पत्रकार महासंघको नेतृत्व श्रमजीविले गर्ने भए पो ?

Avatar photo
Dhadingpost
बुधबार, माघ १२, २०७३

Hari Panta
जसले नेतृत्व गरेपनि संचार संस्थामा काम गर्ने पत्रकारको पीडा के छ भनेर सोध्ने काम अहिलेसम्म भएको छैन कसैबाट ।

अब पनि के को आश गर्नु ? महासंघको नेतृत्व श्रमजीविले गर्ने भए पो । महासंघको विधानमा श्रमजीवि पत्रकारको हितमा काम गर्नुपर्छ, पत्रकारको पीडा बुझ्नुपर्छ भन्ने लेखेकै छै न कि क्या हो ? विभिन्न संचार संस्थाको अनुगमन गरिएको समाचार आउँछ मिडियामा । अनुगमन मिडियामा समाचार बनाउन मात्र गरिन्छ कि क्या हो ? खै त ११ वर्ष पत्रकारिता गर्दा १ वचन कसैले तेरो समस्या के छ ? भनेर सोधेको छैन ।

हामीलाई भर्याङ बनाएर माथि उक्लने अनि हाम्रा निम्ति सिन्को नभाच्नेहरु धेरै भए र अब पनि त्यही त होला । मेरै कुरा गर्ने हो भने २३ दिन प्रहरी हिरासत, करिब ७ वर्ष मुद्धा मामिला खेप्नुपर्यो यहि पत्रकारितामा । जुन मेरा लागि आवश्यक र उपयुक्त थिएन । यस विषयमा अदालतले त न्याय दियो तर पत्रकारको संस्था भनिने महासंघले के गर्यो ? कम्तिमा सत्यतथ्य छानविन गरि दोषी पत्ता लगाउन त सक्थ्यो । त्यति पनि गरेन ।

अदालतको तारिक बुझ्न ५० पटक भन्दा बढी काठमाडौं पुगियो, त्यसको खर्च सम्बन्धित संचार संस्थाले दियो कि दिएन ? एक पटक पनि सोध्ने काम भयो ? त्यति पनि भएन । यस्ता कुरामा एक वचन पनि सोध्न नसक्ने किन हाम्रो नेता बन्ने र हामीले नेता मानिदिनुपर्ने ? हामीमाथि नै राजनीति गर्न नेता बन्ने ? भो चाँहिदैन यस्ता नेता । म मात्र होइन यस्ता पीडा संचार संस्थाका साहु महाजन बाहेक सबै पत्रकारलाई छ । अबको नेतृत्व साहु महाजन होइन, श्रमजीविले गर्नुपर्छ । मेरो लगायत सबै पत्रकारको समस्या सुन्नुपर्छ र बुझ्नुपर्छ महासंघको नेतृत्व गर्छु भन्नेले ।