धादिङमा मुकुन्दसेन मार्गमा थप कालोपत्रेको तयारी, २० करोड बजेट जुटाइँदै

Avatar photo
Dhadingpost
अशोज २२, २०८३

धादिङ । धादिङबेसी–सुनौलाबजार–फोस्रेटार सडकखण्डअन्तर्गतको मुकुन्दसेन मार्गमा थप करिब ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी अघि बढाइएको छ । सडक विस्तारका लागि बहुवर्षीय योजना स्वीकृत गराई आवश्यक बजेट सुनिश्चित गर्ने उद्देश्यले स्थलगत निरीक्षण, प्राविधिक अध्ययन तथा लागत अनुमान (स्टिमेट) तयार गर्ने काम सुरु गरिएको हो ।

हाल कालोपत्रे सम्पन्न भएको बिन्दुबाट थप १ किलोमिटर २४० मिटर सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयले गत वर्ष नै ३ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । उक्त काम चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने जनाइएको छ ।

सो खण्डको काम सम्पन्न भएसँगै सडकलाई थप विस्तार गर्दै लैजाने उद्देश्यले प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनामा समेटिएको मुकुन्दसेन लोकमार्गका लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तर उक्त बजेटलाई बहुवर्षीय योजनामार्फत विस्तार गरी २० करोड रुपैयाँसम्म पुर्‍याएर थप करिब ७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए । उसडकको प्राविधिक नापजाँच र लागत अनुमान तयार गर्ने कामसमेत सुरु भएको छ, उनले भने ।

बहुवर्षीय योजनाका लागि आवश्यक प्रक्रिया पूरा भएपछि सडक निर्माणले थप गति लिने अपेक्षा गरिएको छ। पूर्वाधार विकास कार्यालय धादिङका सूचना अधिकारी मिनबहादुर खड्काका अनुसार कार्यालयले तयार गर्ने प्राविधिक स्टिमेटका आधारमा बहुवर्षीय स्वीकृतिका लागि भौतिक पूर्वाधार मन्त्रालयमार्फत आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रस्ताव पेश गरिनेछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयबाट निर्णय भएपछि टेण्डर प्रक्रियामा जाने बाटो खुल्ने खड्काले जानकारी जानकारी दिए ।

यसैक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा, वडा नं. ६ का अध्यक्ष भूपेन्द्रकुमार श्रेष्ठ, कार्यपालिका सदस्य लक्ष्मण रम्तेल, पूर्वाधारसँग सम्बन्धित इन्जिनियर तथा स्थानीय समाजसेवीहरूको सहभागितामा सडकखण्डको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा सडकको अवस्था, आवश्यक सुधार तथा निर्माणका लागि आवश्यक प्राविधिक पक्षको अध्ययन गरिएको हो ।

मुकुन्दसेन मार्ग धादिङबेसी–सुनौलाबजार–फोस्रेटार हुँदै गल्छीबाट काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्गका रूपमा समेत महत्वपूर्ण मानिन्छ । सडकको थप स्तरोन्नति र कालोपत्रे विस्तार भएपछि यस क्षेत्रका स्थानीयवासीसँगै धादिङबेसीबाट गल्छी हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ।

जनयुद्धका सहिद मुकुन्द सेनको नामबाट यो सडकको नामाकरण गरिएको हो । जनयुद्धको क्रममा वि. स. २०५९ साल भाद्र २९ गते थोप्पलको छेउ रिमाल्डीमा भन्ने ठाउँमा नेपाली सेनाद्वारा हत्या गरिएको मकुन्द सेनको स्मृतिमा गजुरी गाउँपालिका स्थित आदमटारमा वाचनालय स्थापना र सुनौलाबजारमा खानेपानीका लागि कुवा निमार्ण गरिएको छ ।