ज्वरो वा रुघा लागेमा, एक्लिएर बस्न विज्ञको सुझाव

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १६, २०७६

काठमाडौं फागुन १६ । विश्वभर कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि यसको रोकथामका लागि विभिन्न उपायहरु अवलम्बन सुरुगरिएको छ ।

चीन सहितका तेश्रो देशबाट नेपाल भित्रिने मानिसहरूबाहेक देशभित्रै पनि देखा पर्नसक्ने शङ्कास्पद घटनाहरूबारे निगरानी बढाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

कोरोनाभाइरस कोभिड-१९ सङ्क्रमणसँग मिल्दाजुल्दा सङ्केतहरू मानिसहरूमा देखिए त्यसबारे अध्ययन अघि बढाउन जाँच गर्ने बुधवार बसेको प्राविधिक समितिको बैठकले निकर्ष निकालेको थियो ।

सङ्क्रामक रोगसम्बन्धी विज्ञ डाक्टर अनुप सुवेदी भन्छन्, “जुन स्तरमा कोरोनाभाइरस फैलिरहेको छ, विश्वभरि नै अहिले सङ्क्रमण देखापरेपछि अघि बढाइने उपचार विधिबाट यसलाई रोक्न सकिँदैन भन्ने अनुभूति हुन थालेको छ । यसलाई पुरै दबाउने वा नियन्त्रण गर्न नसकिने भएकाले प्रत्येक सङ्क्रमणका घटना पहिचान गर्नुभन्दा पनि साधारण शंकास्पद लक्षणहरू ज्वरो वा रुघा लागेमा घरभित्रै बस्ने, अस्पताल पनि नजाने र अरूलाई नसार्ने बाटो अपनाउनुपर्छ ।”

कोरोनाभाइरसको लक्षण

सुरूमा ज्वरोको लक्षण देखा पर्ने कोरोनाभाइरसको सङ्क्रमणमा त्यसपछि सुख्खा खोकी देखा पर्ने अनि एक हप्तापछि स्वासप्रस्वास गाह्रो हुने र केही बिरामीलाई अस्पताल लैजानुपर्ने अवस्था आउने बताइन्छ । यो सङ्क्रमणका कारण विरलै सिँगान बग्ने वा हाच्छिउँ आउने बताइन्छ ।

सङ्क्रमण र यी लक्षणहरू देखिनेबीचको समय १४ दिनसम्म हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले बताएपनि कतिपय अनुसन्धानकर्ताहरूले त्यो बढीमा २४ दिनसम्म हुनसक्ने उल्लेख गरेका छन् ।

सावधानी
विश्व स्वास्थ्य सङ्गठनले साबुन र किटाणुमार्ने जेलको प्रयोगले हात धुने, रुघा वा खोकी लाग्दा पातलो रुमाल वा ‘टिस्यू’ले मुख छोपेर भाइरस फैलनबाट रोक्ने अनि आफ्नो आँखा, नाक र मुखलाई कुनै कारणले भाइरसबाट सङ्क्रमित भइसकेको स्थान छोएको हातले नछुने जस्ता सावधानीका उपाय अपनाउन सुझाएको छ । उसले ज्वरो र रुघाजस्ता लक्षण देखिएका व्यक्तिबाट भाइरस सर्न सक्ने भन्दै उनीहरूबाट एक मिटर पर बस्न सुझाव दिएको बीबीसीले जनाएको छ ।