यस्ता थिए निर्वाचनका कुख्यात धाँधली

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २४, २०७९

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक लाइबेरियाको सन् १९२७ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनले सबभन्दा ठूलो धाँधली भएको निर्वाचनका रूपमा विश्वकीर्तिमानी राखेको छ । मतदानका लागि केवल १५ हजार योग्य मतदाता रहेको निर्वाचनमा सत्तासीन राष्ट्रपति चार्ल्स डिबी किङले दुई लाख ३४ हजार र उनका प्रतिद्वन्द्वीले नौ हजार मत प्राप्त गरेका थिए ।

यति ठूलो धोखाधडीका बाबजुद किङ नै तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त भए । रोचक त के भने गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले यो निर्वाचनलाई परिमाणात्मक हिसाबले इतिहासकै सर्वाधिक धोखाधडीयुक्त निर्वाचनका रूपमा कीर्तिमानी दर्ता नै गरेको छ ।

लाइबेरिया अफ्रिकाको पहिलो र सबभन्दा पुरानो गणतान्त्रिक मुलुक हो । यो मुलुक अमेरिकाबाट स्वतन्त्र भएर आएका अश्वेतहरूले १८औँ शदीको सुरुबाट खडा गरेका थिए । अफ्रिकामा सबैभन्दा पहिले स्वतन्त्र हुने मुलुक भएर पनि यो मुलुकमा स्वच्छ निर्वाचन विरलै हुने गरेको छ ।

यो मुलुक सन् १८४७ मै गणतन्त्र बनिसकेको थियो । गणतन्त्र बनेयता लाइबेरियाले निर्वाचनबाट नेता चयन गरिरहेको छ । निर्वाचनमार्फत नै अफ्रिका महादेशमा पहिलो महिला राष्ट्रप्रमुख बनाउने मुलुक पनि लाइबेरिया नै हो । यसका बाबजुद निर्वाचनमा धाँधलीका लागि यो मुलुक प्रख्यात छ ।

‘जेरिम्यान्डर’ : अमेरिकी लोकतन्त्रको विद्रुप अनुहार
सन् १८१२ मा अमेरिकी राज्य म्यासाच्युसेटमा एलब्रिज गेरी गभर्नर थिए । उनले एउटा कानुन ल्याएर यो राज्यका निर्वाचन क्षेत्रहरूलाई आफ्नो दलका लागि अनुकूल हुने गरी रेखांकन गरे । बोस्टन गजेटले नयाँ नक्सांकनलाई शिरतर्फ पुच्छर फर्काएर बसेको छेपारोजस्तै बनाएर अतिशय कपटपूर्ण रेखांकन गरिएको भनेर व्यंग्य नै कसेको थियो ।

गभर्नर गेरीले बांगोटिंगो गरेर निर्वाचन क्षेत्रहरू रेखांकित गरेको यो प्रकरण ‘जेरिम्यान्डर’ नामले प्रसिद्ध छ । रोचक के छ भने निर्वाचन क्षेत्रमा छेडखानी गरेर जनमत आफ्नो दलको पक्षमा पार्ने रणनीतिअन्तर्गत गेरीले गरेको क्षेत्र निर्धारणलाई अहिलेसम्म परिवर्तन गरिएको छैन । त्यसैले निरन्तरता पाइरहेको छ ।

शतप्रतिशत मत आफैँमा खसालेको हाइटीको निर्वाचन
हाइटीका पूर्वतानाशाह फ्रांंस्वा ‘पापा डक’ डुभालायर र उनका छोरा जिन–क्लाउड ‘बेबी डक’ डुभालायरको शासनलाई आधुनिक इतिहासको सबभन्दा भ्रष्ट र दमनकारीमध्येको मानिन्छ । डुभालायर पिता–पुत्रको २८ वर्षको शासनकालमा उनीहरूको निजी सेना टोन्टो माकुटेसले कम्तीमा तीन हजारको हत्या, ६० हजारभन्दा धेरैको बलात्कार र अनेकौँलाई चरम यातना दिएका थिए ।

आतंकको यो पृष्ठभूमिमा निर्वाचनमा धाँधली निकै सामान्य विषय लाग्न सक्छ । हाइटीका पापा डकले आफूलाई निर्वाचित राष्ट्रपति देखाउन सन् १९६२ मा निर्वाचन गरेका थिए । उनले गराएको यो निर्वाचनमा शतप्रतिशत मत उनैलाई परेको थियो । अन्य कसैलाई एक मत पनि परेन ।

उनी यतिमै रोकिएनन्, सन् १९६४ मा निर्वाचन आह्वान गरेर आफूलाई प्रेसिडेन्ट फर लाइफ (आजीवन राष्ट्रपति) निर्वाचित गर्न आह्वान नै गरे । पहिले नै रेजा लगाएर तयार मतपत्र खसाली गरिएको यो निर्वाचनमा पापा डकले ९९.९ प्रतिशत मत प्राप्त गरेका थिए । नयाँ पत्रिकाबाट