पत्रपत्रिका, अनलाईन र टेलिभिजनका पर्दाहरुमा बग्रेल्ती भेटिन्छन् कि शिक्षा बिग्रनुको पहिलो दोष शिक्षक कै हो । नेपालको शिक्षाका धमिरा भने कै शिक्षकहरु नै हुन् । शिक्षक सुध्रिए नेपालको शिक्षामा कायापलट हुन्छ । शिक्षक कै कारण विद्यार्थीले आत्महत्या गरे । शिक्षक, शिक्षक र शिक्षक नै सम्पूर्ण शिक्षाको विकृतिको मूल जड हो ।
होला, जान अञ्जान यी र यस्ता कर्तव्य र भवितव्यका दोषमा शिक्षकहरुको मात्रा अवश्य छ । यो सत्य छिपाउन मिल्दैन तर दोषी बन्न जान अञ्जान विवश गर्नेहरुको भूमिका प्रति किन प्रश्नहरु अनुत्तरित छन् ? यसको जवाफ कसै सँग छैन ।
सबै शिक्षा सँग सम्बन्धित अखबारका लेख, समाचार र बकम्फुसे पाण्डित्य सुनेर पढेर बान्ता आउँञ्जेल सहेर बसेको र अनेक लाक्षनाको भागिदार एक पात्र म आफू पनि हुँ । जसको पेशालाई स्वःनाम धन्य शिक्षा विद्हरुले नेपालको शिक्षामा अपराधी करार गरेको छ । सयौं आरोपहरु खेपेर पनि कक्षा कोठामा दिमाग र हाड घोटि रहेको छ । आफू सकियूञ्जेल बलिरहेको छ ।
आज सरकारी शिक्षकको बर्दी फुकालेको छु र देखेको नग्नताको सत्य ओकलि रहेको छु ।
बढुवामा बिचौलियाको खेल
सरकारी नियुक्ति लिएको २९ वर्ष २६ दिनका स्वेच्छाले अवकाश लिएको छु । प्रारम्भमा २०५० सालमा प्राथमिक तृतीय श्रेणीमा नाम निकालेर सेवा प्रारम्भ भएको थियो । निम्न माध्यमिक तृतीय श्रेणीमा नियुक्ति लिएपछि कुनै परीक्षा दिइएन । लगातार बढुवा नामको औपचारिक कर्मकाण्ड चलिरह्यो । योग्यताको जेष्ठताको अङ्क पनि सायद थप्ने स्थान थिएन होला । योग्यताको अङ्क पनि आयोगलाई दिने स्थान काफी थियो किनकि स्नातक कलाशास्त्र र शिक्षा शास्त्र दुबैमा छ । स्नतकोत्तर र विद्या वारिधि सम्म भएपछि त्यहाँ भन्दा माथि खोज्ने औकात नै नहुन सक्छ । नर्सरीदेखि विद्या वारिधि तह सम्म निर्देशन र कक्षा कार्य चलाइ रहेको छु । विद्यालय र विश्व विद्यालय तह सम्मका भाषिक साहित्यिक र पेशागत प्रशिक्षण दिइरहेको छु । अनुसन्धान र कार्यपत्रहरु भ्याए सम्म तयार गरेकै छु । पाठ्यपुस्तक लेखन पनि विद्यालय तह देखि विश्व विद्यालय तह सम्म कै छ । जुन कक्षामा विद्यार्थीको अगाडि छु प्रेम, स्नेह र सद्भावले छुर्लुप्प छु । आज गएको कक्षामा भोलि मेरो खोजी तीब्र बनाएरै आएको हुन्छु । विद्यार्थीबाट पाएको सद्भाव, प्रेम र खोजी भन्दा ज्यादा मूल्याङ्कनको अर्को अङ्क हुँदैन जस्तो लाग्छ तर म सरकारको गणित र मूल्याङ्कनमा कहिल्यै पर्न सकिन ।
मेरो स्तरोन्नति भएन । म पर्नु प¥र्थो होइन । मजस्ता धेरै शिक्षकहरु छन् जो पर्न आवश्यक छ र भोलि पनि रहिरहनेछ र मैले २९ वर्ष भन्दा ज्यादा सेवा गरेर बढुवा नभइकन अवकाश लिएको छु तर आफूमा गुनासो केही छैन ।
कस्ता शिक्षकहरुको स्तरोन्नति भैरहेका छन् ?
