
पृष्ठभूमि
धादिङ जिल्लाको गठन नेपालको स्थानीय निकायहरुको संरचनात्मक आधार जे थियो त्यसैलाई मानेर गरिएको भएपनि क्षेत्रफलको आयाम भने पञ्चायती राजनीतिका खेलाडीहरुको शक्तिको आडमा खुम्चँदै र फैलने क्रम निरन्तर भैरहेको इतिहासका अभिलेखहरुले बताउँछन् ।
कहिले यसको सीमा नुवाकोटको तारुका झिल्टुङ कटेर त्रिशुली नजिक पुगेको थियो र गोर्खातिर अठारसय खोलाको पहाडी भूगोल छिचोलेर तिब्बतको सीमातक पुगेको थियो । हाल यसको फैलावट उत्तर तिब्बतको सीमादेखि महाभारतका उच्च टाकुराहरुसम्म छ । महाभारतको लेकहुँदै तिब्बत छुने नेपालको एकमात्र पहाडी जिल्लाको परिचय सामान्य ज्ञानकोशहरुले धादिङलाई दिएका छन् ।
देशको मध्य भूगोलमा अवस्थित हुनु, राजधानीसँग जोडिनु,इतिहासदेखि वर्तमानसम्म पनि काठमाडौं जाने मूल बाटोमा पर्नुले पनि यहाँका केही एतिहासिक घटनाक्रमहरु बनाएका छन् र आगत भविष्यमा पनि बनिरहने छन् । यस जिल्लासँग जोडिएका अनन्त अलिखित इतिहासका फेहरिस्तहरु छन् त्यसलाई उप्काउने यस आलेखको मनसाय होइन । यसको नामकरण कसरी गरिएको हो त्यस सन्दर्भमा अनेक भ्रमहरु छन केही सुपठित वर्गले पनि भ्रम माथि भ्रममात्र थपेका छन् र अनुसन्धानात्मक ढङ्गबाट विश्लेषण नगरेकै कारण वस्तुगत यथार्थ आजसम्म गुमराहमा नै छ । आलेखभित्र धादिङको नामकरण कसरी भएको हो त्यसको चञ्चु प्रवेशः गर्नमात्र खोजिएको छ । तथ्यहरुलाई लेखकले अघिल्ला लेख र विचारहरुमा पनि अभिव्यक्त गरिसकेको स्मरण गराउन चाहन्छु ।
धादिङ राजधानीको समीप छ र यसले केन्द्रको दैनिकी धानिरहेको छ । दैनिक खाद्य श्रृङ्खलामा मात्रै नभएर जनशक्ति आपूर्तिको स्रोत पनि यो जिल्ला रहिआएको छ । आदिकालदेखि वर्तमानसम्म नदी दोहन गरेर आएका ढुङ्गा गिट्टी बालुवा र नदी किनारामा हुर्किएका जङ्गलका काठपातहरुको गन्तब्य राजधानीको नभेटिने भोक बनिरह्यो । हिजो दरबारका लागि सुसारेदेखि आज व्यापारी, व्यवसायी, कथित सुपठित कर्मचारी, लेखक, पत्रकार सबै सबैलाई नछिन्ने साङ्लाले बाँध्न र तिनका रस चुस्न सिपालु त्यही खाल्टो जसको यो क्ष्ॉधा अझै शान्त भएको छैन र निर्माणको तिर्खा मेटिएको छैन । थाहा छैन काठमाण्डौंले यहाँका प्राकृतिक स्रोत साधनको उपयोग कहिलेसम्म गरिरहन्छ ।
बिचरा धादिङ काठमाडौंको नमेटिने राक्षसी निर्माणको भोक आफ्नो शरीर काटेर शान्त गरिरहन्छ तर यहाँको गरिबी बेरोजगारी,अशिक्षा,रोग भोक र अन्यायका सीमान्त पीडाग्नी शमनका लागि असहाय अनुहार काठमाडौंतर्फ आशालु भावले टुलुटुलु हेरिरहन्छ आफ्नो प्रिय राजधानी मानेर तर राजधानीले सधै अर्काले अनुदानमा दिएको जडौरी मोटरका दुषित अपान वायु धादिङको छातीमा फ्याँकेर कुदिरहन्छ अविराम । शायद यो गति आदिदेखि अनन्तसम्म यस्तै रहिरन्छ पुर्खाको विरासतजस्तै । आजपनि नुनदेखि सुनसम्म अर्काको भर पर्ने काठमाडौंका अनेक आवश्यकताहरु धादिङले धानिदिएकै छ । देशका अन्य भूगोलका लागि यहाँको छाती चिरेर बनाएको बाटोबाट विकास जोगिमाराको सीमा सजिलै कट्छ, तर त्रिशूली पुल तर्न निकै असजिलो मान्छ । अनुभवका यस्तै यस्तै गथासाहरुका थुप्रा छन् जसलाई केलाएर साध्य पनि छैन ।
