
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। महाधिवेशनमा धादिङबाट सहमहामन्त्री पदमा ३ जनासहित १२ जनाले उम्मेदवारी दिएका छन् ।
मतदान बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ। महाधिवेशनमा धादिङबाट सहभागी ८५ सहित देशभरबाट आएका ७ हजार २२५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानमा धादिङबाट ३ जना सहमहामन्त्री र ९ जना केन्द्रीय सदस्य पदका उम्मेदवार रहेका छन् ।
सहमहामन्त्री पदमा धादिङबाट दिलमान पाख्रिन, रमेश धमला र बाबुकृष्ण सापकोटा उम्मेदवार छन् । सापकोटाले सहमहामन्त्री अपाङ्गता तर्फ उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, केन्द्रीय सदस्य पदमा भीमप्रसाद ढुङ्गाना, उर्मिला थपलिया, रमेश विश्वकर्मा, रिता थापामगर, कृष्ण रिजाल, राधाकृष्ण भण्डारी, कविता इटनी, उर्मिला कँडेल र मधुकुमार श्रेष्ठ उम्मेदवार रहेका छन् ।
यसरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङबाट सहमहामन्त्री र केन्द्रीय सदस्य गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । मतदानपछि हुने मतगणनाबाट उम्मेदवारहरूको परिणाम सार्वजनिक हुनेछ ।