यस्तो लाग्छ शिक्षकको स्तरोन्नतिको प्रकृया जो भूइँबाट भैरहेको हुन्छ प्रकृया सम्पादन शैक्षिक माफिया र बिचौलिया केन्द्रित छ । पाठकहरुलाई लाग्ला कि आफू नपर्नुको घृणा लेखकले ओकलिरहेका छन् । अनुभूति आफ्नै भएकाले दृष्टान्तहरु कपोल कल्पित हुँदैनन् । प्रतिवर्ष कार्य सम्पादन मूल्याङ्क गइरहनु र हर वर्ष सम्भावित सूचीमा प्रतिक्षाक्रम निकट देखिंदै आस्ताउँदै भइरहनु सायद भ्रम होइन । कसले लालीपप देखाउँदै लुकाउँदै गर्छ ? धेरै साथीहरु भ्रमको गुलियो चाखेर बसेर निराश अवकाश लिइरहेका छन् । प्रतिवर्ष नै प्रतिक्षा सूचीमा चढ्दै टाढिंदै गराउने क्रम भनेको लालीपप देखाउँदै र रकम असुल्दै गर्ने नियति रहेछ । २०५० साल देखिका मूल्याङ्कनका हर अंकहरुलाई बेकुफ बनाउँदै २०६३ साल पछिकाहरुले अवसर प्राप्त गर्ने निर्लज्ज
परिणामले शिक्षकहरुको पेशागत धर्मका अमिलो अनुभव ओकल्दैन र ?
बढुवा हुनु भनेको केही बिचौलिया शिक्षकहरु मार्फत गुलियो सङ्कल गरेर लिष्टमा नाम चढाउनु पो रहेछ ।
हामी देख्छौं कि शिक्षा कार्यालय र तिनीहरुसँग टाँसिएर शैक्षिकमा फियागिरी गरिरहेका कथित शिक्षासेवी तथा अधिकारकर्मीसँग भट्टी बैठकमा रमझम गर्नेहरु, शिक्षा अधिकारी र पालिका शिक्षा कार्यालयका भान्सामा मिठो मसिनु पु¥याउने योग्यता भएका कर्म चोरहरु, प्रधानाध्यापकका टेवल परिक्रमा गर्नसक्ने र तिनका तलुवा पुछ्नसक्ने योग्यता भएकाहरुको स्तरोन्नति नभएसम्म आम शिक्षकहरुको भागमा बढुवा हुने भाग्य लेखिएको हुन्न जसको ज्वलन्त नमुना र भुक्त भोगी आफैं पनि छु । यस्ता निरिह बनाइएका शिक्षकले दोषको भागेदार बन्न विवश छन् र कथित शिक्षाविद्हरुले गर्ने सौदावाजी र विश्लेषमा यो पर्दा पछाडि नै छ किनकि तिनका विश्लेषण सरकारी सतही आनुसन्धानको भरमा आएको छ । तिनका विश्लेषण कति सतही र हचुवा छन् भने शिक्षकका पेशागत उल्झन, समस्या व्यथा र दर्दहरुलाई नजर अन्दाज गरेर ओकलिएका विष जस्ता छन् । विश्लेषण पढ्दा मन भारी भएर आउँछ र सम्झन्छु वर्षभर लिन सुविधाको रुपमा दिएका २४ दिन पनि खर्च नगरि गरिएका मेहनत पसिना र आँशुको अवमूल्यान भैरहेको छ । निकै चित्त काटिएर आउँछ र लाग्छ शिक्षा विचौलियाहरु नै शिक्षाविद्को रुपमा शिक्षा महा सामान्तमा परिभाषित भैरहेका त छैनन् ? जसले निरीह मजदुरको आँसु, रगत र पसिनाको सुगन्ध कहिल्यै देख्दैन र देख्छ त सरकारी गैर सकारी हरिया र दुधालु घाँसका मुठाहरुमात्र ।
तालिमको बोक्राभित्र तेल मालिस !
