सहकारी क्षेत्रमा योगदान गर्ने अगुवाहरु

Avatar photo
Dhadingpost
बुधबार, असार ३०, २०७८

सहकारी सिद्धान्तलाई समाज विकासको दर्शन मानिन्छ । खासगरी बिसौँ सताब्दीको पछिल्लो दशकदेखि सहकारी समाजशास्त्रको महिमा गहिराईबाट अनुभूति गरेको संयुक्त राष्ट्र संघले अभिब्यक्त गरिरहेको छ । सामाजिक जिम्मेवारीपूर्ण विकास र सामाजिक न्यायपूर्ण वितरणका लागि सहकारी अर्थशास्त्रको महत्वलाई विकसित भानिएका देशहरुमा हेर्न सकिन्छ । गरिब र विकासको गतिमा पछि रहेका देशमा सहकारीको महत्व रहेको कुरा त बोलि बचन र दस्ताबेजहरुमा हामी नै पनि प्रयोग गरिरहेका छौँ, कतिपय प्रसङ्गहरुमा त “काम कुरो एकातिर..” भने झै लाग्ने अवस्था भए पनि सहकारीको बखान निक्कै नै हुने गरेको छ ।

पुँजीवादी अर्थतन्त्रको प्रणाली र समाजवादी प्रणाली दुबैलाई धन–दौलत र पुँजीको प्रबन्धलाई मात्र प्राथमिकता दिने भनि आलोचना गर्ने प्रकृति–मानवतावादी आन्दोलनका संस्थापक आर. पी. सराफले पनि सहकारीलाई मानवीयतासहितको पद्धति मानेका छन् । विश्वमा शक्तिको होडका कारणले आर्थिक गतिविधि, बजार, उत्पादन, वितरण आदि कुरामा मानवीयता तथा सामाजिक जिम्मेवारी देखावटी मात्र बन्न पुगेको छ । मुनाफामूखी अर्थशास्त्रलाई नै सबै सरकारहरुले भरथेग गर्ने कारणले प्राकृतिक स्रोतको एकलौटी तथा अनियन्त्रित दोहनले पृथ्वीलाई नै जीव–जगतरहित मृत ग्रहमा परिणत हुने गरी ग्रिनहाउस इफेक्ट बढेको छ । फेरी, शक्तिको रुपमा पुँजीले स्थापित हुने अवस्था बनाइएको छ । यसकारण विद्यमान विश्वको बजारमुखी र नाफामूखी अर्थशास्त्र र यसमा केन्द्रित रहेको समाजशास्त्र मानवता विरोधी र पर्यावरणीय सुरक्षा विरोधी छ । मानवीय सभ्यता नै प्रकृति विरोधी दिशामा उन्मुख छ ।

सभ्यताको विकासलाई मानवीय बनाउन, आर्थिक गतिविधि प्रकृतिमैत्री बनाउन, सामाजिक न्यायको प्रत्यभूति हुने वितरण प्रणाली स्थापित गर्न, मानवीय स्वास्थ्य र वातावरणीय सुरक्षाप्रति जिम्मेवार गतिविधिको अर्थशास्त्र आजको आवश्यकता हो । सारंशमा भन्नुपर्दा प्रकृति र मानवीयताको माया गर्ने गतिविधि बाहेक अरु कुरा महत्वहीन जस्तै रहनेछन् । मानवीयताको विकास गर्ने समाजशास्त्रको विकास २१औं सताब्दीको आवश्यकता हो । सामाजिक न्याय र प्रकृतिमैत्री आर्थिक गतिविधिको अर्थशास्त्र मात्र अवको मानवीय सभ्यताको पक्षपाती हुन सक्नेछ ।

