धादिङको सत्यवती माविका विद्यार्थीहरु पढ्दै र कमाउँदै

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १६, २०७८

धादिङ । प्राविधिक धारलाई माद्यमिक तहमा ऐच्छिक रुपमा सञ्चालन गर्न दिए सँगै अहिले ९ कक्षाबाट नै प्राविधिक विषयमा पढाई भइरहेको छ । धादिङ जिल्ला सिद्धलेक गाँउपालिका वडा नं. ७ आदमटार स्थित सत्यवती माद्यमिक विद्यालयमा वाली विज्ञान विषयमा पढाई भईरहेको हो । शैक्षिक सत्र २०७६ मा कक्षा ९ मा वाली विज्ञान विषयमा भर्ना भएका विद्याथी अहिले कक्षा ११ मा अध्ययनरत छ ।

व्यवसायिक कृषितर्फ वाली विज्ञान विषयमा पढाई शुरु भएपछि विद्याथीहरुको आर्कषण बढेको कक्षा ११ मा अध्ययनरत सविन मिजारले बताए । “आजकल सामान्यतया १२ पास सवैले गछन् । प्राविधिक धार लिएर १२ पास गर्दा रोजगारी मिल्छ भन्ने आशले प्राविधिक विषय पढेको हो । हाम्रो विद्यालयमा वाली विज्ञान पढाई हुनु आफैँमा राम्रो हो ।” मिजारले उच्च शिक्षा पढ्न नसके र जागिर नपाए पनि कृषिलाई प्राविधिक ज्ञान सहित प्रविधि मैत्री कृषि कर्म गरेर स्वरोजगार वन्न सकिने विश्वास बढेको बताए ।

वाली विज्ञानका सवै विद्यार्थीहरुलाई अनिवार्य प्रयोगात्मक गराउने भएकाले सैद्धान्तिक संगै व्यवहारिक ज्ञान सिक्न पाएको विद्यार्थीहरुको भनाई छ । कक्षा ९, १० र ११ का विद्यार्थीहरुले चार सय पोका च्याउ झुन्ड्याएका छन् । विउ राखेको २१ दिनबाट च्याउ विक्री गर्न शुरु गरेका विद्यार्थीहरुले हालसम्म चार सय केजी विक्री गरिसकेका छन् ।

उनीहरुले उपभोक्ताको विश्वास जित्न र आर्कषणका लागि मात्र नभई च्याउको सुरक्षित विक्रीका लगि प्याकेटिङ तथा लेवलिङ गरेका छन् । फार्मबाट प्रति केजी दुई सय पचासमा लिएको च्याउ दुई सय असीदेखि तीन सय तीस सम्ममा विक्री गरिरहेका छन् । फार्मबाट लिएको मूल्य भन्दा बढी मूल्यमा विक्री गर्दा आएको नाफा विक्रेता विद्यार्थीले नै पाउने हुदाँ उनीहरुको कमाउने बानीको पनि विकास भएको प्रशिक्षक अशोक आर्यायले बताए । आचार्यका अनुसार पचास हजार लगानी भएको छ । अहिलेको जस्तै उत्पादन भईरहे एक हजार पाँच सय केजी उत्पादन हुने अनुमान गरिएको छ । करिव तीन लाख आम्दानी हुन्छ होला । लागत मूल्य कटाएर विद्यार्थीलाई प्रोत्सान स्वरुप दिने योजना रहेको प्रशिक्षक आचार्यको भनाई छ ।

कक्षा ९ मा कम्प्युटर, कृषि प्रसार तथा सामुदायिक विकास, वाली विकास, फलफूल खेती प्रविधि, वाली संरक्षण र माटो विज्ञान सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा हुन्छ । कक्षा १० मा कृषि अर्थशात्र, माछा खेती प्रविधि, तरकारी खेती प्रविधि, फलफूल खेती तथा नर्सरी व्यवस्थापन, मौरी, रेशम तथा च्याउ खेती, खाद्यान्न वाली उत्पादन प्रविधिको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा हुन्छ । यसका अलवा नेपाली, अँग्रेजी र विज्ञान विषय अनिर्वाय पढाई हुने प्रशिक्षक आचार्यले बताए ।

कक्षा ११ मा फूल खेती, माटो विज्ञान, कृषि औजार तथा वीउ प्रविधि र किरा विज्ञान पढाई हने गरेको छ । हावापानी सुहाउँदो विषयमा प्रयोगात्मक कक्षा र हावापानी नमिल्ने विषयमा अवलोकन भ्रमण गराएर व्यवहारिक ज्ञान दिने गरिएको छ । कृषि विज्ञान अँग्रेजी माध्यममा पढाई हुने भएकाले विद्यार्थीहरुलाई बुझ्न अफ्ठ्यारो भएको छ । नेपाली माध्यममा नै पढाई हुने हो भने विद्यार्थीहरु अहिलेको भन्दा निकै सिकाई उपलव्धि हुने प्रशिक्षक आर्चायको भनाई छ ।