कांग्रेस धादिङ अधिवेशनमा अपाङ्गता क्लस्टरको दुरुपयोग भएको अश्विन लम्सालको आरोप

Avatar photo
Dhadingpost
अशोज १३, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा जारी अधिवेशनमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वको विषयलाई लिएर क्षेत्रीय प्रतिनिधि अश्विन लम्सालले आपत्ति जनाएका छन् ।

असोज १२ गते जारी प्रेस विज्ञप्तिमार्फत लम्सालले पार्टी विधानले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म अपाङ्गता भएका व्यक्तिहरूको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरे पनि निर्वाचन निर्देशिकाको प्रावधानको गलत प्रयोग भएको आरोप लगाएका छन् ।

उनका अनुसार, कुनै क्लस्टरमा सम्बन्धित क्लस्टरका क्रियाशील सदस्य प्रतिनिधि नभएमा उक्त पदलाई खुलातर्फ रूपान्तरण गरी सोही क्लस्टरबाट जोकोहीले प्रतिनिधित्व गर्न सक्ने व्यवस्थाको दुरुपयोग भएको छ । यही प्रावधानका कारण अपाङ्गता भएका व्यक्तिहरू क्रियाशील सदस्य रहेका वडाबाट समेत उनीहरूको प्रतिनिधित्व खोसिएको र अन्य व्यक्ति प्रतिनिधि बनेको लम्सालको दाबी छ ।

कतिपय वडामा अपाङ्गता नभएका व्यक्तिलाई अपाङ्गता भएका व्यक्तिका रूपमा प्रतिनिधि बनाइएको समेत पाइएको उनको आरोप छ । यस विषयमा जिल्लाको नेतृत्व तहसँग जिज्ञासा राख्दा विधानको मर्मअनुसार समावेशी पार्टी निर्माणमा ध्यान दिनुको सट्टा आफूअनुकूलका व्यक्तिलाई स्थापित गर्ने प्रवृत्ति देखिएको उनले बताएका छन् ।

लम्सालले आफू विगतदेखि नै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सशक्तीकरण र न्यायका लागि वकालत गर्दै आएको बताएका छन् । धादिङ कांग्रेसभित्र भएका यसअघिका कुनै पनि आन्तरिक निर्वाचनमा आफू पराजित नभएको उल्लेख गर्दै उनले यसपटक पनि निर्वाचनमा विजयी हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

तर अपाङ्गता भएका व्यक्तिहरूको अधिकारमाथि भएको भनिएको हस्तक्षेपको विरोधस्वरूप उनले नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशनमा सहभागी नहुने निर्णय गरेको बताएका छन् ।

‘पद र प्रतिनिधिको मोहभन्दा निष्ठा, इमानदारिता र अपाङ्गता भएका नागरिकप्रतिको उत्तरदायित्व सर्वोपरि रहेको’ लम्सालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

लम्साल नेपाली कांग्रेस नीलकण्ठ नगरपालिका–९ का क्षेत्रीय प्रतिनिधि हुन् ।