धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई बागमती प्रदेश सरकार, शिक्षा विकास निर्देशनालय, हेटौंडाको आर्थिक सहयोगमा जेठ मसान्तभित्र अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिने भएको छ ।
हामीले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका लागि भर्ना अभियान सुरुगरि सकेका छौं । कोहि बालबालिका विद्यालय बाहिर हुने छैनन् । यो अभियानले सार्थकता पाए सँगै ०८५ बैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति विभिन्न सरकारी सेवा, सुविधा र अवसरवाट वञ्चित गरिने पालिका अध्यक्ष कृष्णबहादुर थापलिया (विवेक) बताउँछन् ।
- जेठ मसान्त सम्ममा बेनीघाट रोराङ गाउँपालिकालाई निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिने
- २०८५ साल बैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति विभिन्न सरकारी सेवा, सुविधा र अवसरवाट वञ्चित गरिने
- ४ वर्ष देखि १३ वर्ष उमेर समूहका कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर हुन नदिईने
- विद्यालय बाहिर रहेका बालबालिका भेटिएमा तत्काल खवर गर्न आव्हान
चेपाङको बाहुल्यता रहेको यस पालिकामा अधिकांक्ष चेपाङ बालबालिका अहिले पनि शिक्षाबाट बञ्चित छन् । उनीहरु स्कुल आउँछन् त भन्ने हाम्रो प्रश्नमा अध्यक्ष विवेक भन्छन्, पालिकाले अभियान सुरुगरि सकेको छ हामी घर-घर पुग्छौं र उनीहरुलाई पढ्ने वातावरण बनाएर भर्ना गर्दछौं ।
प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धी मौलिक हकमा उल्लेख गरिएको छ । यसैलाई कार्यान्वयन गर्दैछौं । जेष्ठ मसान्त सम्ममा बेनीघाट रोराङलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गरिने उनले बताए ।