नेपाली लोकगीत लोकसाहित्यको निकै पुरानो र लोकप्रिय विधा हो । साँच्चै भनुँ भने यो लोकजीवनको हरेक क्षणमा उपस्थित भइरहेको हुन्छ । जन्मनासाथै शिशुलाई झोलुङ्गोमा झुलाउँदादेखि नै मान्छेको साइनो लोकगीतसँग सुरु हुन्छ ।
‘‘हो हो नानी हो हो…
आइज चरी काटूँ कान्
जा चरी गोसाइँथान्…।’’
यसरी लोरी नगाए नानीहरू सुत्दैनन् । सङ्गीतसँगको आकर्षणले गर्दा बालकहरू गीत सुन्न र नक्कल गरेर गाउन हुरुक्क हुन्छन् । थोरै उमेर बढ्दा गीतको प्रकार र स्तर पनि फेरिन्छ । जब आफैँ खेल्न सक्ने हुन्छन् …
‘‘चीँ मुसी चीँ, घरघर मुसा तामा टुसा…’’ भन्दै खेल्न थाल्छन् ।
‘‘ताराबाजी लै लै, मामा आए घोडा,
माइजू आइन् डोली, पापा ल्याइन् सोली…’’ भन्दै थपडी बजाउँछन् ।
अलिकति हुर्केर गोठालो जान सक्ने भएपछि आफूलाई निकै जान्नेसुन्ने र ठुलो भइसकेको भान दिलाउँछन्, मनोरञ्जनसँगै बहादुरी र कार्यकुशलता गीतको अंश बन्न पुग्छ ।
‘‘गोठे लौरी गोठ जा, नुन लिन भोट जा
नुन लग्यो पहिरोले, छेक्न जा लौरोले…’’
भन्दै चोरीऔँलामा लौरो अड्याउने होडबाजी गर्न थाल्छन् । अझै हुर्कंदै यौवनमा पुग्ने बेला मायाप्रीतिका गीत गाउन र रोदीघर धाउन थाल्छन् ।
‘‘बोल न मायालु, बोल्दैमा ज्यान् जाँदैन, कालोमैलो सर्दैन !
कालो सरे पनि तीनेधारेमा पानी छ, धोए निस्सै जानी छ !’’
यसरी दोहोरी गाउँदा गाउँदै कति बेला उमेर ढल्किन्छ अनि मान्छे स्वतः ईश्वरको भजन–कीर्तनतिर आकर्षित हुन्छ । भजन, चुड्का, बालन गाउँदै र सुन्दै हिँड्छन् ।
‘‘जाम्ला वैकुण्ठ… जाम्ला वैकुण्ठ… नाच्दै गाउँदै रमाउँदै
जाम्ला वैकुण्ठ…’’
भन्दै मृत्युलाई सहजै स्विकार्छन् र पुनर्जन्मको विश्वास लिँदै फेरि झोलुङ्गोमा लोरी सुन्ने प्रतीक्षा गर्न थाल्छन् । यसरी नेपाली लोकमानसमा लोकगीतले मृत्युपछि पनि छोड्दैन । लोकको जीवनचक्र लोकगीतकै सेरोफेरोमा घुमिरहेको हुन्छ ।
जन्मदेखि मृत्युसम्मका संस्कारहरू, वसन्तदेखि शिशिरसम्मका ऋतुहरू, वैशाखदेखि चैतसम्मका महिनाहरू, तिजदेखि तिहारसम्मका पर्वहरू, रोपाइँदेखि दाइँसम्मका कृषिकर्महरू, बालकदेखि वृद्धसम्मका उमेरहरू, हिमालदेखि तराईसम्मका भूभागहरू लोकगीतले रङ्गिएका छन्, लोकगीतमय छन् । यिनीहरूकै भीडमा शताब्दीयौँदेखि चल्दै आएको छ असारे–गीत; जसलाई वर्षेगीत भने पनि हुन्छ, कर्मगीत भने पनि हुन्छ, श्रमगीत भने पनि हुन्छ, रोपाइँगीत भने पनि हुन्छ, घाँसे, काँठे भनेर चिने पनि हुन्छ ! यस लेखमा त्यही असारे–गीतबारेमा केही चर्चा रहने छ ।
असारे गीत अर्थात् असारमा गाइने गीत
झम झम पानी प-यो असारको रात,
पारिबाट बज्न थाले मकैका पात… (राष्ट्रकवि माधवप्रसाद घिमिरे)
साँच्चै असार लाग्नेबित्तिकै सिङ्गै धर्ती रसिलो र हराभरा हुन्छ । असारमा धर्ती मात्रै होइन, मान्छेको मन पनि उस्तै रसमय हुन्छ । त्यसमा पनि नेपाल जस्तो कृषिप्रधान देशमा यसको महिमा झन् धेरै छ । ‘मानो रोपेर मुरी उब्जाउने’ असारको आधारातमै सही जब वर्षात्ले आवाज दिन्छ, किसान आआफ्ना औजारसहित नाच्दै गाउँदै हल्ला गर्दै खेततिर झरिहाल्छन् । किनकि खेत जसरी पनि रोप्नु छ, भेल छोप्नु छ ! बिहान हुँदासम्म त भिराला गह्राबाट पानी ओर्लेर कहाँ पुग्छ,
पुग्छ ? आकाश ताकेर खेती गर्नुपर्ने, त्यो पनि मूल खेती ! तैपनि नेपाली किसान कत्ति चित्त दुखाउँदैनन् दिनरात नभनेर, झरी–बादल नभनेर खटिरहन्छन्, खटिरहन सक्छन् किन थाहा छ ? किनकि उनीहरूसँग मन भुलाउने, शरीर चङ्गा बनाउने असारे–गीत साथी छ !
