धादिङमा मुकुन्दसेन स्मृति कप खुल्ला फुटबल फागुन १९ देखि हुने

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा यहि फागुन १९ गते देखि सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्ने बताईएको छ ।

प्रतियोगिताका संयोजक लक्ष्मण रम्तेलका अनुसार प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५–५ हजार पुरस्कार प्रदान गरिने छ । टिम दर्ता १८ गते सम्म गर्न सकिने उनले बताए ।

नीलकण्ठ नगरपालिकाको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिता धादिङको पुरानो सरदमुकाममा हुँदैछ । धार्मिक एवम् पर्यटकिय सम्भावना बोकेको भैरवी मन्दिरको काखमा हुने यस प्रतियोगितामा टाढाबाट आउने टिमलाई सुपथ मुल्यमा खाना र आवासको व्यवस्था आयोजकले मिलाउने समेत संयोजक रम्तेलले बताए ।

यस अघि पहिलो मुकुन्दसेन स्मृति खुल्ला फुटवल प्रतियोगिता ०७३ साल कार्तिक ५ देखि भएको थियो, युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन तथा तात्कालिन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले समापन गरेका थिए । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ प्रथम हुँदै ४० हजार नगद जितेको थियो ।

को हुन् मुकुन्द सेन

स्थायी ठेगानाः गल्छी केउरेनीटार, धादिङ
अस्थायी ठेगानाः सुनौलाबजार रानीस्वाँरा, धादिङ
आवद्धताः नेकपा माओवादी, इलाका इन्चार्ज
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं. ६ सुनौलाबजार रानीश्वाँरामा बुवा खड्कभुवनसेन राजभण्डारी र आमा बुद्धलक्ष्मीसेन राजभण्डारीको कोखबाट दोस्रो सन्तानको रुपमा २०१४ साल असार २१ गते मुकुन्द सेनको जन्म भएको थियो । सानैदेखि विद्रोही स्वभाव, निडर र आफ्नो अडानमा अडिग रहने मुकुन्दसेनमा सानैदेखि कम्युनिस्ट विचारधाराको गहिरो छाप परेको थियो । दाजु दिपकसेन, भाई निरसेन, बहिनीहरु पार्वती सेन र भवानी सेनका प्रिय दाजु मुकुन्द सेन छरछिमेकमा आइपर्ने सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनु हुन्थ्यो । उहाँले आफ्नो परम्परा अनुसार मिरा सेनसँग विवाह गर्नु भएको थियो । उहाँका छोरा विभु सेन र छोरी प्रथा सेन गरी दुई सन्तान हुनु हुन्छ । २०३० सालदेखि नै मशालको सङ्गठित कार्यकर्ता भएर राजनीतिमा सम्लग्न हुनुभएका सेन सांस्कृतिक कार्यक्रममा पनि कुशलतापूर्वक लाग्नु हुन्थ्योे । माओवादी पार्टी जनयुद्धमा जानुअघि हुने छलफलमा पार्र्टी छिट्टै जनयुद्धमा जानुपर्ने धारणा राख्ने सेन २०५४ सालमा पूर्णकालिन हुनु भएको थियो । अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) को जिल्ला नेतृत्व, नेवाः राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला नेतृत्व समेत सम्हाल्नु भएका सेनले पार्टी सङ्गठनमा इलाका सदस्य, जिल्ला समिति सदस्यको रुपमा जनयुद्धमा भूमिका निर्वाह गरिरहनु भएको थियो । थकान र विश्राम कहिल्यै नलिने सेन असाध्यै शाहसिक नेता हुनु हुन्थ्यो । पार्टी कामको सिलसिलामा साविक कटुञ्जे गाविस स्थित थर्पु भञ्ज्याङ भएको गस्तीमा आएको शाही सेनासँग जम्का भेट भयो र सेनाले उहाँलाई नियन्त्रणमा लियो । शाही सेनाले चरम यातना दिएर २०५९ साल भाद्र २९ गते रिमाल्डीमा लगी मुकुन्दसेनलाई गोली हानी हत्या गरेको थियो ।