धादिङमा राष्ट्रपति रनिङ शिल्ड सुरु, मुख्यमन्त्रीद्वारा उद्घाटन

Avatar photo
नारायण सिलवाल
मङ्लबार, फाल्गुन २३, २०७९

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले खेलकुदलाई प्रमुखतामा राखेको बताएका थिए । धादिङ खेलकुद विकास समितिले जिल्लामा उल्लेख्य गतिविधि गरेको बताउँदै जिल्ला अध्यक्ष प्रतासिंह तामाङलाई धन्यावाद दिएका थिए । कार्यक्रमका विशेष अतिथि संघीय सांसद राजेन्द्र पाण्डे र रामनाथ अधिकारीले जिल्लामा खेलकुदको माहौल बनिसकेको छ अब भौतिक पूर्वाधार विकासमा आफ्नो विशेष जोड हुने बताएका थिए ।

प्रतियोगिताको पहिलो दिन भएको भलिबल छात्र तर्फ धुनीबेसीलाई हराउँदै रुबीभ्याली र सिद्धलेकलाई हराउँदै खनियाबासले विजयी सुरुवात गरेका छन् भने कबड्डी छात्र तर्फ गजुरीलाई पराजित गर्दै नीलकण्ठ र छात्रा कबड्डीमा सिद्धलेकलाई पराजित गर्दै धुनीबेसीले विजयी सुरुवात गरेको छ ।

पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका छात्ररछात्रा विद्यार्थीहरुले भाग लिन पाउने यस प्रतियोगितामा धादिङका १३ मध्य ११ वटा पालिकाले भाग लिएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसुका खेलहरु समावेस छन् । जिल्लाबाट छनोट भएकमा खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन् । गजुरीको गलौंदी खेल मैदानमा सुरुभएको यस प्रतियोगिता फागुन २५ गते सम्म चल्ने छ ।

धादिङमा यसअघि ११ औं संस्करणको जित निकालेको धुनीबेसी यो पटक पनि रनिङ शिल्ड आफ्नै पक्षमा पर्ने तयारीका साथ प्रतियोगितामा आउने तयारीमा छ भने १० औं संस्करणमा रनिङ शिल्ड जितेर १२ औं मा गुमाउन पुगेको बेनीघाट रोराङले यो पटक रनिङ शिल्डको दावेदारको रुपमा सबै इभेन्टमा भाग लिने गरि मैदानमा उत्रिएको छ भने ३० वटा भन्दा बढी माध्यामिक विद्यालय रहेको नीलकण्ठ नगरपालिकाले पनि यो पटक रनिङ शिल्को दावी सहित मैदानमा छ ।