तरोताजा र मिठा तरकारीका लागि धादिङ,सस्तादेखि विशेषज्ञसम्मका जनशक्तिका लागि धादिङ,निर्माणका ढुङ्गा गिट्टीका लागि धादिङ, आदि हरेक क्षेत्रमा देश र समाज निर्माणका लागि यहाँका जनशक्तिले राजधानी बसेर पद प्रतिष्ठा र योगदान सबै दिएकैछन् तर यसका लागि प्राप्ति रित्तो हातमात्र भएको छ । राजधानीका लागि बेचिएका सन्तानहरुले आमाका लागि प्यास र तीर्खाबाहेक कमैले तृप्ति र सन्तुष्टि दिने रहेछन् । त्यसैको एक नमूना न हो यसको नामकरणको पटाक्षेप आजसम्म अन्धकार अन्यौल र भ्रमको पर्दाभित्रै रहनु पनि ।
धादिङ शब्द संस्कृत भाषाको धा र दिक् शब्दको संयोजनले बनेको हो । यसको शाब्दिक अर्थ राख्नु, पक्डनु, धारण गर्नु हो र दिशाको अर्थ देवता हो अर्थात् दिशालाई पक्डने धारण गर्ने र यसकै लुगा पहिरिने ईश्वर देवाधिदेव महादेव हो । उनै दिगम्वर अर्थात् दिशाकै वस्त्र धाारण गर्ने देवता अर्थात् महादेवको नामबाट यस जिल्लाको नामकरण गरिएको हो । महादेवको अर्को नाम दिगम्बर पनि हो । यसो भन्नु दिक् अर्थात् दिशा नै लुगा भनिएको हो । महादेव दिगम्बर हुन् । उनको लुगा नै सबै दिशा, सबै लोक हो । यसैले यस जिल्लाको नाम शिव अर्थात् महादेवको नामबाट भएको हो । सार्थकमा धादिङ शिवलोक हो भन्न सकिन्छ । धादिङ अर्थात् शिवलोक जहाँ कर्णेश्वर महादेव,गुप्तेश्वर महादेव, भैरव आदि शिवालयहरु छन् । यसो भन्नुमा पनि केही शास्त्रीय प्रमाणहरु छन् । केही वस्तुगत यथार्थहरु छन् र भरलाग्दा आधारहरु छन् ।
धादिङ पुरानो सदरमुकाम रहेको सानो खाल्टो जस्तो उपत्यकाको नाम हो । जिल्लाको राजनैतिक विभाजन हुनु पूर्व बेनीघाटमा क्षेत्र वरपरका केही प्रशासनिक एकाइहरु थिए । त्यहाँ अपायक भएपछि उक्त एकाइहरु धादिङ -सुकौरा बजार) सारियो । धादिङभित्र नेवारपानी, सुनौला बजार, कुसुण्डे,मान्के,नवलपुर,अँधेरी खोला,मैदान,बिलाउने डाँडा र काफलछाप लगायतका बस्तीहरु रहेका छन् । त्यसको केन्द्रस्थलमा नेवारपानी पर्दछ र त्यसको पनि मुटुमा कर्णेश्वर महादेवको मन्दिर रहेको छ । त्यस मन्दिरमा अनादिकालदेखि अनन्त जलधारा गरिन्थ्यो र बेलाबेलामा महारुद्री पाठ हुन्थ्यो ।
यसको चर्चा हिमवत्खण्ड लगायत विभिन्न वैदिक वाङ्मयहरुमा अनेक नामले भएको मानिन्छ तर प्रामाणिक अनुसन्धान भने हुन बाँकि छ । यस स्थलमा अनादिकालदेखि शिक्षित सुपठित संस्कृतज्ञ दाहाल, अधिकारी, रिजाल,आदि ब्राम्हण समुदायको वस्ती रहिआएको थियो । तिनैका पुर्खाहरुले उक्त मन्दिर स्थापना र जगेर्ना गरिआएका हुन् । उक्त मन्दिरमा विभिन्न पर्व र उत्सवहरुमा होम,आहुति,जलधारा भैरहन्थे । नेपालका धेरै धार्मिक क्षेत्रहरुको नामकरणमा संस्कृत पृष्ठभूमि छ र त्यसको आधारभूमिबाट हेर्दा यिनै शिवको नामसँग जोडेर जिल्लाको नामकरण गरिएको भन्न सकिने पर्याप्त आधार छ ।
