जनयुद्ध आफैमा एउटा गौरवशाली, ऐतिहासिक र महान प्रकृया थियो । शोषित, पिडीत र आम भुइँ मान्छेहरुको हक, अधिकार र आत्मसम्मानको लागि लड्दै जाँदा ती अपेक्षित लक्ष्यहरु कति हासिल गर्न सकिए एउटा पाटो होला तर आम जनतालाई आफ्ना हक अधिकारका लागि जागरुक र उद्धेलित बनाउने काम जनयुद्धले नै गरेको हो । जनयुद्धको जगमा प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता विषयहरुले गरिखाने वर्गको लागि खासै लाभ दिन नसकेपनि मेरो अधिकारको लागि म आफै नलडी, नबोली मैले अधिकार प्राप्त गर्न सक्दिन भन्ने मानसिकताको विकार भएको छ । जनयुद्धको प्रमुख उपलब्धी त्यो नै हो ।
केही सिमित व्यक्तिहरुको प्रयासमा सुरुभएको जनयुद्धको राप र ताप देशैभरि फैलदै जादा देशको अवस्था समाजको परिवेश र प्रसव वेदनामा छटपटिरहेको समयले असिम पीडाहरुबाट मुक्ति पाउन नजानिदो पाराले सारा विश्व तरङगित भइरहेको बेला म र म जस्ता निम्न मध्यम वर्गको प्रतिनित्वि गर्ने व्यक्तिहरुलाई जनयुद्धमा सामेल हुन धेरै सोचिरहनै परेन । हल्लैहल्लामा मात्र माओवादी कार्यकर्ताहरुका कथा र योद्धाहरुको गौरवगाथा सुनेको व्यक्तिलाई आफ्नै विद्यालयमा माओवादीको कुनै नेता आएर संगठित हुन अनुरोध गर्छ भने के खोज्छस् कानो आँखो हुने नै भयो । कक्षा आठमा पढ्दै गर्दा माओवादी विचारलाई नबुझे पनि संगठित लालायित हुने त्यो बेलाको म र आजको म मा धेरै फरक छ ।
माओवादीसँग सम्बन्धित कुनै पनि कागजात भेटिदा समेत राज्यसत्ताले आफ्नो सम्पुर्ण शक्ति लगाएर दमन गर्ने तत्कालिन अवस्थामा परिवारले उज्जवल भविष्यको अपेक्षा राख्दै इन्जिनियर बनाउन चामल र गुन्द्रुकको झोला बोकेर पठाएको छोरो बुर्जुवा शिक्षा एकातिर थन्काएर देश परिवर्तनका खातिर ग्रिनेट र बारुदको झोला बोकेर युद्धयात्रामा लामबद्ध हुने निर्णय गर्नु आफैमा महान कदम हो । माओवादी पार्टी शान्ति प्रकृयामा आएको दशकौ वितिसक्दा पनि मसँगै विद्यालय मुल ईकाई समितिमा समाहित भएका, मसँगै पुर्णकालिन भएका, मसँगै जनमुक्ति सेनामा लामबद्ध भएका अनेकौ योद्धाहरुलाई स्मरण गरिरहेको छु ।
युद्धको समाप्ती र शान्तिप्रकृयाको सुरुवात पछि हरियो पासपार्ट बोकेर खाडीमा मजदुरी गर्न हिडेको म दशकौ भैसक्यो फर्किन सकेको छैन । आफन्त र विरोधीहरुले समेत तैले बन्दुक बोकेर के पाइस् भनेर खिसिट्युरी गरिरहदा मनमा किन्चित दुख लाग्दैन । झन् गर्व छात्ती चौडा हुने गर्छ किनकि मैले बोकेका थ्रीनटथी, एसएलआर, एसएमजीहरु व्यक्तिगत रुपमा केही पाउन थिएन र अझैसम्म पनि केही पाउछु भन्ने लोभ छैन पनि । पश्चिमान्चल क्याम्पस पोखराको पुरुष छात्रावासको दुई तलामाथिबाट हाम फालेर आफुलाई बचाएको क्षण होस् या कास्कीको सैदिघट्ट मोहरियामा विहानकै झिसमिसेमा भेटिएको सिभिल डे«सका युनिफाइड कमान्डाको टोलीको निरन्तरको गोलीको बर्षाबीच पनि तीतेपातीको बुटोमा छेलिदै आफुले आफैलाई बचाउनु कम चुनौतीपुर्ण थिएन ।
