धादिङ । धादिङको खनियाबास गाउँपालिका–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङफेदि स्थित किन्ताङखोलामा बनेको ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको बेली बृज आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएकाे छ ।
नेपाली सेनाको प्राविधिक सहयोगमा १ करोड १० लाख खर्च गरि निर्माण गरिएकाे उक्त बेली बृज धादिङका संघीय सांसद एवम् कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापती महारथी प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
खनियाबास गाउँ पालिका अध्यक्ष रणवहादुर तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पुर्वमन्त्री दिलमान पाख्रिन, संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज पुष्प विक्रम मल्ल, प्रदेश सांसद डम्बरबहादुर तामाङ, गोबिन्द लम्साल, रुविभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, गंगाजमुना गाउँपालिकाका भक्त बहादुर लामा, नेत्रावती डब्जोङ गाउँपालिकाका मेघनाथ रिजाल लगायतको आतिथ्यता रहेकाे थियो ।
नेपाल विद्युत प्राधिकरणको त्रिशुली थ्रि.ए .र थ्रि. बि.को स्वामित्वमा रहेको उक्त बेली बृज बेत्रावतीबाट ल्याएर हाल किन्ताङफेदीमा जडान गरिएको हो ।
यो पुलले उत्तरी धादिङको रुविभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेसीसँग जोड्नेछ । पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गर्दथ्यो । फाेटाे: नीर तामाङ