जिल्ला वा स्थानहरुको नामकरणको जिम्मा सरकारी पठित पण्डितहरुकै जिम्मामा थियो हिजो र आज पनि । त्यतिबेला जतिखेर धादिङको नाम आविस्कार भयो संस्कृत बाहेक अङ्ग्रेजी,मगर, चेपाङ ,तामाङ आदि भाषामा लिपी र अक्षरहरुको सायद खोजी नै सुरुभएको थिएन ।
प्रशासनमा पनि संस्कृत भाषाका शब्दहरु प्रयोगमा थियो र प्रशासकहरु संस्कृतनिष्ठ थिए भन्ने विषयमा दुईमत हुनै सक्दैन । त्यसै प्रमाणका आधारमा पनि धादिङको नामकरण धादिक्बाट अप्रभंश हुँदै धादिङ भएको हो भन्न सकिन्छ । यसको नामकरणसँग मगर भाषाको पनि साइनो जोडिएको छ ।
धादिङको केन्द्रस्थलमा स्थापित कर्णेश्वर महादेवको मन्दिरमा प्रारम्भमा बाराणसीबाट आएका पण्डितहरुले अखण्ड रुद्रयाग गर्दथे र त्यस ठाउँमा जलहरीबाट अविराम शिवलिङ्गमा जलधारा झरिरहन्थ्यो । मगरभाषामा ध ध्वनि छैन र त्यसको स्थानमा ढ ध्वनि उच्चारण गरिन्छ । मगर भाषामा अग्लो स्थानबाट खसेको झरना वा धारालाई ढारा वा ढाडिङ भनिन्छ । त्यहि ढाडिङ कालान्तरमा धादिङ बन्न पुगेको भन्ने ठाउँ पनि छ ।
त्यस आसपासमा मगर वस्ती पनि बाक्लै छ । नवलपुर जहाँ आजसम्म निकै बाक्लो मगर बसोवास छ ,त्यहाँका मगरहरु आजपनि राम्रै मगर भाषा प्रयोग गर्छन् र त्यहाँबाट सुकौरा खोलाको ढाडिङ अर्थात् झरना कुम्पुरसम्म निकै लामो आकार बनाएर खसेको पनि छ । यो संयोगलाई नामकरणसँग जोड्न त सकिन्छ तर यो भन्दा संस्कृत भाषाको आधार र तर्क निकै बलियो र पुष्ट छ । फेरि मगर भाषीहरुले पनि धादिक् उच्चारणलाई धादिङ भन्ने गरेकाले नामकरण सहज भएको मान्न सकिने ठाउँ छ ।
तर्कहरुको बजारमा अलोचना, प्रत्यालोचनाका सन्दर्भहरु बेसाइरहनु पर्दैन । कतिपय ठाउँमा धादिङको नामकरणलाई चेपाङ्भाषासँग पनि जोडेर हेर्ने गरिएको छ तर त्यो भ्रम र बेतुकको आधारहीन संयोग मात्र हो चेपाङ् भाषामा धा शब्दले ज्वाला भन्ने अर्थ दिन्छ र दिङ् शब्दले देवता भन्ने अर्थ दिन्छ त्यसैले ज्वालाका देवताको नामबाट यस जिल्लाको नाम रहेको हो भन्ने तर्क पनि नआएको भने होइन तर यस तर्कमा कुनै सत्यता र प्रामाणिक आधार छैन किनकि नामकरण गरिने आधारका लागि चेपाङहरुको ज्वालामुखीसँगको सम्बन्ध हुनुपर्छ ।
न चेपाङहरु ज्वालामुखी देवताको दर्शन र पूजा गर्छन् न तिनसँग उक्त मन्दिरको कुनै साइनो वा सम्बन्ध नै छ । त्यस मन्दिर आसपास चेपाङ वस्ती पनि छैन । दोस्रो कुरा जुन धादिङ स्थलबाट जिल्लाको नामकरण भयो त्यहाँ ज्वाला देवताको मन्दिर पनि छैन र त्यो भाषा प्रयोग गर्ने चेपाङहरु पनि छैनन् । यो एक संयोगमात्र हो र संयोगलाई नामकरणको आधार मान्ने हो भने अनेक अमुक भाषासँग पनि यसको समध्वनि सम्बन्ध हुन सक्छ । त्यसलाई प्रमाण बनाएर हेरिनु हुँदैन । यसको नामकरणसँग संस्कृत भाषाको सम्बन्ध छ र त्यसै आधारमा हेर्दा यो जिल्ला शिवलोक मान्न सकिन्छ ।