मुक्ति या मुत्युको कसम खादै जुन दिनदेखि पुर्णकालिन भइयो थाहा थियो अब जीवन जटिल र चुनौतीपुर्ण पनि छ तर पुर्णकालिन हुने निर्णयसँगै हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्दै अघि बढ्ने दृढसंकल्प पनि थियो । जिल्लापार्टीले कार्यक्षेत्र भुगोलबाट फुलमाला र अविर लगाएर जनमुक्ति सेनामा पठाउदा छुट्टै किसिमको उर्जा थियो । जे थियो निस्वार्थ थियो । न केही पाउने आशा न केही गुमाउने डर । त्यसैले पनि होला आज पर्यन्तपनि त्यो समयलाई याद गर्दा गर्व लाग्ने गर्छ । जनमुक्ति सेना बनेर जनताको आँगन घर दैलोमा पुग्दै गर्दा युद्धकालका प्रत्येक क्षणहरु कुनै थ्रिलर चलचित्त भन्दा कम थिएनन र लाग्दैनन् पनि । माछापुच्छ«ेको फेदीमा तत्कालिन शाही सेनाको लखेटाईको चपेटामा परेर कैयौ दिनसम्म हिउँ पगालेर तिर्खा मेटाएको र लहरा चपाएर भोक मेटाएका क्षणहरु अझै पनि मानसपटलमा घुमिरहन्छ । अघिल्लो दिन बेलुका ११ बजेदेखि भोलिपल्ट दिउँसो १२ बजेसम्म म्याग्दीको सदरमुकाम बेनीको भीषण मोर्चाबद्ध युद्ध, सदरमुकामको आक्रमण सकिएपनि शाही सेनाको निरन्तरको जमिनि लखेटाई, काँघमा घाइते सहयोद्धाहरुको रक्तमछेल शरिर, हातमा शहिद भएका सहयोद्धाहरुले छोडेर गएको क्रान्तिको झन्डालाई झुक्न नदिने जिम्मेवारीले अझै पनि झकझकाई रहेको छ ।
कास्कीको भरतपोखरीमा एउटा घर तल माथि गरेर सुतेका सहयोद्धाहरुमा सोही दिन कास्कीको सदरमुकमा पोखराबाट समेत समातिएका झण्डै दुई दर्जन योद्धाहरु गिरफ्तार भएर बेपत्ता पारिएकाहरुमा क रविन्द्र, क राजु क्षेत्री, क सेवक, क विगुल, क विप्लव लगायतका साथीहरु ब्यारेक ब्रेक गरेर निस्कन सफल भएपनि म लगायतका साथीहरु दुश्मको उपस्थिति हुनु पहिले नै घेरा तोड्न सफल भएकै कारण आज नाफको जिन्दगी बाँचिरहेका छौ । सिँगो जनयुद्धले पैदा गरेको आयामहरुको वर्तमान समयमा प्राप्तका गरेको नाफाघाटा र त्यसलाई प्राप्त गर्न कैयौले गरिरहेको छिनाछपटीको मुकदर्शक भएर हेर्ने सौभाग्य पाइएको छ ।
यतिबेला कैयौ बेनी र कैयौ कृष्णभीर लडेका, आफ्नै सहयोद्धाको मृत शरीर काँधमा बोकेर हिडेका योद्धाहरुको अपेक्षा केवल धरातल बिर्सदै गएको माओवादी पार्टी फेरी पनि जनतासँग जोडियोस् भन्ने बाहेक कुनै ठुलो अपेक्षा गरेका छैनन । मैले र मजस्तै योद्धाहरुले जनयुद्धमा कति समय विताए, कस्तो भुमिका निभाएँ, आन्दोलनले दिएको जिम्मेवारी तत्कालिन समयमा इमान्दार ढँगले निभाउन सके या सकेनन् त्यो इतिहासले मुल्याँकन गर्ने कुरा हो । तर आफ्नो जीवनको स्वणिम समय युवावय देश र जनताको लागि होमेका, मुक्ति या मृत्युको कसम खाएर लडेका योद्धाहरुको मुक्तकण्ठले प्रसँशा गर्न सकिदैन भने पनि इतिहासलाई विद्रुपीकरण नगरिदेओस् भन्ने आशा मात्र हो । जनयुद्ध सुरु हुदैगर्दा र समापन हुदैगर्दा पनि आम योद्धा, शहीद र जनताले देखेको माओवादी पार्टी अहिले जहाँ छ त्यो कदापी होइन । जनयुद्धका प्राप्त उपलब्धीहरु निरन्तर क्षयीकरण हुने दिशामा छ तर हामी नजरअन्दाज गरिरहेका छौ । जनयुद्धको विरासत र माओवादी आन्दोलनलाई पुर्णरुपमा सिध्याउने हो भने अलग कुरा नत्र वर्तमान समयमा हामी जुन अभ्यास गरिरहेका छौ शहिद, शहिद परिवार, घाइते, अपाङ र आम जनता कार्यकर्ताहरुको भावनाको प्रतिनिधित्व गर्दैन । नाफाको जिन्दगीलाई यसै पनि व्यक्ति मुनाफा आवश्यक छैन त्यसैले बाँकी जिन्दगी जनताको हितमा लगाऔ २९ औ जनयुद्ध दिवसको अवसरमा सम्पुर्णमा शुभकामना । (लेखक: प्रेस सेन्टर केन्द्रिय सदस्य तथा प्रवास प्रदेश संयोजक हुन् ।)