कोरोनाको खोप आउने सरकारले होइन, व्यापारीले ल्याउने

Avatar photo
Dhadingpost
बुधबार, अशोज १४, २०७७

काठमाडौं असोज १४ । कोभिडविरुद्ध रसियाले परीक्षण गरिरहेको खोप ‘स्पुतनिक फाइभ’ नेपाल आउने समाचार विश्वभर फैलिएको छ । सरकारी पहुँच प्रयोग गरेर एक निजी कम्पनीले व्यापारका लागि खोप ल्याउने सम्झौता गरेको छ । महामारीविरुद्धको खोप ल्याउने र निःशुल्क वितरण गर्ने जिम्मेवारीबाट सरकार पछि हटेको छ ।

रसियन खोप नेपाल आउने समाचार अमेरिकी च्यानल सिएनएनदेखि इन्डिया टुडेलगायतका भारतीय मिडियाले पनि प्रकाशित गरेका छन् । तर, नेपाल सरकारका आधिकारिक निकायहरू औचारिक रूपमा जानकार छैन ।

‘स्पुतनिक फाइभ’को प्रवद्र्धनमा काठमाडौंस्थित रसियन राजदूत एलेक्सेई नोभिकोभ सक्रिय थिए । यसबीचमा उनले मन्त्रीदेखि राष्ट्रिय सभाका अध्यक्षसम्मलाई भेटेका थिए । तर, निजी कम्पनीलाई अघि सारेर सरकार खोप ल्याउने जिम्मेवारीबाट पछि हटेको छ, जब कि महामारीविरुद्धको खोप राज्यको आधारभूत दायित्व हो ।

नेपालमा खोप सप्लाई गर्ने ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड’ सरकारी कोष हो । तर, यता निजी कम्पनीले सम्झौता गरेकोमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि असन्तुष्ट छन् । ‘स्पुतनिक फाइभ अन्तिम परीक्षणमा छ, प्रमाणित हुन बाँकी नै छ,’ स्वास्थ्यका एक अधिकारीले भने, ‘त्यो काम नलाग्ने खोप हो भने निजीलाई पनि ल्याउन दिन मिल्दैन, काम लाग्ने हो भने सरकारले ल्याउनुपर्छ । दादुरा, पोलियोलगायतका खोप निःशुल्क दिने देशमा कोभिडको खोप किन्नुपर्ने किन ?’

उताको सरकारी कोषबाट ल्याउने खोप यताको निजी कम्पनीबाट बिक्री गर्ने तयारी छ । यो खोपको बिक्री–वितरणमा सरकार पर्दापछाडि बस्न खोजेको छ । जब कि रसियन राजदूत नोभिकोभले यसबीचमा ऊर्जामन्त्री वर्षमान पुन, पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई समेत भेटेका थिए । खासगरी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँगको भेटमा उनले खोपको प्रवद्र्धनबारे विस्तृत संवाद गरेको जानकारी राष्ट्रिय सभा सचिवालयले नै दिएको थियो ।

रसियन फण्ड र नेपालको निजी कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच सम्झौताको औपचारिक जानकारी रसियन फण्ड र रसियन दूतावासले दिएका छन् । ट्रिनिटी सप्लायर्स कम्पनीमा स्वास्थ्य क्षेत्रमा मेडिकल उपकरण खरिद गर्ने कम्पनी हो । हस्पिटेकका सञ्चालक तथा सत्तारुढ दलका नेताहरूको संरक्षण पाएका विशाल पण्डितको ट्रिनिटीमा पनि लगानी छ ।

रसियन दूतावासको सहयोगमा आपूmहरूले यो सम्झौता गरेको ट्रिनिटीका निर्देशक किशोर अधिकारीले पनि बताए । ‘यो भ्याक्सिन उत्पादन गर्ने रसियाको सरकारी कम्पनी हो । यो सम्भौता रसियन दूतावासको सहयोगमा भएको हो । सो कम्पनीले हामीजस्तै विश्वका ३१ कम्पनीसँग सम्झौता गरेको जानकारी दिएको छ,’ उनले भने ।

त्यसो त नेपाल आउने भनिएको ‘स्पुतनिक फाइभ’ खोप अहिलेसम्म प्रमाणित भइसकेको छैन । यो रसियामा नै तेस्रो अर्थात् अन्तिम चरणको परीक्षणमा छ । यसको परीक्षणको परिणाम नोभेम्बरसम्म आइपुग्ने अपेक्षा छ । अहिले दुनियाँमा एक सय ४० भ्याक्सिन परीक्षणमा छन्, तीमध्ये नौ भ्याक्सिन तेस्रो अर्थात् अन्तिम चरणको परीक्षणमा छन् ।

