
काठमाडौं । बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । मोटरसाइकल चोरीमा संलग्न सबै भद्रपुरका छन् ।
पक्राउ पर्नेमा मुख्य नाइके भद्रपुर नगरपालिका–७ निवासी २१ वर्षीय प्रकाश सहनी, सोही ठाउँका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर १ निवासी ३० वर्षीय बिर्ख लिम्बु र भारत किशनगञ्ज जिल्ला बिरखोर घर भई हाल भद्रपुर–६ मा समिम ग्यारेज सञ्चालन गर्ने १९ वर्षीय मोहम्मद समिम रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट चोरीका ७ वटा मोटरसाइकलसमेत बरामद गरेको छ। प्रहरीले ५ वटा पल्सर, एउटा अपाची र एउटा सुपर स्प्लेन्डर मोटरसाइकल बरामद गरेको हो । बरामद ७ मोटरसाइकलमध्ये ६ जना सवारीधनी सम्पर्कमा आइसकेको डिएसपी पाठकले बताए ।