हाम्रो देश आधुनिकिकरणको प्रक्रियामा उपयुक्त राजनीतिक नेतृत्वको अभाव तथा उपयुक्त आर्थिक–सामाजिक सोँचको अभावले अन्ध पश्चिमाकरणको दिशामा उन्मुख भएको अवस्था छ । हाम्रा आफ्नो महत्वपूर्ण धरोहरहरुलाई वेवास्ता गर्दै आर्थिक विकासका नाममा अन्धानुकरणमा जाने कुराले “भूईँको टिप्दा पोल्टाको खसेको” भन्ने जस्तो अवस्था पनि देखिन्छ । दिगो, भरपर्दो र उपयोगी प्रचलन स्थापित गर्न सकिएको अवस्था छैन ।

मानवीय चरित्र भएको समाज बनाउने उद्देश्यले समाजवादी चिन्तनका पहिलो व्यक्ति रोबर्ट ओवेनको बैचारिक पृष्ठभूमिमा सफल तथा व्यवहारिक सहकारी सिद्धान्तको स्थापना भयो । मानव विकासक्रममा सहकारी सिद्धान्तको स्थापनालाई महत्वपूर्ण उपलब्धि मानिन्छ । र, यसको महत्व आउदा दिनमा झन बढि रहने कुरा स्पष्ट रुपमा देख्न सकिन्छ ।

श्रमिकहरुको भोगाई, मालिकबाट शोषित हुनुपरेका कथाहरु, राज्यबाट गरिने विभेदपूर्ण व्यवहार, अनुभव, चिन्तन–मनन, असफलताले सिकाएको पाठ, परिस्थितिले ल्याएको बाध्यता, समाजलाई प्रजातान्त्रिक बनाउँने उद्देश्य आदि कारणले बेलायतका श्रमिकहरुले सहकारी सिद्धान्त र यसको ब्यवहारिक सफलता हासिल गरेर दुनियालाई देखाउँन सफल भए । सहकारी आन्दोलनका यि अगुवाहरु गरिब तर सचेत सामाजिक अगुवा थिए ।

मालिक र सरकारबाट अन्याय, अत्याचार, हेपाई, शोषण, विभेदमा परेका थिए तर होसियार, धैर्य र मानवीयताका पक्षमा थिए । श्रम गर्ने पाखुरा मात्र थिए तर जीवनबाट निराश थिएनन् । ति कर्मवीर श्रमिकहरुले लामो समयसम्मको सामुहिक चिन्तन–मनन, सामाजिक सुधारको आन्दोलन, नागरिक अधिकारको आन्दोलन, श्रमसुधारकोे आन्दोलन र सामुहिक प्रयत्नले गरिबहरुको मुक्तिको जुक्ति निकालेर विश्वको लागि योगदान गरे – सहकारीको सिद्धान्तको सुत्रपात गरे, मानवीय सामाजिक–आर्थिक–साँस्कृतिक विकासको प्रविधिको विकास गरे (सामुहिक फोटो, विश्वको पहिलो सहकारीका २८ जना संस्थापकहरु समेत) ।

“सामुहिक उत्पादन र आवश्यकता अनुसार उपभोग” भन्ने आदर्शका लागि रोबर्ट ओवेनले “हार्मोनी कम्युनिटी” निर्माण गरे । संभवतः विश्वमा पहिलो सामुहिक समुदाय अर्थात कम्युन उनले स्थापना गरेका हुन । उनले आफ्नो कारखानामा काम गर्ने श्रमिकहरुको समुदायमा आमा र बृद्ध बृद्धाहरुले श्रम गर्नु नपर्ने, बालबालिकाहरुले स्कुलमा पढ्नु पर्ने र उत्पादनका काममा तरुणहरुले काम गर्नु पर्ने अनि हरेक परिवारले आवश्यकताका आधारमा उपयोग गर्ने ब्यवस्था गरे । उनको कारखाना हरेक पक्षमा सफल भएकाले देश विदेशका उद्योगपतिहरु हेर्न आउँथे । ओवेनको विचार र व्यवहारले समाजवादी आन्दोलनको विकासमा योगदान भयो भने सहकारी सिद्धान्तको विकासमा योगदान भयो (फोटो माथिल्लो लहरमा देब्रेबाट पहिलो) ।