रसियाबाट दुई करोड ५० लाख डोज खोप नेपालमा ल्याउने सम्झौता भएको तथ्य सार्वजनिक भएको छ । तीन करोड जनसंख्या भएको नेपालका लागि यो उल्लेखनीय हो । तर, यति धेरै खोप नेपाल आउनेमा सम्झौताकर्ता नै आशावादी छैनन् । ‘हामीले सम्झौता गरेको मात्रामा खोप आउने होइन, तीन–चार लाखसम्म ल्याउन सकियो भने सफलता मान्नुपर्छ,’ ट्रिनिटीका निर्देशक अधिकारीले नयाँ पत्रिकासँग भने ।

रसियाको सरकारी फण्ड र नेपालको निजी कम्पनीबीच सम्बन्ध जोडिदिने सरकारी ‘च्यानल’ले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र स्वास्थ्य अनुसन्धान परिषद्लाई भने खबर गरेको छैन ।

मंगलबार रसियन फण्डले विज्ञप्ति जारी गरेर नेपालको ट्रिनिटी फर्मास्युटिकल्सले दुई करोड ५० लाख डोज स्पुतनिक–५ आयातका लागि सम्झौता गरेको समाचार आएपछि सरकारी निकायहरू आश्चर्यमा परेका थिए ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारी रुसी भ्याक्सिन नेपाल आउन लागेको विषयमा आफूहरू अनभिज्ञ रहेको बताउँछन् । ‘भ्याक्सिनको विषयमा मन्त्रालयमा छलफल भएको छैन, मन्त्रालयलाई कुनै जानकारी छैन,’ उनले भने ।

कोरोनाविरुद्धको कुनै पनि भ्याक्सिन तथा उत्पादक कम्पनी नेपालमा दर्ता नभएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । ‘औषधि तथा भ्याक्सिनलगायत स्वास्थ्य सामग्री आयातका लागि विभागबाट स्वीकृति लिनुपर्छ,’ उनले भने, ‘तर, स्वीकृति त परको कुरा, भ्याक्सिन उत्पादन गर्ने कम्पनी विभागमा दर्ता भएका छैनन्, दर्ताको प्रक्रियासमेत सुरु भएका छैन ।’

विभिन्न मुलुकले बनाइरहेको भ्याक्सिनको क्लिनिकल परीक्षण पूर्ण रूपमा सम्पन्न भएपछि मात्रै आयात प्रक्रिया अघि बढ्न सक्ने ढकालले बताए । तर, नेपालको कम्पनीले रसियामा बनिरहेको भ्याक्सिन स्पुतनिक फाइभ आयातका लागि सम्झौता गरेको विषयमा जिज्ञासा राख्दा ढकालले भने, ‘कुनै कम्पनीले रसियाबाट भ्याक्सिन ल्याउन सम्झौता गरेको भन्ने हल्ला मैले पनि सुनेँ, तर अहिलेसम्म हाम्रो औपचारिक जानकारीमा छैन, क्लिनिकल परीक्षण नै सम्पन्न नभईकन आयातको प्रक्रिया सुरु हुने कुरा पनि आउँदैन,’ उनले भने, ‘बाहिर हल्ला गराउने अनि परीक्षण सकिएलगत्तै भनसुन र दबाबमा भ्याक्सिन दर्ता गराएर आयात गर्ने प्रयास पनि हुन सक्छ । तर, यो गम्भीर विषय हो, यस्तो गर्न सहजचाहिँ छैन ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले रुसबाट भ्याक्सिन ल्याउनबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । ‘भ्याक्सिनको तेस्रो चरणको परीक्षण सफल भएपछि विश्व स्वास्थ्य संगठनलगायत संस्थाले ठीक छ भनेपछि मात्र आयातको प्रक्रिया हुन्छ, परीक्षण पूरा भएपछि सरकारले निर्णय गर्ने हो । तर, यहाँ सरकारभन्दा निजी कम्पनी अघि सरेको देखियो,’ उनले भने ।

औषधि व्यवसायीको छाता संगठन नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले समेत यसबारे आफू र संघ अनभिज्ञ रहेको बताए । ‘नेपालमा कोभिड– १९ विरुद्धको भ्याक्सिन आयात गर्ने विषयमा हाम्रो संघलाई कुनै औपचारिक जानकारी छैन । भ्याक्सिन आयात गर्ने विषयमा हाम्रो संघमा अथवा हामी व्यवसायीबीच कुनै औपचारिक–अनौपचारिक छलफल भएका छैन,’ उनले भने, ‘जुन मुलुकले भ्याक्सिन उत्पादनको प्रयास गरेका छन्, ती सबै परीक्षणकै क्रममा रहेकाले पनि अहिल्यै भ्याक्सिन आयातको प्रक्रिया सुरु हुन सक्दैन । अहिले समय भइनसकेकोजस्तो लाग्छ ।’ नयाँ पत्रिकामा खवर प्रकाशित छ ।