मन ज्यादै छोयो

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ३, २०७६

Tanka Silwal

एकदिन कक्षा ९ मा पढाउन भनेर गएको थिएँ, एक्कासी मनमा एउटा विचार आयो । कति दिन यी विदयार्थीहरुलाई अरूको कुरा पढाउनु । आज यिनीहरुकै कुरा पढछु भन्ने विचार आयो मनमा र मैले विदयार्थीहरुलाई भनें’ आज तिमीहरू लाई किताब पढाउदिन बरु उल्टै तिमीहरूले लेखेको किताब पढ्न मन छ ।

यति सुनेर विद्यार्थीहरु छक्क परे ।’ के किताब सर, कस्तो किताब सर ? हामीले त आजसम्म कुनै किताब लेखेकै छैन । त्यसपछि मैले उनीहरुलाई भनें ” लौ , त्यसो भए आज तिमीहरू किताब लेख्न सुरु गर्ने” । अनि मैले उनीहरूलाई भनिदिएँ की ” आजको लेखन कार्य केवल तिमीहरूको आफ्नै बारेमा हुनेछ । त्यसैले तिमीहरूको आफ्नो पारिवारिक स्थिति को बारेमा लेख ।

धेरैले धेरै कुरा लेखे । त्यसमध्ये एउटाले लेखेको कुराले मन ज्यादै छोयो । लेख लामो थियो तर सार यस्तो थियो । उनीहरूको परिवारमा आमा , बुबा , दाई र उनी । उनीहरू गरीव थिए । जमीन एक रोपनी मात्र । आमा बुबा को पाखुरी बाहेक कमाइमा सघाउने एक हल गोरु थिए ।

एकदिन उनकी आमा गोठालो गएकी थिइन् । एक्कासी ठूलो भिरको नजिकै गोरूहरु जुध्न थाले । जुध्दै जाँदा दुवै गोरु भिर बाट लडेर ठ हरै भए । बुवाको डरले आमा पनि त्यही भिरबाट पछ्यौरीले टाउको बेरेर हामफालेर मरीन रे । उनीलाई भरे आमा खोज्दा मामाघर गएको भनिएको रे । पछि सम्म आमा मामाघर गएको कुरामा विश्वास गर्थिन् रे । त्यो पछि उनको बुबाले मन शान्त गर्न नसकी इंडिया हिँडेका थिए रे । लेखिका र उनको दाईलाई काकाको घरमा छोडेर ।

दैव कति निष्ठुर, इंडिया पुगेर कोइला खानीमा काम गर्दै जाँदा घर छोडेर गएको सात महिनामा उनी पनि एक दिन त्यही कोइला खानीमा मा पुरिएर मरेछन । यता यी कथाकार जम्मा जम्मी तीन वर्षको मात्र थिइन् रे । उनका दाजु भने आठ वर्षका । जे भए पनि काकाको घरमा हुर्कदै गए । दाईले औधी माया गर्थे रे । उनले लेख्ने क्रम मा भन्दै गएकी थिइन् , “काललाई साधुबाद छ । तैंले आफ्नो कर्तव्य पूरा गर्दा मेरो अधिकार लाई भुलिस । आमा लगिस, बुवा लगिस तर मेरो सबै सबै ठानेको मेरो दाईलाई एकै दिनको झाडावान्ता ले किन लगिस ?” यति पढिसकेपछि मेरा आँखा रसाएर आए । मुटु च्ल्न छोडे जस्तो भयो । उनी अझै अगाडि लेख्छिन् ” मेरो आमा त्यो दिन साँच्चै मामा घर गईदिएको भए ……..”

उनले त्यो कथाको अन्त्य यसरी गरेकी थिइन् , “मैले होमवर्क नगरेको दिन गाली नदिनु होला पैसा नहुँदा मात्र मा होमवर्क गर्न सक्दिन । मेरो कपडा हरहमेशा गनाउँछ कारण म सँग सधैं सधैं लुगा धुने साबुन हुन्न । मेरा खुट्टाहरू अभागी छन् त्यसैले कहिलेकाहीं चप्पल बिना खाली खुट्टा पनि हिँड दिन्छु तर मलाई बुझेर नहाँसी दिनु होला ।” यो पढी सके पछि पो याद आयो ” प्रत्येक विद्यार्थी आफैमा किताब हुँदोरहेछ, अनि त्यो किताव भित्रको कथा…..…..……!