असारे–गीतको परिचय
असारे–गीत नेपाली लोकगीतको एउटा विशिष्ट भेद हो । नेपाली लोकगीतलाई विभिन्न लोकगीत अध्येता विद्वान्हरूले विभिन्न आधारमा वर्गीकरण गरेका छन् । एकथरि नेपाली लोकगीत जुनसुकै समय, पात्र र परिवेशमा बाहै्र महिना (सधैँ) गाइन्छन् । यिनलाई बाह्रमासे गीत भनिन्छ तर अर्काथरि गीत विशेष समय (ऋतु) मा वा विशेष कामका निम्ति वा विशेष पात्रद्वारा विशेष परिवेशमा गाइन्छ । हाम्रो असारे–गीत पनि विशेष समय, स्थान, पात्र र परिवेशमा प्रस्तुत हुने हुँदा यो सामान्य नभएर विशेष गीत हो ।
नेपाली लोकगीत आफैँमा एउटा नदी हो र असारे–गीत त्यसैको सानो र विशिष्ट भङ्गालो ! एउटा सानो कित्ता भएर पनि लोकगीतका सबैजसो विशेषता यसमा अटाएका छन् । जस्तैः यो अरू लोकगीत जस्तै लोकद्वारा लोककै निम्ति निर्मित गीत हो । मौखिक परम्परामै भन्दै सुन्दै आइएको हो । यो पनि पुस्तौँपुस्तादेखि नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको हो । अरू लोकगीत जस्तै यो पनि कथ्य भाषा अर्थात् लोकबोलीमै संरचित सिर्जना हो । विभिन्न स्थानमा विभिन्न भाकामा गाइने हुँदा यो गतिशील प्रकृतिको गीत पनि हो । विभिन्न आधारमा वर्गीकरण गर्दै जाँदा यसरी फेला पार्न सकिँदो रहेछ असारे–गीतलाई !
ऋतु वा समयका आधारमा
यो गीत असार महिनामा गाइने भएकाले नै यसलाई असारे–गीत वा असारे–भाका भनिएको हो । यो वर्षा–गीत पनि हो, जब धर्तीमा वर्षा हुन्छ, असारे–गीत मुखमुखमा आफैँ आइहाल्छ । यो असार महिनाको महिमासहित गाइन्छ । गीतमा असार शब्द नै बारम्बार दोहोरिइरहेको हुन्छ । यसमा असारका विशेष सन्दर्भहरू वर्षा, हिलो, रोपाइँ, दाँदे, बाउसो, रोपार, हली, बियाड इत्यादि प्रस्तुत भएका हुन्छन् । जस्तैः
‘‘…लागेछ असार… पूर्वको ढोका खोलेर हेर्दा लागेछ असार ।’’
‘‘हली नि आए, बाउसे नि आए, आए नि बियाडे
हातैको बिउ म कल्लाई दिऊँ रोपारे हराए…’’
कर्म वा श्रमका आधारमा
यो गीत श्रम गरिरहेका बेला गाइने भएकाले यसलाई श्रमगीत पनि भनिएको हो । यो कर्म–गीत पनि हो, जब खेतमा धान रोपाइँको कर्म हुन्छ, असारे–गीत मुखमुखमा आफैँ आइहाल्छ, त्यसैले यसलाई रोपाइँ–गीत पनि भन्न सकिन्छ । यो रोपाइँको प्रव्रिmयासहित गाइन्छ । जस्तैः
“छुपुमा छुपु खेतै र रोपम् हातमा बिउ छउञ्जेल
भलै र खाम्ला भलै र लाम्ला बाबाको जिउ छउञ्जेल…’’
प्रस्तुतिका आधारमा
असारे–गीत कर्म गर्दागर्दै गाइने भएकाले यसमा गीतसँगै गतिविधि पनि आउँछन् । यो पानीमा भिज्दै, हिलोमा लटपटिँदै, हिलो छ्यापाछ्याप गर्दै गाइने जीवन्त र सक्रिय गीत हो । गीत गाइरहँदा कसैले पनि हात बिसाउँदैनन् । असारे–गीत प्रायः पञ्चेबाजाको तालमा गाइन्छ तर बाजाबिना पनि गाउन सकिने यस्तो गीत आफैँमा साङ्गीतिक हुन्छ र यो अभिनयसहित गाइन्छ । हली, बाउसे, रोपार, बियाडे सबैको आआफ्नै भूमिका र अभिनय यसमा रहन्छ ।
