शिव प्रसाद देवकोटा (सञ्जय)
कक्षामा पढाउँदै गर्दा एकजना विद्यार्थीलाई सोधेँ कि, “तिम्रो बुबा के गर्नुहुन्छ ?” उसको उत्तर यस्तो थियो, “मेरो बाबा पुलिस छ ।” त्यस्तै विद्यार्थीहरूलाई शिक्षणकै क्रममा ‘रवि’ शब्दको वाक्य निर्माण गर्न दिएकोमा “रवि कक्षा आठमा पढ्छ ।” लेखेछन् । कसैकसैले “मेरो दाइको नाम रवि हो ।” लेखेछन् । यी त प्रतिनिधि घटना मात्र हुन् । विद्यालय स्तरमा नेपाली भाषा शिक्षणका क्रममा देख्दा सामान्य लाग्ने तर गहिरिएर सोच्दा ठूला समस्याहरू अनगिन्ति मात्रामा पाइन्छन् ।
यहाँ माथि उल्लेखित प्रश्नहरूलाई प्रष्ट पारौँ । पहिलो प्रश्न थियो । “तिम्रो बुबा के गर्नुहुन्छ ?” उक्त प्रश्नको उत्तरु हुन्छ, “मेरो बाबा प्रहरीमा जागिरे हुनुहुन्छ ।” हुनुपथ्र्यो । त्यस्तै दोस्रो प्रश्नको जवाफमा ‘रवि’ शब्दको अर्थ बुझ्न जरुरी थियो । ‘रवि’ शब्दको अर्थ हुन्छ घाम वा सूर्य । त्यसैले नेपाली भाषा शिक्षणमा यी यावत समस्याहरू दैनिक कक्षा शिक्षणका क्रममा देखा परेका छन् ।
अब विषयवस्तुतिर लागौँ । नेपाली भाषा यो आफैँमा महासागर हो । नेपाली भाषा शिक्षणमा पहिलादेखि नै विभिन्न चुनौतिहरू देखिदै आएका छन् । केही पुराना समस्याहरू समाधान भए केही नयाँ ढङ्गले देखा परेका छन् । हिजोको भन्दा आजका भिन्न किसिमका होलान्, आजका भन्दा भोलिका । नेपाली भाषामा भाषाविज्ञहरूको जुँगाको लडाईका कारण पनि प्रशस्त मात्रामा समस्या देखिएको पाइन्छ । यहा नेपाली भाषा शिक्षणका चुनौतिहरूलाई छोटोमा चर्चा गर्ने जमर्को गरिएको छ ।
१. स्तरीय नेपाली भाषा सिकाईका चुनौति:
नेपाल बहुभाषी, बहुजाती र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ नेपाली भाषा शिक्षणका क्रममा २ किसिमका विद्यार्थीहरूको बाहुल्यता पाइन्छ । पहिलो: मातृभाषाका रुपमा नेपाली भएकाहरू र दोस्रो: नेपाली भाषालाईक दोस्रो भाषाको रुपमा प्रयोग गर्ने विद्यार्थीहरू । त्यसैले यहाँ चुनौतीपूर्ण कुरा दुबै खालका विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर शिक्षण गर्नु हो । दोस्र्रो भाषाका रुपमा नेपाली प्रयोग गर्नेहरूका लागि नेपाली भाषाका ध्वनी, वर्ण उच्चारण तथा वर्णविन्यासमा कठिनाई आइपर्छ । नेपाली भाषाका विभिन्न भेद, उप–भेदको पृष्ठभूमिबाट आएका र बहुभाषिक पृष्ठभूमिबाट आएका विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर मौखिक तथा लिखित अभिव्यक्ति का निम्ति औपचारिक किसिमले शिष्ट र स्तरीय नेपाली भाषाको प्रयोगमा अभ्यस्त तुल्याउनु भाषा शिक्षणको लागि चुनौतिको विषय हो ।
२. भाषा पाठ्यपुस्तक विद्यार्थीहरूका लागि रुचीपरक नहुनु:
पाठ्यपुस्तकमा समावेश पाठहरू विद्यार्थीहरूका लागि रुचीपरक र जिज्ञासु बनाउने खालको हुनुपर्छ । भाषा पाठ्यक्रम विद्यार्थीहरूलाई नयाँ सीप सिकाउने खालको हुनुपर्छ । विद्यार्थीहरूको मनोवैज्ञानिक पक्षमा ध्यान नदिई पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरिनु तथा विद्यार्थीहरूलाई नेपाली भाषा पठनपाठनमा जागरुकता ल्याउन नसक्नु पनि नेपाली भाषा शिक्षणको चुनौति मान्न सकिन्छ ।
