रास्वपा धादिङका क्षेत्रिय सभापति उत्तम अधिकारी एमाले मै फर्किए

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ४, २०८१

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङका क्षेत्रिय सभापति उत्तम अधिकारी पुनः एमाले मै फर्किएका छन् । धादिङबेसीमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक कार्यशालामा कार्यक्रममा उनी पुनः एमाले मै फर्किएका हुन् ।

डिजिटल भोटिङ मार्फत २०८० जेष्ठमा ४५ मत ल्याउँदै रास्वपा धादिङको निर्वाचन क्षेत्र नम्बर २ का सभापति बनेका अधिकारी, नेत्रावती डबजाेङ गाउँ पालिका समिति सभापति शुकबहादुर गुरुङ, सदस्यहरु सुजन मम्वा, कृष्ण लामा, शुकराम तामाङ, विशाल पाख्रिनलाई नेकपा एमाले केन्द्रीय अनुशासन आयोग अध्यक्ष केशव बडालले खादा लगाएर एमाले प्रवेश गराएका थिए ।

२०८० को स्थानीय तहको निर्वाचनमा एमालेले पालिका प्रमुखको उम्मेदवार नबनाएपछि रुष्ट बनेका अधिकारी स्वतन्त्रबाट पालिका प्रमुखका लागि भुईकटहर चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । उक्त निर्वाचनमा २५४२ मत ल्याउँदै कांग्रेसका मेघनाथ रिजाल विजयी हुँदा अधिकारीले जम्मा ७१४ मत ल्याएका थिए । पार्टीको निर्देशन विपरित उम्मेदवारी दिएको आरोप खेपिरहेका अधिकारी २०८० जेष्ठबाट रास्वपा यात्रा तय गरेका थिए ।