‘‘…छुपुमा छुपु धानै र रोपम् असार पन्धै्रमा…
रात् पनि भयो, झ्याउँकीरी बास्यो जाउँ अब घरैमा…’’
‘‘…हरियो बिउ हातैमा लिई रोप्दैछन् खेताली’’
उमेर एवं लिङ्गका आधारमा
असारे–गीत महिला र पुरुष दुवैले गाउने गीत हो । प्रायः ठट्यौलो पारामा विपरीतलिङ्गी आकर्षणसहित यो गीत गाइन्छ । उमेरका हिसाबले भने यसलाई युवागीत भन्न सकिन्छ । किनकि चर्को घाममा, दर्कंदो पानीमा हिलोभित्र गाडिएको अवस्थामा गाउने गीत भएकाले बालक र वृद्धले यसमा सहभागिता जनाउँदैनन् । नेपाली कृषक खेतमा रौसिएर उत्साही स्वरमा गीत गाउँछन् । मायाप्रीति, व्यङ्ग्य, घरव्यवहारका विषयलाई पनि आधार बनाई यस प्रकारका गीत गाइने गरिन्छ । किसान कृषि कर्ममा लागेका बेलामा आफ्नो दिनरातको थकान मेटी शरीरमा स्फुर्ति बढाई मनोरञ्जन प्राप्त गर्न यस्तो गीत गाउने गर्दछन् । जस्तैः
‘‘असारै मासको दबदबे हिलो छिः मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो
छ बिस रिन लाग्यो ऽऽऽ
ख्याल होइन साँचो बेलौँती काँचो छ बिस रिन लाग्यो ऽऽऽ ।’’
क्षेत्रगत आधारमा
असारे–गीत धान रोपाइँका बेला गाइने भएकाले जहाँ–जहाँ धान रोपाइँ हुन्छ, तिनै क्षेत्रमा प्रचलित हुन्छ । प्रायः पहाडी भूभागमा गाइने यो गीत सबै जातिले मिलेर गाएको पाइन्छ । धानलाई मुख्य बाली मानिने र असार पन्ध्रलाई ‘राष्ट्रिय धान दिवस’का रूपमा मनाउने हाम्रो देशमा कुनै क्षेत्रविशेषको नभएर यसको लय, छन्द र भाका भेकैपिच्छे फरक–फरक पाइएको छ । कतै झ्याउरे, कतै काँठे अनि घाँसे भाकामा असारे गीत गाइन्छ । असारे–गीत प्रायः पुरुष र महिलाका बीचमा दोहोरी खेलका रूपमा गाइन्छ ।
केटा– … भेट् भएको मौका, भन्छ्यौ भने लौ खा ! आको पुच्छर् हल्लाउँदै !
केटी– … चाउरी प¥या गाला, बाँकी हाड् र छाला, के को पुच्छर हल्लाउँछौ ?
रस भावका आधारमा
युवक–युवतीका बिचमा गाइने र कठोर परिश्रमलाई बिर्साउने उद्देश्यसहित गाइने भएकाले असारे–गीतमा मूलतः हास्य रस एवं शृङ्गार रस प्रधान हुन्छ । तैपनि सवाल–जवाफ गर्दागर्दै कहिलेकाहीँ गम्भीर विषयहरूसमेत आउन सक्छन् र करुण रसतिर पनि मोडिन सक्छ तैपनि कर्मवीर गायक गायिका तुरुन्तै मनोरञ्जनको मूलधारमा आइहाल्छन् ।
‘‘… दर्कन लाग्यो सिम्सिमे पानी, असारे भाकामा खेताली नानी
असारे मेलामा… हली र बाउसे रोपारेहरू भेट् भाको बेलामा…’’
‘‘… हलीको टाउको मुसाले लग्यो खुर्सानी बारीमा…’’
सुख–दुःख, हाँसो–आँसु उतारचढाव नै मानवीय जीवन हो । अभावमा पनि उल्लासको गीत गाउने नेपाली कृषकको मुटु मिसिएको हुन्छ असारे–गीतमा ! आजभोलि सहरी क्षेत्र कृषिकर्मविहीन हुँदै गर्दा पनि नानीलाई भ्यानमा राखेर विद्यालयले धान खेतमा लगी हिलोमा डुबाएको दृश्य देख्दा र असारे–गीतको चासो देख्दा हाम्रो लोकसाहित्य र संस्कृतिको पाटो फेरि ब्यूँतन्छ कि ! भन्ने आशा पनि गर्न सकिन्छ । गोरखापत्रबाट