पुननिर्माणका लागि सहकारी

Avatar photo
Dhadingpost
मङ्लबार, असार १५, २०७८

“सबै मिलेर पहिलेभन्दा उच्च स्तरको पुननिर्माण गरौ” भन्ने मूल नाराकासाथ यो वर्षको अन्तर्राष्टिय सहकारी दिवस जुलाई ३, २०२१(असार १९, २०७८) मा विश्वव्यापी रुपमा मनाइदैछ । जनता केन्द्रित र वातावरणीयमैत्री गतिविधि गर्ने आत्मनिर्भर सहकारीको विकास र प्रबद्र्धन गर्न बहुआयामिक सरोकारहरु मिलेर बनाइएको “कमिटी फर द प्रमोशन एण्ड एड्भान्समेण्ट अफ को–अपरेटिभ” ले सहकारी दिवसमा विश्वब्यापी जुम सम्मेलन गर्दैछ । “सबै मिलेर पहिलेभन्दा उच्च स्तरको पुननिर्माण गरौं” भन्ने विषयमा विविध क्षेत्रका मानिसको अन्तरक्रियात्मक उक्त कार्यक्रमको केन्द्र ब्रसेल्स रहेको छ ।

विश्वको सबैभन्दा जेठो र ठूलो गैरसरकारी क्षेत्रको नागरिक सञ्जाल अन्तर्राष्टिय सहकारी गठबन्धन (इण्टरनेशनल को–अपरेटिभ अलायन्स) हो । संयुक्त राष्ट्र संघ र यसका विभिन्न एजेन्सीहरुसँग मानवीय विकासका लागि, खास गरी मानिसले चाहेको जस्तो विकासका लागि सझेदारीमा कार्य गरिरहेको छ ।

यो सञ्जालका अध्यक्ष स्थापना कालदेखि नै राष्ट्र संघीय सामाजिक–आर्थिक परिषदको प्रमुख सल्लाहकार रहने गरेको इतिहास छ । संयुक्त राष्ट्र संघले सहकारीलाई दिगो, भरपर्दो र वातावरणीयमैत्री दिगो विकासका लागि भरपर्दोे साझेदारका रुपमा लिएको छ ।

हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवार अन्तर्राट्रिय सहकारी दिवस मनाउँने प्रचलन छ । यो दिवस अन्तर्राट्रिय को–अपरेटिभ अलायन्स र संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा विश्वभर मनाइन्छ । नेपालमा पनि सहकारी क्षेत्रको निक्कै विकास भएको भनिन्छ, तर यसमा गुणात्मक विकासको आवश्यकता टडकारो देखिन्छ ।

सहकारीलाई सामाजिक–आर्थिक विकासका लागि सहहकारीको उपयोग गर्ने देशहरुले सहकारी शिक्षामा पनि उत्तिकै जोड दिएको पाइन्छ तर नेपालमा भने सहकारी क्षेत्र त्यत्तिकै चलेको छ । सहकारीको अन्तर्राट्रिय दिवस जस्तो महत्वपूर्ण दिनलाई सहकारी संघ संस्थाले प्रकाशीत गरेका क्यालेण्डरमा अङ्कित गर्ने सम्म गरेका देखिदैन ।

विश्वविद्यालय र प्राज्ञिक क्षेत्रले सहकारीलाई कुनै सम्बोधन गर्ने हैसियत राख्दैन, जवकि अन्तर्राट्रिय क्षेत्रमा सहकारीलाई सामाजिक–आर्थिक विकासका विविध आयाममा उपभोग गर्ने विषयमा उच्च स्तरको प्राज्ञिक अनुसन्धान हुने गरेको छ । सहकारीको सिद्धान्त, यसको उपयोग र विविध पक्षमा यसको उपादेयताको विषय प्राज्ञिक अध्ययनको विषय बन्दछ ।

आफ्नो देश र परिवेशको समाजशास्त्र, अर्थशास्त्र, कानुन, लेखाप्रणाली आदिको कुनै ख्याल नगरी केवल अरुले गरेको देखेर अन्धो अनुसरण गरेको अवस्थाबाट वास्तविक र असल अभ्यासको सहकारी क्षेत्रको विकास नहुने कुरा विभिन्न देश खासगरी हाम्रो देशको उदाहरण लिन सकिन्छ ।

सहभागिता, समावेशीता, न्यायिक वितरण, उपभोक्ताको अधिकार, उचित मुल्य, गुरणस्तर, वातावरणीय चासो, सामाजिक सुरक्षा, सामाजिक जिम्मेवारी आदि विषयहरु विकासका आधारभूत पक्ष हुन । यि कुरालाई व्यवहारतः कानुनी परिभाषाले मात्र सम्बोधन गर्न कठिन हुन्छ । नागरिकको सचेत पहल, स्वामित्व र नेतृत्वमा मात्र वास्तविक विकास हुने विषय सहकारीको मूलल आदर्श हो ।

हाम्रो मानसिकतामा भने हल्काफुल्का गफ गर्ने विषय मात्र भएकाले अनुसन्धान तथा प्राज्ञिक विषय नै बनेको छैन । जिम्मेवारी पाएको पदाधिकारी नै सबैथोक जान्ने प्रचलन रहेको छ, यो ब्रिटिस अधिनस्त देशमा हुने गरेको सहकारीको गलत अभ्यासको निरन्तरता हो, जबकि त्यतिवेला नै बेलायतमा अधिनस्त मुलुकमा शासन गर्ने अधिकारीहरुको त्यस देशमा हुने गरेको सहकारीको गलत कुराको आलोचना हुने गर्दथ्यो ।

यस वर्षको अन्तर्राष्ट्रिय सहकाकरी दिवशको उपलक्षमा जुलाई, ३ अर्थात असार १९ गते “मिलेर अझ उत्कृष्ट बनाऔं: मानिस–केन्द्रित र वातावरणीय पुनःनिर्माणमा सहकारीको योगदान” विषयलाई मूल नारा मानेर नेपालमा पनि अन्तर्राट्रिय सहकारी दिवस मनाइन्छ । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा नेपाल सरकारको पनि सङ्लग्नतामा दिवस मनाइन्छ ।

यो वर्ष “कमिटी फर द प्रमोशन एण्ड एड्भान्समेण्ट अफ को–अपरेटिभ” ले उच्च स्तरीय राजनीतिक फोरममा ‘दिगो विकासकालागि सहकारीको प्रबद्र्धन र सहकारीको तुलनात्मक उपयोगिता’ र त्यस्तै गरी महामारीपछिको पुननिर्माणमा अझ राम्रो बनाउँन सहकारीको भूमिका सम्बन्धी छलफल गरिने कार्यक्रम रहेको छ ।

कोभिड–१९ को विश्वब्यापी महामारीपछिको नयाँ र झन उच्च स्तरको समाजको पुननिर्माणका लागि युरोपीयन युनियनका सदस्य र युरोपीयन कमिशनका प्रतिनिधिले सहकारी केन्द्रित भूमिका सम्बन्धमा प्रकाश पार्ने कार्यक्रम रहेको छ । “अझ राम्रो पुननिर्माणका लागि सहकारी” भन्ने विषयमा छलफल केन्द्रित हुने कुरा आयोजक कमिटीले प्रकाशन गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।