मार्च राखिएको थियो । यो दिन घटेका दुई महत्त्वपूर्ण घटनाहरूको स्मरण मा राखिएको थियो । पहिलो, ८ मार्च १८५७ मा न्युयोर्क सहरमा गार्मेन्ट एवं टेक्सटायलमा काम गर्ने महिलाहरूले प्रथम पटक १२ घण्टा को काम, कम मजदुरी र अमानवीय कार्य विरुद्ध एउटा विरोध आयोजना गरेका थिए । दोस्रो ८ मार्च सन् १९०८ मा १५ हजार महिलाहरूले कम घण्टा काम, राम्रो तलब, मताधिकार र बालश्रम अन्त्यको माग राखेर न्युयोर्क सहरमा मार्च गरेका थिए, जुन निकै महत्त्वको थियो ।

श्रमजीवी महिलाहरुको निम्ति सबभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय महिला दिवश सन् १९१७ को ८ मार्च थियो। यस दिन क्लारा जेट्किन तथा अलेक्सान्द्रा कोलोन्ताईको नेतृत्वमा सेन्ट पिटर्सवर्गमा रुसी महिलाहरूले रोटी र शान्तिकाो लागि हडताल गरेका थिए । परिणाम जारशाही सत्ता छोड्न बाध्य भयो । सोभियत संघले यस दिनलाई राष्ट्रिय दिवश घोषणा गरेको थियो । सन् १९७७ मार्च ८ देखि संयुक्त राष्ट्र संघले यस मितिलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशका रुपमा आधिकारिक मान्यता दियो । त्यस पर्यन्त अहिले विश्वका धेरै देशहरुमा ८ मार्चका दिन अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिएको छ ।

विशेषगरी ८ मार्चलाई नेपालको सन्दर्भमा जोडेर हेर्दा जनयुद्ध र महिला सशक्तिकरणको अन्तरसम्बन्ध एउटा जटिल र बहुआयामिक महत्वको बिषय हो। २०५२ साल देखि १० बर्ष सम्म चलेको माओवादी जनयुद्धले देशमा महिला अधिकार र सशक्तिकरणलाई ठिक ढंगले परिभाषित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। सामन्ती पितृसत्तात्मक समाजको पृष्ठभूमिमा, जनयुद्धले महिलाहरूलाई परम्परागत लैङ्गिक भूमिकाहरूलाई चुनौती दिन र उनीहरूको हक अधिकारको लागि लड्ने हिम्मत र साहस दियो, आफ्नो आवाज बुलन्द गर्ने प्लेटफर्म दियो। यतिवेला हामीले मार्च ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईरहदा जनयुद्धमा आम नेपाली महिलाहरुले खेलेको त्याग तपस्या र बलिदानको भुमिकालाई सुक्ष्म ढंगले विश्लेषण गर्न जरुरी छ । महिलाहरुको सहभागिता विना नेपाली क्रान्ति र नेपाली जनयुद्धले यो किसिमको उचाई प्राप्त गर्न सक्ने थिएन ।

नेपाली जनयुद्धले महिला र अन्य सीमान्तकृत वर्गको समाजमा गहिरो जरा गाडिएर रहेको सामाजिक र आर्थिक असमानताहरूको खाडललाई पुर्ने काम गरेको छ । जनयुद्धका सामाजिक तथा राजनीतिक परिवर्तनको सङ्घर्षमा महिलाहरू प्रत्यक्ष तथा अप्रथ्यक्ष रुपमा सहभागी भई उल्लेख्य परिवर्तनको हिस्सेदार भएको कुरालाई कसैगरि पनि नकार्न सकिदैन । लामो समयदेखि अन्याय, अत्याचारमा परेका हेरिएका थिचिएका र पिल्सिएका सीमान्तकृत र उत्पीडनमा परेका ग्रामीण क्षेत्रका महिलाहरूलाई जनयुद्धको मुलधारमा ल्याएर आफ्नो हक अधिकार प्राप्ति र रक्षाको खातिर आवाज बुलन्द गर्ने मार्गप्रशस्त गर्ने काम जनयुद्धले गर्यो भन्दा अनुपयुक्त हुदैन ।

चुलो चौको र घॉस दाउरा गर्दै समाजका अनेक कुरितिहरुको चौघेरामा सिमित महिलाहरुलाई लैङ्गिक असमानताको कुन्डबाट माथि उठाउदै हरेक क्षेत्रमा समान सहभागिताको लागी प्रशिक्षित र प्रोत्सोहित गर्नु थियो । जसको फलस्वरुप राज्यका हरेक अंगहरुमा ३३% महिला सहभागिताको ग्यारेन्टी भएको छ । माओवादी आन्दोलन र जनयुद्धको बलमा आएको महिलामैत्री संविधानकै कारण राज्यको स्थानीय तह देखि केन्द्रसम्म महिला सहभागिता अनिवार्य भएको छ ! देशको प्रमुख पदहरुमा समेत महिलाको उपस्थिती हुन सम्भव भएको हो । यसको सबैभन्दा धेरै लाभ जनयुद्ध र माओवादी आन्दोलनलाई दानवीकरण गरेर नथाक्नेहरुले नै लिईरहेका छन् ।

