नीलकण्ठको दुई गोल सँगै गोरखा नगरपालिका पराजित

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २५, २०८१

धादिङ । नीलकण्ठ नगरपालिका स्थापना दिवसको अवसरमा आज धादिङबेसी स्थित खुल्लामञ्चमा सम्पन्न जनप्रतिनिधि/कर्मचारीको फुटबल प्रतियोगिता गोरखा नगरपालिकालाई पराजित गर्दै नीलकण्ठ नगरपालिकाले जितेको छ । प्रतियोगितामा दुबै पालिकाका प्रमुख फुटबल खेलेका थिए ।

नीलकण्ठको जितका लागि विवेक खतिवडाले २ गोल गरेका थिए भने गोरखा नगरपालिकाको तर्फबाट रेन मगरले १ गोल गरेका थिए । नीलकण्ठका विवेक कर्मचारी हुन् भने गोरखा नगरपालिकाबाट खेलेका रेन वडा नम्बर ११ का कार्यवहाक वडाध्यक्ष हुन् ।

नीलकण्ठ नगरपालिकाले १० औं स्थापना दिवसको अवसरसरमा फुटबल सँगै जनप्रतिनिधिरकर्मचारी सहभागी ब्याडमिण्टन र म्यूजिकल चियर प्रतियोगिता सम्पन्न गरेको छ । विजेता खेलाडीहरुलाई भोली अर्थात बैशाख २६ गते १० बजे सिटीहलमा हुने विशेष समारोहका बीच पुरस्कार वितरण गरिने नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले धादिङपोष्टलाई बताए ।

नेपाल सरकार (मन्त्रिपरिषद) को २०७१ साल बैशाख २६ गते नीलकण्ठ नगरपालिका घोषणा गरेको थियो । यहि दिनलाई स्थापना दिवस मनाउने घोषण गर्दै नीलकण्ठ नगरपालिकाले खेलकुद कार्यक्रम राखेको हो ।

यस अघि गत फागुनमा नीलकण्ठ नगरपालिकाले धादिङ जिल्लाका स्थानीय तह स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगिता नीलकण्ठ नगरपालिका आफैले जितेको थियो । प्रथम भए सँगै नीलकण्ठले नगद १ लाख जितेको थियो भने, उप विजेता बनेको बेनीघाटले ५० हजार र गंगाजमुनालाई पेनाल्टीमा पराजित गर्दै तृतिय बनेको खनियाबासले नगद २५ हजार पुरस्कार सहित शिल्ड मेडल प्राप्त गरेका थिए ।