तालिम व्यक्तिको सीप क्षमतालाई निखार्न, खार्न शुध्याउन, उध्याउन र उज्यालो बनाउनका लागि प्रयोग गरिन्छ – सायद । कक्षा कोठामा बलिरहेका शिक्षकहरुका लागि तेल थप्न र अझ बल्न प्रोत्साहित गर्ने साधन हो प्रशिक्षण । हामी दण्ड र प्रोत्साहन बराबर भोगेर र भोगाएर आएका पुस्ता हौं । बिस्तारै दण्ड रहीत र विद्यार्थी मैत्री वातावरणमा शिक्षा सामुदायिक अधिकारमा हुनुपर्छ भन्ने आवाज सरकारले बोल्नु भन्दा पहिले कार्यान्वयन गरेर देखाइ दिएका थियौं । दण्ड भोदै भोगाउँदै र बिगत गलत थियो भन्ने महशुस गर्दै आएकाले नै हामीमा अनुभवको गहिराइ छ । यद्यपि म र म जस्ता धेरै सँग अनुभवको प्रमाणपत्र यथेष्ट छ तर सरकारी निकायको तालिमको प्रमाणपत्र शून्य ।
नेपालको शिक्षक तालिम औपचारिकता भन्दा ज्यादा केही रहेन । आम शिक्षकहलाई साझा वितरणमुखी बनाइएका बाहेक कुनै वजनदार तालिमको अवसर प्रधानाध्यापकका चाटुकार किंवा शिक्षा कार्यालयका भरियाहरु बाहेक कसैले थाहा पाउँदैनन् । (२९ वर्ष २६ दिनको शिक्षकले १ दिनको सरकारी तालिम लिएको रेकर्ड छैन) तर छ भने उच्च शिक्षाका लागि भएका अनुसन्धान र प्रशिक्षणहरु छन् । निजीक्षेत्रबाट प्रदान गरिएका प्रशिक्षणहरुमा सहभागिता जनाएका प्रशिक्षक अनुभूतिहरु छन् आफैंले आयोजना गरेका भाषा, कला, साहित्य, शिक्षणका चाँग अनुभवहरु छन् । मात्र छैनन् विद्यालयका औपचारिक पत्रका साथ भुत्ते तालिममा उँगेर बिताइएका क्षणहरु जसका लागि आवश्यक योग्यता चाहिथ्यो प्रधानाध्यापकका साँझहरु रङ्गीन बनाउने कला वा शिक्षा अधिकारीहरुका साथमा बाक्ला र अदृष्य भेटघाटका स्मरणहरु ।
हो यी र यस्तै योग्यता भएकाहरुको हालिमुहाली छ हाम्रो शिक्षा प्रशासनमा । शिक्षाको ठेकेदारी यिनीहरुकै हातमा छ । भत्ता र सत्तालाई कमिशनमा बेच्ने दलालीकरणमा शिक्षा प्रशासन चलेको देखी देखी दोषको भागिदार निरीह शिक्षक माथि मात्रै थोपरिएको छ ।
दोष शिक्षकहरुको पनि छ । संघ संगठनको नेतृत्व तोलामा बिक्रीभएको देखेर पनि सलाम गर्ने शिक्षकका हातहरु दोषपूर्ण छन् । गलत मूल्याङ्कन प्रणालीले डसिरहँदा पनि मौन बस्ने शिक्षकका आवाजहरु खोटी छन् । अंशतः शिक्षकहरु जो नियमित उपस्थितिलाई बोझ सम्झन्छन् तिनका समझ खोटी छन् । कक्षा क्रियाकलापले खोजिरहेको प्रविधिमैत्री परिवेश सिर्जना गर्न नसक्नु शिक्षकहरुको प्रविधिको अल्पज्ञता दोषी छ । शिक्षा निरन्तरको अध्ययनशीलता हो र ज्ञानको दीव्य चहकमा हरक्षण आलोकित भैरहनु र निरन्तरको अध्ययन शीलतामा लागि रहने गुण शिक्षा पेशाले खोजि रहन्छ । त्यस क्षमता आफूमा आर्जन गर्न नसक्ने केही शिक्षकहरुको जुम्स्यइँ र अल्छ्याइँको परिभाषाभित्रआमशिक्षकहरुलाई हालिएको छ हो त्यो जुम्स्याइँ र अल्यछ्याइँ शिक्षाका लागि भयङ्कर दोषी हो ।
सबैभन्दा दोषी त यी सब दोषीहरुको दोष देखेर पनि नदेखे जस्तो गर्ने शिक्षा प्रशासन र शिक्षा विज्ञहरुको नजर दोषी हो जसले तिनलाई नै पुरस्कार र प्रोत्साहन गरिरहेका छन् । हजारमा भएका एक दुई दोषीहरुको भए भरको खोट परिश्रमी र निष्ठावान् स्वाभिमानी शिक्षकहरुले पनि बोक्नु परिरहेछ । यस्ता दृष्टि दोषहरु दोषी हुन् । आम शिक्षकहरु दोषका भेगेदार होइनन् ।
धन्य मेरो समय !
अक्षर आवास धादिङ
nabindahal1000@gmail.com