प्रत्येक क्षेत्रको इतिहासले त्यहाँको जातीय पहिचान र गौरवगाथालाई चिनाएको हुन्छ । जुन जातिको बसोवास जहाँबाट आरम्भ हुन्छ त्यहाँ त्यो जातले आफ्नो इतिहास बनाएको हुन्छ । कालयात्राको दौरानमा मठ मन्दिर बिहार, चैत्य,गुम्बा सत्तल,पौवा, मरनघाट कुलायन जस्ता क्षेत्रहरु नृवंशका विकास परिचायकहरु हुन् । आफ्नो अस्तित्वका बिम्वहरु मानवले यी र यस्तै कलाकेन्द्रहरु बनाएर छोडेका हुन्छन् । निकै पछि मात्र मान्छेका वंशवृक्षका चित्रहरु ओडारमा, भित्तामा,कागजका पानाहरुमा देखिएका हुन् । पछिल्लो समय लेखकहरु तथा टीकाकारहरुले आफ्ना ग्रन्थहरुका पृष्ठहरुमा यस्ता बंशावलीहरु कोरेर राखेका पाइएका छन् । सभ्यताका आदिकालीन अवशेषहरु मानवनिर्मित तिनै मठ मन्दिर तथा सत्तल,पौवा, गुफाचित्र,ग्रन्थचित्र,संस्कृति तथा परम्पराका अवशेष र झलकहरुको अनुशीलन तथा उत्खननबाट अनुमान गर्न सकिन्छ र तिनीहरुलाई नै प्रमाणका रुपमा पेश गर्न सकिन्छ । प्रस्तुत अनुसन्धानमा धादिङको अवस्थिति,एतिहासिकता र नामकरणका वस्तुताहरुलाई यस्तै पृष्ठभूमि र लिखित तथ्यहरुबाट खोजिएको छ ।
धादिङको धरा हिमाल,पहाड र तराइको सेतु जस्तै छ । तराइबाट हिमाल उक्लन वा हिमालबाट तराई जोड्ने मार्ग धादिङ बनेको छ । यसको उपस्थिति र संरचनात्मक बनोट देशको मध्यमुटुको स्पन्दित आवाज जस्तै छ । हिमाली क्षेत्रलाई बींड मानेर हेर्दा यसको आकार खन्ने हतियार गैची -पिक) प्रकृतिको छ । १९२४.९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यसको अवस्थिति विश्वमानचित्रमा २७.४० देखि २८.१७ उत्तरी अक्षांश तथा ८४.०५ पूर्वी देशान्तरदेखि ८५.५० पूर्वी देशान्तरसम्म फैलिएको छ । राजनैतिक विभाजनको क्रममा यसका सिमाले उत्तरतिर चिनको तिब्बत तथा रसुवा जिल्लाका केहीभागहरु छोएका छन् भने दक्षिणतर्फ मकवानपुर तथा चितवन जिल्ला रहेका छन् ।यसको पूर्वी भेगमा काठमाण्डौं रसुवा र नुवाकोट जिल्ला पर्दछ । यसको पुरानो सदरमुकाम धादिङ बजार हो जसको नामबाट नै यस जिल्लाको नामकरण गरिएको हो । पुरानो सदरमुकाम तत्कालीन सुनौला बजार गा वि स अन्र्तगत पर्दछ ।
यस जिल्लाको अग्लो भूभाग पाविल हिमालको चुचुरो हो जसको उच्च शिखर ७११० मिटर उचाइमा रहेको छ र सबै भन्दा होचो भूमि जोगिमारा भन्दा तल रहेको त्रिशूली किनार ३०० मिटर रहेको छ । यहाँ सिद्दलेक, भैरवी चुचुरो, जुरेथुम,शिंल्हादेवी, लगायत २५० भन्दा ज्यादा उच्च पर्यटकीय टाकुराहरु रहेका छन् ।
धादिङलाई अनेक गुफाहरुको जिल्ला पनि भन्न सकिन्छ ।यहाँ बसाहाको चमेरे गुफा, स्यादुल गुफा, सिद्दगुफा, मुक्तिनाथ गुफा श्रृङ्गी गुफा,गुप्तेश्वर गुफा लगायत ५० भन्दा ज्यादा चर्चित गुफाहरु रहेका छन् र यसमध्ये धेरैजसोमा सांस्कृतिक र एतिहासिक महत्व रहेका छन् ।
एतिहासिक कालखण्डमा धादिङ
लेख्य इतिहासका तथ्यहरु भेटिएपछि र लेख्य नभएपनि प्रामाणिक आधारहरु भेटिन थालेपछिको कालखण्ड नै एतिहासिक समय हो । नेपालको एतिहासिक समयको रुपमा किराँतकालीन राज्यकालदेखि मानिएको छ भने लेख्य इतिहास लिच्छवीकालीन समयदेखि पाइएको छ । धादिङको एतिहासिक समयमा छुट्टै प्रकृतिका फरक घटनाहरु भएका छैनन् तर वि.सं ७२७ मा नरेन्द्रदेवले चिनियाँ सम्राट स्रङचङ गम्पोको सहयोगमा गुमेको पैतिृक राज्य फिर्ता गरेपछि नेपालको विशाल अखण्ड स्वरुप बनाएको पाइएको छ । त्यतिबेला धादिङ स्वतः अखण्ड नेपालभित्रै थियो भन्न सकिन्छ । वि.सं ११२६मा राजा शंकरदेवको पालामा नेपाल राज्यको बिस्तार लमजुङसम्म पुगेको प्रमाण लमजुङमा प्राप्त अभिलेखहरुमा पाइएको छ र खाल्डोसम्म जाने सेनाहरु लामिडाँडा रानीपौवा हुँदै जान्थे । बाटोमा पर्ने प्रशासनिक र सामरिक महत्वको अखडा भएकैले यो स्वतः केन्द्रीय प्रशासनिक निकायमै रहन्थ्यो ।