किसान तथा गरिबहरुका लागि उत्पादनमा लाग्न, स्वरोजगार हुन र साहुमहाजनबाट चर्को ब्याजको शोषणबाट छुटकारा पाउँन “जनताको बैंक” बैंकको स्वामित्व उपभोक्ता आँफै हुने बित्तीय प्रणालीको व्यवस्था अपनाएर रैफिसनले सामाजिक आर्थिक विकासमा नयाँ आयामको विकास गरे । “एकको लागि सबै र सबैका लागि एक” भन्ने भावनाको सामाजिक आर्थिक साँस्कृतिक आवश्यकता पुरा गर्न समुदायका मानिसहरु कुनै भेदभाव विना आँफै सक्रिय भएर लाग्ने आन्दोलनको लहर विश्वव्यापी बन्यो ।

विभिन्न शहरहरुमा मेयरका लागि योग्य र लोकप्रिय ब्यक्तित्वका धनि रैफिसन आँपूm लगभग जीवनभर जनप्रतिनिधि भएर काम गर्दा मानवीय विकासमा समुदायका सबै मानिसलाई सक्षम बनाउने उपायका रुपमा “जनताको बैंक”को अवधारणलाई सैद्धान्तिक र व्यवहारिक रुपमा सफल पद्धतिको विकास गर्न सफल भए । बचत तथा ऋण सहकारी विश्वव्यापी रुपमा लोकप्रिय भएको छ । यसको स्थापना गराउने अगुवा मध्ये एक रैफिसन मानव विकासक्रममा उल्लेखनीय योगदानकर्ताका रुपमा रहेका छन् । युरोपीयन, अमेरिकाली र विश्वका धेरै देशहरुमा बैंक, बित्तीय संस्था, सहकारीहरु रैफिसनको नाम राखेर स्थापना भएका छन् । रैफिसन मोडलमा काम गर्नेहरुको विश्वव्यापी ब्यापक संजाल स्थापित छ । विश्व ऋण परिषद यसको विश्वव्यापी नेतृत्व गर्ने संगठन हो । रैफिसन(देब्रेबाट दोश्रो, माथिल्लो लहरमा)

नेपालको सामाजिक विकासको प्रबन्ध उत्कृष्ठ ढङ्गले अगाडि बढाउँन अग्रजहरुले उल्लेख गर्न लायक योगदान गरेका छन् । र, हाम्रो सामाजिक, आर्थिक र साँस्कृतिक क्षेत्रमा कतिपय विश्वले नै सिक्न लायक कर्याहरु पनि भएको पाइन्छ । तर, हामी कहाँनिर चुक्यौ आज दौडमा घाइते हुन पुगेको खेलाडी झै रोदन गर्दै रहनु पर्ने अवस्थामा देश छ । जबकि हामी भन्दा धेरै पछाडि रहेका देशहरु विकासको प्रतिस्पर्धामा माथि पुग्न सफल भएका छन् ।

मानवीय विकासका विविध आयाममा उल्लेखनीय योगदान गर्ने ब्यक्तिहरुको भूमिका र उनीहरुको योगदानलाई विर्सन हुन्न । अग्रजहरुले स्थापना गरेको परम्परालाई सम्मान र अनुसरण गर्नु सहकारीको मान्यता हो । नेपालको सहकारी आन्दोलनको स्थापना र विकासका लागि इतिहासका विभिन्न मोडहरुमा पहल लिने, योगदान गर्ने र यस क्षेत्रको विकासका लागि अथक प्रयास गर्ने दर्जनौ अगुवा योगदानकर्ताहरु सूचीबद्ध गर्न सकिन्छ । सहकारी आन्दोलनको लागि योगदान गर्ने अगुवा योगदानकर्ताहरु मध्ये स्व. बखान सिंह गुरुङ्, कैलाशभक्त प्रधानाङ्ग र दीपकप्रकाश बाँस्कोटाका योगदानलाई यस आलेखमा स्मरण गरिएको छ ।

