१६ फागुन, धादिङ । जिल्लाको चर्चित गुप्तेश्वर गुफाको पाउमा स्थानीयले छाँगेश्वर महादेव मन्दिर निर्माण गरेका छन् ।
गल्छी गाउँपालिका-३ मा पर्ने कोर्थोक माथि रहेको गुप्तेश्वर गुफा धादिङकै चर्चित धार्मिक स्थल हो । यहाँ हरेक वर्ष शिवरात्रिको दिन मेला लाग्ने गर्छ ।
गुप्तेश्वर गुफाको फेदीमा रहेको छाँगेटारमा पर्ने छाँगे झर्ना नजिकै स्थानीयले मन्दिरको निर्माण गरेका हुन् । मन्दिरमा पूजाआजा सुरु भइसकेको छ ।
मन्दिर निर्माणको लागि गल्छी गाउँपालिकाले डेढ लाख, स्थानीयबाट चन्दा प्राप्त चार लाख ५० हजार र एक लाख बराबरको जनसहभागिता रहेको स्थानीय रामप्रसाद रेग्मीले जानकारी दिए ।
मन्दिर निर्माणका लागि स्थानीय शारदादेवी खतिवडाले जग्गा दान दिएकी हुन् । छाँगे झरनामा वर्षमा ६ महिना पर्यटकहरूको भीड लाग्ने गरेको छ ।