जनयुद्ध र शान्ति प्रकृयापछि पनि माओवादीले लैङ्गिक असमानतालाई सम्बोधन गर्ने र निर्णय प्रक्रियामा महिलाको सहभागितालाई प्रवर्द्धन गर्ने नीति र कार्यक्रमहरू लागू गर्यो, भूमिहीन महिलाहरूलाई भूमि अधिकारमा प्राथमिकता दिने, आर्थिक र सामाजिक रूपमा सशक्तिकरण गर्ने पक्षमा वकालत गरिरहेको छ, शिक्षा र स्वास्थ्य सेवालाई ग्रामिण महिलाहरुको पहुँच सम्म पुर्याउने काम जनयुद्धले नै गरेको हो । शान्ति प्रकृया, अन्तिरम संविधान र संविधानसभा पछि महिला शिक्षामा कैयौ गुणा बढोत्तरी भएको छ । महिला शिक्षित भयो भने सिंगो परिवार शिक्षित हुन्छ भन्ने भाष्य स्थापित भएको छ । शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ रुपमा महिलाको पहुँचमा पुर्याउने मात्र नभई शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने महिलाहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । घरबाट निस्कन समेत परिवारको अनुमति लिएर निस्कनु पर्ने अवस्थामा रहेका महिलाहरुको स्थितीमा कायापलट भएको छ । जुन जनयुद्ध र जनयुद्धको जगमा भएको जनआन्दोलनको मर्म र भावनाले तय गरेको संविधानले दिएको अधिकार नै हो ।

नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा माओवादी विद्रोहमा सक्रिय भूमिका खेलेका महिलाहरूको त्याग, तपस्या र वलिदानका साथै प्राप्त उपलब्धि र योगदानको उच्च मुल्यॉकन गर्दै मनाउने दिनको रूपमा विशेष अर्थ राख्छ। मार्च ८ सम्पु्र्ण श्रमजीवि महिलाहरू आफ्नो संघर्षको सम्झना गर्न, लैङ्गिक समानता र सामाजिक न्यायको लागि आफ्नो प्रतिबद्धता पुन: पुष्टि गर्न लागि पनि मनाउने गर्छन् ।

नेपाली जनयुद्धले महिला सशक्तिकरणका लागि विभिन्न अवसरहरू उपलब्ध गराएको छ । साथसाथै पछिल्लो समय बालिकाहरु माथि हुने यौनजन्य हिंसा, बलात्कार तथा हत्याका घटनाहरुले राज्यलाई समेत सोच्न बाध्य बनाएको छ । अझ जनयुद्धरत माओवादी पार्टी नै सत्तामा हुदा समेत बालिकाहरु यौन हिंसा, बलात्कार र हत्या समेत हुदा पनि न्याय पाउन पनि नसक्ने र यस्ता प्रवृतिहरु निर्मुल हुन पनि नसक्ने स्थिति समेत पैदा भएको छ यसमा सरकारको र पार्टी नेतृत्वको बेलैमा ध्यान जान जरुरी छ ! अन्यथा महिला सशक्तिकरणको क्षेत्रमा माओवादी जनयुद्धले स्थापित गरेको मुल्य र मान्यतालाई धुलिसात गर्ने निश्चित छ ।
अन्तमा, जनयुद्धले नेपाली महिलाहरुको अवस्था सुधारको लागि जुन उल्लेखनिय काम गर्यो त्यसले कानुनतः महिलालाई अधिकारको सुनिश्चितता त गरेको छ तर अझै पनि कानुन र संविधानले पाएको अधिकारलाई सजिलै उपयोग गर्न पाउने अवस्था छैन । संविधान प्रदत्त अधिकार प्रयोग गर्न पनि महिलाहरुले अझै पापड बेल्नु पर्ने अवस्था ज्युँ का त्युँ छ । ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको नारा महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी को भावलाई दर्होसंग पक्रिएर समाज परिवर्तनको दिशामा अधि बढ्न सकेमात्र मार्च ८ को महिमा र शोर्यगाथाले सार्थकता पाउनेछ । जनयुद्धले प्राप्त गरेको उपलव्धीको सही अर्थमा संस्थागत हुनेछ ।