गोरखा र लमजुङ् जिल्लामा बाढी पहिरोवाट विस्थापित भएका गरिवारहरुलाई चितवन जिल्लामा सामुहिक परिवारका रुपमा बसोवास गराई उनीहरुले स्थापना गरेको बखान सहकारी संस्था नेपालको पहिलो सहकारी संस्था हो । बखान सिंह गुरुङले स्थापना गरेको नेपालको सामुहिक समुदायलाई नेपालमा पहिलो कम्युन पनि मान्न सकिन्छ । यद्यपि यस विषयमा इतिहासकारहरुले विस्तृत अध्ययन गर्न बाँकी होला तर, बखान सिंह गुरुङ्लाई पहिलो सामुहिक समुदाय स्थापना गर्ने ब्यक्तिका रुपमा लिन सकिन्छ । नेपालमा पहिलो सहकारी संस्था स्थापना गर्ने बखान सिंह गुरुङ र उनको योगदानलाई बिर्सन हुदैन । बखान सिंह गुरुङ (माथिल्लो लहरमा देब्रेबाट तेश्रो)

नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रबद्र्धन गर्न यसको केन्द्रिय संघ, नेप्mस्कुनको स्थापना गरी कार्य सञ्चालन गर्नेहरु मध्ये एक जना कैलाशभक्त प्रधानाङ्ग हुनुहुन्छ । नेपालको सहकारी क्षेत्रलाई खास गरी बचत तथा ऋण सहकारीलाई देशभर विस्तार गर्न र अन्तर्राष्ट्रिय स्तरसम्म सम्बन्ध बढाउँन उहाँ सक्रिय रहनु भयो । लामो समयसम्म नेफ्स्कुनको मूल नेतृत्वकर्ताको भूमिकामा रहनु भयो । सहकारी क्षेत्रमा पुस्तक, पत्रपत्रिका र साहित्यको एकदम अभाव रहेको अवस्थामा उहाँले कलम पनि चलाई रहनु भयो । विश्वको सहकारी आन्दोलनको विभिन्न देशमा भइरहेको अभ्यास र नेपालको सहकारी सम्बन्धमा निक्कै गहिरो अध्ययन गर्नु भएका प्रधानाङ्गले गरेको योगदान सहकारी क्षेत्रको विकासमा उल्लेखनीय रहेको छ । उहाँले आफ्नो नेतृत्वमा चलाइरहनु भएको सहकारी संस्थाले सदस्य र समुदायमा उल्लेखनीय आर्थिक, सामाजिक र साँस्कृतिक क्रियाकलाप गर्दछ । कैलाशभक्त प्रधानाङ्ग(माथिल्लो लहर दाहिनेबाट दोश्रो)

दीपकप्रकास बाँस्कोटाले नेपालको सहकारी क्षेत्रलाई अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको हिस्साको रुपमा स्थापित गर्ने काममा उल्लेख्य काम गर्नु भएको छ । खास गरी संसदीय प्रजातन्त्रको राजनीतिक प्रणाली स्थापना भएपछि सहकारी क्षेत्रलाई देशब्यापी बनाउने काममा बाँस्कोटाको भूमिका उल्लेख्य रहेको छ ।