नेपालमा उत्तरी सीमाक्षेत्रबाट तिब्बतीय संस्कृति र प्रभाव पूर्वमध्यकालमा प्रबेश भएको हो । नेपालको हिमाली भेग तथा तिब्बतमा गोलुक सम्प्रदायको प्रचारपूर्व प्रकृतिपुजक तथा झारफुकमा विश्वास गर्ने बोन्पो धर्म अस्तित्वमा थियो । यस सम्प्रदायमा आधारलिनेहरुले दीपङ्कर बुद्धलाई मानेको देखिन्छ तर त्यसमा पनि आजसम्म आइपुग्दा अनेक संस्कृति खिचडीपन देखिइसकेको छ । बोन्पपो समुदायले आफ्नो इष्ट देव देवी भैरव भैरवीलाई मान्ने गरेका पाइन्छ । धादिङको उत्तरी क्षेत्रमा आजसम्म पनि व्यापक झारफुक र तन्त्रविद्यामा विश्वास गर्नेहरु छन् ।
धादिङको सेर्तुङ कटेर तिब्बतमा तन्त्रविद्या सिक्नजाने प्रचलन पुरानो हो यद्यपि आजकाल यतै रहेका धामी झाक्रीहरुसँगै लिने चलन छ । तन्त्रसिद्धका लागि सेर्तुङ,झार्लाङ र सत्यदेवीको माथि रहेको शिल्हादेवी -भैरवी ) को स्थापना तिब्बतीय धर्मगुरुहरुकै सहयोगमा मध्यकालमै भएको अनुमान गरिएको छ । अहिले धादिङमा प्रचलित तन्त्रमन्त्र गर्नेहरुको भेषभुषा, तन्त्रमन्त्रहरु र त्यसमा प्रयोग भएका भाषाहरु तिब्बतीय प्राचीन बोन्पोहरुसँग मेल खान्छ ।
त्यतिबेला सेर्तुङ घाँटी-७१६३ मि) कटेर तथा गोर्खाको घाँटी कटेर पनि लामाविद्या,तन्त्रमन्त्र विद्या,वानविद्या, यन्त्रविद्या, हेबज्रतन्त्र-अशिना भगाउने र चट्याङ तर्काउने ) सिक्न तिब्बत आउजाउको प्रचलन थियो नै । उनीहरुको लेनदेन,विवाह व्यापार पनि तिब्बतमा हुने गर्दथ्यो । तिब्बतीय लामाहरुमा यहाँका मान्छेहरुको ठूलो श्रद्धा थियो र तिब्बतीयनहरु प्नि मन्त्रसिद्धिका लागि सिल्हादेवीसम्म आउने जाने गर्दथे । यसरी तिब्बती संस्कृतिको यहाँ प्रचार थियो । निकै पछिसम्म नयाँ झाक्रीहरु तन्त्रसिद्धका लागि सुनौला बजारको भैरवी र गुप्तेश्वरसम्म आउने गरेका थिए । हाल फरक धर्म र सस्कृतिको व्यापारले त्यो क्रम रोकिएको छ । हाल उत्तरी धादिङका जनहरुको आफ्नो पुरानो संस्ककृति लोपोन्मुख छ र पूर्वजहरुको पहिचानविहीन अवस्था छ ।
मल्लमालमा भक्तपुरे राजा यक्षमल्ले आफ्नो राज्य बिस्तार गरेर गोरखासम्म पु्ययाको अवस्थामा धादिङ स्वतः भक्तपर अधीनस्थ थियो भन्न सकिन्छ । कर्णाली प्रदेशका राजा जितारी मल्लले आफ्नो सिमाना त्रिशूली नदी वारिसम्म बिस्तार गरेको अवस्थामा वि.सं १५२४ मा यक्ष मल्लसँग युद्ध परेको र पुनःकाठमाण्डौं अधीनस्थ भएको थियो । त्यतिबेला धादिङ काठमाडौ अन्तर्गत नै थियो । यसको अलग पहिचान र अस्तित्व थिएन ।
