पाठ्यक्रम विकास केन्द्रको विज्ञ सूचीमा धादिङका १२ शिक्षक

Avatar photo
Dhadingpost
अशोज १७, २०८३

धादिङ । पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको विषयगत विज्ञहरूको सूची (Roster) मा धादिङका १२ जना शिक्षक तथा विज्ञ छनोट भएका छन् ।

केन्द्रले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार धादिङका शिक्षकहरू नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र अङ्ग्रेजी विषयका विज्ञका रूपमा सूचीकृत भएका हुन् । उनीहरू पाठ्यक्रम तथा पाठ्यसामग्री निर्माणलगायतका विषयगत कार्यमा विज्ञका रूपमा सहभागी हुनेछन् ।

विज्ञ सूचीमा सल्यानकोट माध्यमिक विद्यालयका ओमबहादुर श्रेष्ठ नेपाली विषय तथा अनु श्रेष्ठ गणित विषयका लागि छनोट भएका छन् । त्यस्तै नवराज पाठक र त्रिपुरासुन्दरी माध्यमिक विद्यालयका सहदेव गजुरेल गणित विषयका विज्ञमा परेका छन् ।

आदर्श माध्यमिक विद्यालयका सुजन भण्डारी र महेन्द्र बाराही माध्यमिक विद्यालयका सन्तोष दुवाडी पनि गणित विषयका लागि छनोट भएका छन् । महेन्द्र बाराही माध्यमिक विद्यालयकै ध्रुवराज घिमिरे अङ्ग्रेजी विषयका विज्ञका रूपमा सूचीकृत भएका छन् ।

त्यसैगरी ज्वालामुखी आधारभूत विद्यालयका अनिल रुपाखेती विज्ञान तथा प्रविधि विषयका लागि छनोट भएका छन् । महादेवस्थान माध्यमिक विद्यालयका केशवप्रसाद रुपाखेती र दीपक भट्ट सामाजिक अध्ययन विषयका विज्ञमा परेका छन् ।

समिभञ्याङ माध्यमिक विद्यालयका नवराज सापकोटा सामाजिक अध्ययन तथा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका दिपेन्द्र रिजाल अङ्ग्रेजी विषयका विज्ञका रूपमा छनोट भएका छन् ।

यसरी पाठ्यक्रम विकास केन्द्रको विषयगत विज्ञ सूचीमा धादिङका विभिन्न विद्यालयमा कार्यरत १२ जना शिक्षक समेटिएका छन् । राष्ट्रियस्तरमा पाठ्यक्रम तथा शैक्षिक सामग्री निर्माणसँग सम्बन्धित काममा जिल्लाका शिक्षकहरू सहभागी हुने अवसर पाएका हुन् ।