राष्ट्रिय सहकारी संघको स्थापना गरी संस्थापक अध्यक्षको रुपमा सहकारी क्षेत्रको नेतृत्व लिएर यस क्षेत्रको विकास र सुदृढीकरणमा उहाँले गर्नु भएको पहलबाट देशमा सहकारी क्षेत्रले ब्यापकता पायो । र्पािर्लयामेण्टबाट विश्वव्यापी रुपमा अभ्यास भइरहेको सहकारी क्षेत्रको मर्म र सिद्धान्त अनुसार नै नेपालमा पनि अभ्यास गराउँन ऐन, कानुन र वातावरण निर्माणमा बाँस्कोटाले ठूलो मिहेनत गर्नु भयो । सहकारीलाई सामान्य कृषि क्षेत्रमा काम गर्ने पद्धतिका रुपमा बुभ्mने गरिएको सहकारी क्षेत्रको बुझाईलाई आधुनिक सामाजिक आर्थिक विकासको सिद्धान्त र यसको व्यवहारिक प्रविधिलाई नेपालमा स्थापित गर्न दीपकप्रकास बाँस्कोटा पहल उल्लेख्य रहेको छ ।

सहकारीलाई आर्थिक गतिविधिका विविध क्षेत्रमा उपयोग गर्ने कामलाई उहाँले सफलतापूर्वक वातावरण बनाउनु भयो । नेपालको शिक्षा क्षेत्रमा पनि सहकारी व्यस्थापनका आधारमा समुदायको पहल र नेतृत्वमा ब्यवस्थापन गर्ने प्रयासमा डा. हर्क गुरुङ्, डा. बल्लभमणि दाहाल, भद्राकुमारी घले, डा. दिनेश भुजु, डा. आरजु देउवा, डा. द्वारिकानाथ ढुङ्गेल, अञ्जु सिंह लगायत अन्य ब्यक्तिहरु रहेको समुहमा दिपकप्रकास बाँसकोटा सक्रिय हुनु भयो ।

यद्यपि यो पहल सफल हुन नपाउँदै डा. गुरुङ् र डा. दाहालको मृत्यु भयो । नेपालमा सहकारी बैंकको स्थापना गर्न दीपकप्रकास बाँस्कोटाले पहल लिनु भयो । बर्तमान अवस्थामा सहकारी क्षेत्र देशको आर्थिक सामाजिक क्षेत्रमा ब्यापक रुपमा विस्तार रहेको छ । दिपकप्रकास बाँकोटाको योगदान यसमा अग्रणी रहेको छ । दिपकप्रकास बाँकोटा (माथिल्लो लहरको दाहिने) ।

आधुनिक विकासक्रममा मानवीयता र वातावरणीय सुरक्षा मात्र होइन संस्थागत सामाजिक जिम्मेवारीपन अति नै संवेदनशील पक्ष रहेको छ । सहकारी पद्धतिको सामाजिक आर्थिक गतिविधिले मात्र यि विषयमा वास्तविक योगदान पुग्न सक्ने कुरा सबैले बुभ्mन सकिने विषय रहेको छ । खुल्ला प्रतिस्पर्धा, बजारमूखी अर्थशास्त्र र यि नै कुराको सेवा, सुरक्षा र बढावा गर्ने राजनीतिक क्षेत्र देख्न्छि ।

यसबाट मूनाफामुखी बजार अर्थतन्त्र र धन–दौलत एवं पुँजीको प्रधानता रहेको आर्थिक प्रणालीबाट मानवीयता जगेर्ना हुन नसक्ने अवस्थामा सहकारीको भूमिका धेरै छ । नाफाका लागि प्राकृतिक स्रोतलाई अनियन्त्रित दोहन हुने कुराले वातावरणमा पारेको नकारात्मक असर डरलाग्दो छ । अतः सहकारी पद्धतिको आर्थिक क्रियाकलापको विकासमा जोड गर्नु आज दिगो, भरपर्दो र परिणममुखी सामाजिक विकासका लागि अपरिहार्य बनेको छ । यस पृष्ठभूमिका सहकारी क्षेत्रको विकास र सुदृढिकरणका लागि योगदान गर्ने ब्यक्तिको सरहाना गर्नु सबैको कर्तब्य हुन आउँछ ।

प्रस्तुति: लेखनाथ ढकाल