
धादिङ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन तथा रजत जयन्तीका अवसरमा धादिङका भरत बराकोटी केन्द्रीय सचिव पदमा उम्मेदवार बनेका छन् ।
महोत्तरीको बर्दीबासमा असोज २२, २३ र २४ गते आयोजना भइरहेको महाधिवेशनमा बराकोटीले बागमती प्रदेश भूगोलतर्फबाट केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएका हुन् । लोक तथा दोहोरीगीत क्षेत्रमा लामो समयदेखि सक्रिय बराकोटीलाई धादिङको सांगीतिक क्षेत्रबाट केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा हेरिएको छ ।
बराकोटी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान धादिङको कार्यसमितिमा रहेर समेत काम गरिसकेका छन् । प्रतिष्ठानको अघिल्लो प्रदेश अधिवेशनमा उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । त्यसपछि उनी प्रतिष्ठानको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन् ।
लोक तथा दोहोरीगीत क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय बराकोटी प्रतिष्ठानका विभिन्न गतिविधि तथा सांगीतिक क्षेत्रमा निरन्तर आबद्ध रहँदै आएका छन् । धादिङमा मात्रै नभई देशभर लोक तथा दोहोरीगीत क्षेत्रमा उनको परिचय रहेको बताइएको छ ।
यसपटकको महाधिवेशनमा बराकोटीले बागमती प्रदेश भूगोलतर्फबाट केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएसँगै उनको उम्मेदवारीलाई धादिङको लोक तथा दोहोरी क्षेत्रले चासोका साथ हेरेको छ ।
धादिङकी मनमाया वाइबा पनि उम्मेदवार
यसै महाधिवेशनमा धादिङ निवासी लोकगायिका मनमाया वाइबा पनि सहसचिव पदमा उम्मेदवार बनेकी छन् । वाइबाले पनि प्रतिष्ठानको केन्द्रीय नेतृत्वमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन तथा रजत जयन्तीमा धादिङबाट ३९ जनासहित देशभरबाट करिब १ हजार ५०० प्रतिनिधि सहभागी रहेको बताइएको छ ।
महाधिवेशनले प्रतिष्ठानको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै लोक तथा दोहोरीगीत क्षेत्रको आगामी कार्यदिशाका विषयमा समेत छलफल गर्नेछ ।