एकीकरणकालमा धादिङ अलग अलग टुक्रै राज्यहरुको अधीनस्थ थियो । जीवनपुर केवलपुर लगायत क्षेत्रहरु काठमाडौं अन्तर्गत थिए भने त्रिशूली पारिका चितवनसँग सीमा जोरिएका केही क्षेत्रहरु मकवानपुरे सेन राजाका कब्जामा थिए ।नौविसे आसपासका क्षेत्रहरु ललितपुरले शासन गरेको बुझिन्छ । मैदी, खरी,सल्यान,बुढाथुम आदि क्षेत्रहरु गोरखाकै अधिनमा थिए ।ती क्षेत्रहरुमा द्रव्य शाह आगमन पूर्व बार्पाकमा केन्द्र रहेको खड्का राज्य -खस ) राजाहरुको अधीनमा थियो ।
वास्तवमा धादिङ भन्ने ठाउँ हाल सुनौला बजार क्षेत्रको सानो वस्ती मात्र थियो र त्यहाँ काठमाण्डौका मल्ल राजाले आफ्नो विश्वास पात्रलाई रजौटाका रुपमा पठाएका हुन्थे र तिनले कर उठाउने तथा गोरखाली राजाको सुराकको काम समेत गर्दथे । त्यहाँका ब्राम्हणहरु राज्यका हर्ताकर्ता थिए । तिनको दरवार नेवारपानी कर्णेश्वर मन्दिर आसपास रहेको प्रमाण उत्खनन्बाट राम शाहको पालामा भने तिनलाई लखटेर भैरवी किल्ला मजबुत बनाइ केही सेनाहरु समेत सुरक्षाकालागि राख्ने प्रचलन रहेको पाइन्छ । उनले नै रामकोट, धँुवाकोट, भैरवी कोट तथा मैदी कोटको निर्माण गराएका थिए । यहाँ प्रशासनिक एकाइहरु नभएका कारण ठाउँ ठाउँमा स–साना रजौटाहरुलाई केही सेना र कर उठाउने अधिकार दिएर राखेका हुन्थे । त्यस्ता रजौटाहरु दरवार नै बनाएर बसेका हुन्थे र मनलागि कर असुल उपर गर्दथे । कटुञ्जेमा घलेहरु, कुम्पुरमा घलेहरु, सेमजोङ्मा वाइवाहरु, यस्ता रजौटाहरु थिए । तिनका दरवारका भग्नाबशेषहरु अद्यपि छँदैछ ।
चर्को कर असुली र असुरक्षाकै कारण बेला बेला कर नतिर्ने र बिद्रोह गर्ने यहाँका नागरिकहरुको आदत थियो । त्यस्तो अवस्थामा यहाँ बेला बेला अधीनस्थ राज्यका सेनाहरु आएर उपद्रव मच्चाउने पनि गरेका थिए । कटुञ्जे, कुम्पुर क्षेत्रका यस्ता घटनाहरु इतिहासमा भेटिएका छन् । मकवानपुर, गोरखा ,काठमाडौं क्षेत्रको तानातानीमा परेकाले इतिहासकालमा यहाँका जनतामा शान्ति थिएन ।
एकीकरण कालमा धादिङ गोरखाकै साथमा थियो ।त्यतिबेलै पृथ्वीनाराण शाहको व्रतबन्ध मैदीकोटमा ल्याएर गरिएको थियो । शाह राजाहरुको वायु गुठी ज्यामरुङ्मै निकै पहिला देखि थियो र त्यहाँका पण्डितहरुको रेखदेखमा थियो । गोरखा दरवारदेखि नै दरबारीयाहरुको धामी काम गर्नेहरुलाई ज्यामरुङमै विर्ता दिएर बसोवास गराइएको छ । धामीहरुको बिर्तामा बसेकाहरु नै अहिलेका धमलाहरु हुन् ।
इतिहासमा धादिङका थुप्रै थुमहरुमा कतै लामाहरु -घले)का राज्य थिए , कतै गुरुङ-घलेहरु)का दरबारहरु थिए र कतै नेवार , मगर, व्राम्हणहरुको पनि राज्य थियो । अहिले उत्खनन् गर्दा यस्ता अवशेष र त्यससँग जोडिएका किंवदन्ती, जनश्रुतिहरु बग्रेल्ती छन् ।
धादिङ्को सुदुर उत्तरी भेगमा लामाहरुले धार्मिक राज्य चलाएका थिए । झार्लाङदेखि उत्तरतिर बुध्द -रिम्पोछें) धार्मिक परम्परा अनुसार लामा राज्य थियो । उनीहरुको आफ्नै सेना, मुद्रा,गुम्बा शिक्षा पद्दति, प्रशासनिक निकायहरु थिए । उनीहरु सिंल्हा घाटी ,हाँ हाँखर्क -पाविल नजिकै) हुँदै तिब्बतसँग ब्यापार, संस्कृति र परम्पराको समेत लेनदेन थियो । त्यतिबेला गोरखा राज्यको क्षेत्र हालको ज्वालामुखी मैधीँकोट, भैरवीकोट, धुँवाकोट, रामकोटमा गोर्खा सेनाको नियमित गस्ती हुन्थ्यो । त्यही डरले सानो राज्य हिजोको -गणेश हिमाल क्षेत्र) ल्हासाङ्कर्पो -हालको रुवीभ्याली)को लेनदेन, बन्द ब्यापार तल्लो क्षेत्रसँग थिएन । जनस्तरको सम्बन्धको कुरा बेग्लै रह्यो ।