३. दक्ष र तालिमप्राप्त शिक्षकको अभाव:
भाषा शिक्षणका लागि पाठ्यक्रम पाठ्यपुस्तक मात्र उपयुक्त भएर हुदैन । शिक्षण गर्ने शिक्षक पनि योग्य, दक्ष र तालिमप्राप्त हुनु जरुरी छ । शिक्षकका लागि बेलाबेलामा तालिमको आवश्यकता देखिन्छ । तालिमप्राप्त शिक्षकले भाषा शिक्षण कसरी गर्ने तथा विभिन्न शैली, विधि, सामाग्री आदिको प्रयोग गर्ने क्षमतामा दक्षता राख्दछ । तसर्थ, नेपाली भाषा शिक्षणका लागि दक्ष, योग्य र तालिमप्राप्त शिक्षकको आवश्यकता पर्दछ ।
४. नेपाली विषयप्रतिको नकारात्मक धाराणा:
नेपाली विषय सजिलो विषय हो । यसका लागि जस्तो शिक्षक भए पनि हुन्छ । जसरी शिक्षण गरे पनि हुन्छ भन्ने सोचाई विद्यालय प्रशासनमा रहेको पाइन्छ । अझ सामुदायिक भन्दा संस्थागत विद्यालयमा यस्तो समस्या चरम रुपमा पाइने गरेको छ । त्यस्तै विद्यार्थीहरू पनि जाबो नेपाली भन्ने धारणाबाट मुक्त छैनन् । त्यस्तै विद्यालयमा नेपाली विषय पढाउने शिक्षकको उचित मूल्याङ्कन भएको पाइदैन । नेपाली विषय पढाउने भनेको अरु विषय पढाउन नसकेका शिक्षकहरूले हो भन्ने मान्यताबाट मुक्त हुन जरुरी छ । साथै नेपाली मूल विषय भएका र योग्यता प्राप्त शिक्षकहरूलाई मात्र शिक्षण अनुमति दिन नसक्नु पनि प्रमूख चुनौति रहेको मान्न सकिन्छ ।
५. शिक्षण विधि र शैक्षणिक सामाग्री निर्माणसँग सम्बन्धित चुनौतिहरू:
नेपाली विषय पढाउनको लागि त के तयारी गर्नुपर्छ र ? यसको लागि शैक्षिक सामाग्री पनि चाहिन्न । पाठयोजनाको पनि आवश्यकता पर्दैन भन्ने चिन्तन शिक्षकहरूमा व्याप्त रहेको छ । नेपाली भाषा शिक्षणका सामाग्रीहरूको अभाव रहेको नेपाली परिवेशमा शिक्षकहरूमा रहेको अल्छिपना, हेलचेक्र्याई एवम् वेवास्ताका कारणले पनि नेपाली भाषा शिक्षणलाई प्रभावकारी बनाउन सकिएको छैन ।
माथि उल्लेखित चुनौतिहरू त केबल प्रतिनीधि मात्र हुन् । यी र यस्ता धेरै चुनौतिहरू नेपाली भाषा शिक्षणका क्रममा देखा पर्दछन् । भाषा शिक्षणका क्रममा देखिएका चुनौतिहरूको निराकरणका लागि शिक्षासँग सम्बन्धित विज्ञ, भाषाविद, सरकारी तथा गैरसरकारी निकाय, शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अभिभावक सबैको ध्यानाकर्षण भई उक्त समस्याको समाधानको लागि विभिन्न चरणहरूमा छलफलको आवश्यकता रहेको छ ।
नेपाली भाषा पाठ्यक्रम र पाठ्यपुस्तक विद्यार्थीहरूका लागि रुचीपूर्ण र सीपमूलक हुनुपर्ने देखिन्छ । शिक्षकहरू पनि आफैमा पूर्ण रुपले तयारी भई शिक्षण गर्न सक्छु भन्ने आत्मविश्वासका साथ शिक्षण पेसामा लाग्न जरुरी छ । विद्यार्थी तथा शिक्षकहरूको भूमिका फराकिलो र मनोबल उच्च बनाउने तर्फ जोड दिनु जरुरी छ । विद्यार्थी तथा अभिभावकहरूमा पनि नेपाली विषय सामान्य होइन यसको महत्त्व धेरै छ, भन्ने धारणाको विकास गर्न जरुरी छ । अनि मात्र स्तरीय नेपाली भाषा शिक्षण गर्न सम्भव छ । अनि मात्र विद्यार्थीहरूले ‘रवि’ शब्दको अर्थ र बुबाको पेसाको प्रश्नोत्तर भाषिक शुद्धताको हिसाबले सहजै दिन सक्छन् ।
(लेखकः देवकोटा नेपालीभाषाको शिक्षक हुनुहुन्छ ।)