धादिङकी सम्झना कुमाल राष्ट्रिय टिममा छनोट, १९ औँ एसियन ह्यान्डबल खेल्ने

Avatar photo
Dhadingpost
आइतवार, भदौ ३, २०८०

धादिङ । १९ औँ एसियन ह्यान्डबल प्रतियोगितामा नेपालले भाग लिने भए सँगै धादिङ सल्यानटार निवासी सम्झना कुमाल पनि राष्ट्रिय टिममा परेकी छिन् । नेपाल आर्मीमा कार्यरत धादिङकी सम्झनाले नवौं राष्ट्रिय खेलकुद अन्तरगत मा आर्मीबाट खेलेकी थिईन उक्त प्रतियोगितामा एपीएफलाई हराउँदै आर्मी च्याम्पियन भएको थियो ।

आउँदो सेप्टेम्बर २३ देखि अक्टुवर ८ तारिकसम्म चाइनाको हान्झाउमा हुने १९ औँ एसियन गेम्समा नेपालको महिला ह्यान्डबल पहिलो पटक सहभागी हुने भएकोले उत्कृष्ट प्रदर्शन गर्न आफूहरूको मेहनत जारी रहेको उहाँको भनाई छ । नेपाली ह्यान्डबलको टिमले आउँदो सेप्टेम्बर २४ मा चाइनासँग सेप्टेम्बर २७ मा जापानसँग सेप्टेम्बर २९ मा हङकङ र सेप्टेम्बर ३० तारिखमा भने भारतसँग एउटा समूहबाट खेल खेल्ने तालिका समेत सार्वजनिक भई सकेको छ ।

नेपाली महिला ह्यान्डबलको टिम
कप्तानमा वन्दना राई, उपकप्तानमा उमा राई, आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नेत, देवी श्रेष्ठ, ममता राना, अदिति चौधरी, सङ्गीता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल र हेलिना राना

कस्तो खेल हो कहिले देखि सुरु भयो ?
‘ह्यान्डबल’ समूहमा खेलिने एक विशेष खेल हो । यो ७/७ जनाको दुईवटा समूहको बीचमा प्रतिस्पर्धा हुनेगरी खेलिन्छ । दुईटै समूहको उद्देश्य विरोधी समूहको गोलपोस्टमा बल फाल्नु हुन्छ । सात जनामध्ये ६/६ जना मैदानमा खेलिरहेका हुन्छन् भने एक÷एक जना गोलरक्षक बनेर गोलपोस्टमा बसेका हुन्छन् । यो खेलको समयावधि ३० मिनेटको हुन्छ । यो खेल स्टेडियममा इन्डोर र आउटडोर दुवै ठाउँमा खेलिन्छ । निकै तीव्र गतिमा खेलिने हुनाले खेलाडीहरूको शरीर एकआपसमा ठोक्किने सम्भावना निकै रहन्छ । त्यसैले खेलाडीले सतर्क भएर खेल्नुपर्छ ।

ह्यान्डबलको उत्पत्ति १९औं शताब्दीमा भएको मानिन्छ । फ्रान्स, ग्रिनल्यान्ड, डेनमार्क, जर्मनी, चेक गणराज्य, स्लोभाकिया र युक्रेनमा यो खेलको अस्तित्व देखिएको हो । सुरुमा रोमानी महिलाले यो खेल खेल्ने गरेको प्रमाणहरू पाइएको बताइन्छ । सन् १९४६ मा ‘अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ’ को गठन पनि भयो । ‘ह्यान्डबल’ नेपालमा फुटबल र क्रिकेटपछि तेस्रो लोकप्रिय खेल बन्दै गइरहेको छ । नेपालमा २०३८ सालमा नेपाल ह्यान्डबल संघ (एनएचए) स्थापना भएको भएको हो ।