उतिबेलाको लामा राज्यको दरबार हालको सेर्तुङको थुम्कामा थियो । अहिले पनि उक्त दरबारको क्षेत्रलाई संरक्षण गरेर गुम्बाको रुपमा राखिएको छ । यद्यपि पुरानै अवस्थामा फर्काउन धेरै काम गर्नै बाँकि छ । सेर्तुङमा रहेको राज्यको सीमा झार्लाङको फलाम तँगारोसम्म थियो । त्यहाँबाट निस्कने एकमात्र बाटो त्यही फलाम तँगारो हो जहाँ चौबिसै घण्टा लामा सेनाहरुको गस्ती थियो ।-त्यहाँको दरबारलाई अहिले पनि घले दरबार भनिन्छ, घले कुनै थर नभएर राजाको उपाधि हो ) कोही अपरिचितहरुलाई आदेशबाहेका प्रवेश निषेध थियो ।
फलाम जस्ता विशाल ढुङ्गाका फक्लेटाहरुबाट गेट बनाइएको थियो त्यो बाहेक पस्ने र निस्कने मूल बाटो थिएन । जसलाई एकीकरण अभियानका गोर्खाली सेनाले पटक पटकको प्रयासमा तोडेर भित्र पसेका थिए । लामालाई राज्य सिंहासनबाट हटाएका थिए । गोर्खाली सेनासँगको युध्दका क्रममा केही पटकको प्रयास घले,लामाहरुले विफल पारिदिएका थिए । उनीहरुले आफ्नो इलाका रक्षाका लागि तिब्बतीहरुसँग गुहारसमेत मागेका थिए । अन्तिम पटक गोर्खाली सेना र लामा तथा तिब्बतीयन सेनाबीचमा लिङ्जोमा निकै भयानक युध्द भयो । तिब्बतीयनहरुले गोर्खालीहरुसँग नसक्ने ठानेर मैदान छोडिदिए । उनीहरुले त्यही बसेर अनाक्रमण बारे सम्झौता भएको थियो । अहिले पनि त्यस सम्झौतालाई लिङजो सम्झौता भनिन्छ ।
सेर्तुङ भन्दा तल हालको खनियाबासको सत्यदेवी डाँडामा पनि अर्काथरी घले राजाहरुको शासन थियो । घले भनेको कुनै थर नभएर त्यतिबेलाका रजौटाहरुले धारण गरेको उपाधि नै हो । निश्चित क्षेत्रको प्रशासनिक प्रमुख नै घले हो । यसको तह मुखियाभन्दा ठूलो इलाकाहरुको प्रमुख हो । यसले कहिले स्वायत्त भएर काम गथ्र्यो भने कहिले कसैको अधीनस्थता स्वीकार गरेर छोटे राजाको रुपमा अस्तित्वमा रहन्थे,यस्ता छोटे राजाहरुको दरबारका भग्नावशेष सेम्जोङ,पतेनी, सुनौला बजार– नेवारपानी ।
पृथ्वी नारायण शाहले एकीकरण अभियान चलाएपछि उत्तरतिर गएका गोर्खाली सेनाहरुले यी थुम र थुमका राजौटाहरुलाई उन्मुलन गरे गराएका हुन् । कतिपय छोटे राजाहरुलाई पृथ्वीनारायण शाहको पाला अगाडि नै बलियाहरुले आफूमा मिलाइसकेका थिए । यस क्षेत्रमा प्रचलित घाटु, सोरठी र भजनभित्र भएका कथ्यहरुमा जुम्लाका शक्तिशाली खस राजाहरु मध्येका एक ज्योतिरेन्द्रको नाम जोडिएर आउँछ । उनी जुम्लाबाट हात्ती, घोडा, सेनाका लश्करसहित आएका, सल्यानटारमा बास बसेका, त्यहाँ बास बसेर राज्य बिस्तार गरेका र त्यसलाई मुकाम बनाएको कथा प्रसिध्द छ ।
यसलाई पुष्टि हुने तथ्य सेमजोङको उइवा राजाहरुको कथा र किंम्वदन्तीमा पनि सुन्न पाइन्छ । उइबा राजाहरुको कथ्यमा भनिएको छ कि सल्यानटारका राजाको गाई चर्न गएका बेला उइबा राजाका छोराहरुले जङ्गली गाई सम्झेर तीर प्रहार गरेर सिकार गरे, मारेर लगे, खाए । त्यसको बदला लिन ज्योतिरेन्द्र -ज्यार्ति)को सेनाले आक्रमण गरेर तिनलाई आफ्नो क्षेत्रमा मिलाए । तिनै उइबाहरुका सन्तान अहिलेका वाइबाहरु हुन् । त्यस कथ्यबाट के पुष्टि हुन्छ भने कुनै बेला धादिङ क्षेत्र खस साम्राज्यको अधीनस्थ पनि थियो ।
खाल्टे कालिकाको पनि आफ्नै एतिहासिक घटना छ । बझाङ्का राजा जयपृथ्वीबहादुरकी आमाले बच्चा नपाएको ठूलो पिरलो थियो । उनकी सौताको गर्भधारण भएको तनि महिना पुगेको बेला पिरले व्यथित हुँदै माइत काठमाडौं आएकी थिइन् । बाटामा पर्ने उक्त मन्दिरमा विश्राम गरेर तिमीमा यदि शक्ति छ भने माता मेरी सौता भन्दा म पहिले सुत्केरी हुन सकूँ र बझाङ्को राजपाठ मेरो सन्तानले पाओस् भन्ने भाकल गरिन् । नभन्दै उनको गर्भ रह्यो र सात महिनामा राजा जयपृथ्वीबहादुर जन्मिए । उनकै आमाले त्यहाँ मन्दिर बनाइन्, गुठीको व्यवस्था, नित्य पूजा पद्धतिको आरम्भ, गोरु जुधाउने प्रथाको आरम्भ सबै उनीले नै रीति बसाएकी हुन् भन्ने विषयको प्रमाण कालिका मन्दिरमा भएका ताम्रपत्र शिलापत्र तथा गुठीका कगजपत्रहरुबाट थाहा हुन्छ ।
यहाँका विशाल उर्वरशील फाँटहरु, मैदानहरु, बाक्ला वन जङ्गलहरुलाई काठमाडौंका शासकहरुको आँखा लागेकै थियो । जसरी आज नदीका बालुवा, खानी तथा घना वनमा त्यताका तस्करहरुको आँखा लागेको छ त्यस्तै त्यतिबेलैबाट यहाँका उब्जाउ जमिनलाई राणाहरु तिनका सेवक पुजारी आसेपासेहरुलाई बिर्ता दिइएको थियो शाहहरुले पनि त्यसै गरेका थिए । राजा महाराजाहरु,साहेबज्यू, गुरुज्यू, नायब, महारानी पटरानी भित्रियाहरुलाई अदुवा कोसेली लैजाने स्थल अदुवाबारी, बेसार कर लैजाने बेसारे, अमला लैजाने अमलाबारी जस्ता अनेक नाम यसै कारणले बसेको थियो ।
अन्त्यमा
यहाँका टोल, टार वस्ती तथा मठ, मन्दिर र गुम्बाहरुमा कुँदिएका चित्रहरु, निर्माणमा प्रयुक्त इट्टा र मुर्तीका शैलीले तिनीहरुको इतिहासको मौन साक्षित्व वरण गरिरहेका छन् । पुराना वस्ती, जातीय समुदाय, वंशावली, अवशेषहरुमा भेटिएका मुद्राहरुको परीक्षण गर्दै इतिहासका डोबहरु खोतल्दै जानु आवश्यक त छँदैछ । अझै पुराना पुस्तालाई हाम्रा उद्गमका जमीन सम्झाउन, इतिहासका गोरेटाहरु र पर्खाले हिंडेका पैताला देखाउँदै उनीहरुका पसिना र सुगन्ध सुँघाउनु आवश्यक भैसकेको छ । आफू उम्रेको धर्ती बिर्सनेहरु धेरैबेर उभिन सक्दैनन् । त्यसैले मैलदै, बिर्सदै गएका यी पदचापहरु उत्खनन गर्दै हाम्रो आफ्नोपन खोज्न र गर्व गर्न सिकाउनु पर्ने यस्ता अनेक सन्दर्भहरु छन् जसलाई पर्गेल्न ढिलो गर्नु हुन्न । छोपेका पर्दा खोल्दै,धुलो धुँवा र धमिलोबाट उझिल्याउनु आवश्यक भैसकेको छ । अर्को बिसौनामा कुनै तरिकाले भेट्नुपर्छ, सम्वाद गर्नुपर्छ । अहिलेलाई यत्ति नै ।
nabindahal1000@gmail.com
अक्षर आवास धादिङ
(यो लेख धादिङपोष्टको स्मारिका २०८३ धादिङ चिनारीबाट लिईएको हो)
