
नातिबाबु भट्ट
कोलोराडो, अमेरिका ।
नेपाल मण्डलका आदिवासी नेवा: समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको महान् पर्व इन्द्रजात्रा (येँया पुन्ही) अमेरिकाको कोलोराडोमा भव्यताका साथ सम्पन्न भएको छ ।
कोलोराडो नेवा: खलःको आयोजनामा आइतबार वेस्टमिन्स्टरस्थित नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’को प्राङ्गणमा पाँचौँ संस्करणको इन्द्रजात्रा आयोजना गरिएको हो ।
कार्यक्रममा नेवा: समुदायको मौलिक परम्पराअनुसार जीवित देवी कुमारी, गणेश र भैरवको पूजा गरी रथमा राखेर धिमेबाजाको तालमा लाखे र पुलुकिसीसहित नेपाली घरको प्राङ्गण परिक्रमा गराइएको थियो ।
इन्द्रजात्राका अवसरमा कुमारी जात्रा, लाखे नाच, पुलुकिसी, सांस्कृतिक झाँकी, नेवा: संगीत, समयबजी तथा मण्डला संगीत समूहको प्रस्तुति लगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
बोल्डर सिटीका मेयर Aaron Brockettको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोलोराडो नेवा: खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै इन्द्रजात्राको सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए ।
अध्यक्ष श्रेष्ठले कार्यक्रम सफल बनाउन अहोरात्र खटिएका नेवा: समुदायका सदस्य, सहयोगी संघसंस्था, दाता, स्वयंसेवक तथा कलाकारहरूलाई धन्यवाद दिएका थिए ।
प्रमुख अतिथि मेयर Brockett ले इन्द्रजात्रामा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै कला, संस्कृति, परम्परा तथा मौलिक मूल्य र मान्यताले भरिएको यस पर्वले नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्धलाई समेत बलियो बनाउने बताए । उनले बोल्डर र काठमाडौं सिस्टर सिटी रहेको उल्लेख गर्दै दुई वर्षअघि नेपाल भ्रमण गर्दाको अनुभवसमेत सुनाएका थिए ।
अतिशा र संझनाले सञ्चालन गरेको कार्यक्रममा धिमे नाच, लाखे नाच, नेवा: संस्कृति झल्काउने विभिन्न नृत्य तथा मण्डला ब्याण्डको सांगीतिक प्रस्तुति रहेको थियो। कार्यक्रममा सहभागीलाई प्रसादस्वरूप समयबजी वितरण गरिएको थियो ।
कार्यक्रममा सहभागी अधिकांश नेपालीहरू नेवारी परम्परागत पहिरनमा सजिएका थिए । उनीहरूको उपस्थितिले नेपाली घरको प्राङ्गणलाई काठमाडौंको बसन्तपुर डबलीजस्तै सांस्कृतिक वातावरण दिएको अनुभूति भएको आयोजकले जनाएको छ ।
इन्द्रजात्रा केवल एउटा उत्सव नभई नेवा: समुदायको इतिहास, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सांस्कृतिक सम्पदा हो । विविध संस्कृतिको संगम रहेको अमेरिकामा आफ्ना मौलिक परम्परा र संस्कृतिलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण मानिन्छन् ।
नेपाली सांस्कृतिक केन्द्रको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाली घर, ब्लड डोनर्स अफ अमेरिका लगायत विभिन्न संघसंस्था, इन्सुरेन्स कम्पनी, बैंक तथा व्यवसायका १५ भन्दा बढी स्टल राखिएका थिए ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा सहभागीहरूले सांस्कृतिक प्रस्तुतिसँगै समयबजीको स्वादसमेत लिएका थिए । कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।
इन्द्रजात्रा नेपालको प्राचीन तथा महत्वपूर्ण जात्रामध्ये एक हो। इतिहासकारहरूका अनुसार यसको सुरुवात करिब दशौँ शताब्दीमा काठमाडौंका संस्थापक राजा गुणकामदेवको शासनकालमा भएको मानिन्छ । काठमाडौं नगरको स्थापना र नगर सभ्यताको विकाससँगै इन्द्रजात्रा मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ ।
पौराणिक कथाअनुसार भगवान् इन्द्र आफ्नी आमाका लागि पारिजात फूल टिप्न पृथ्वीमा आएका बेला काठमाडौंका बासिन्दाले उनलाई चोर ठानेर बाँधेका थिए । पछि उनको वास्तविकता थाहा पाएपछि सम्मानपूर्वक मुक्त गरिएको घटनाको स्मरणमा इन्द्रजात्रा मनाउने परम्परा बसेको मानिन्छ ।
नेवा: समुदायले भाषा, साहित्य, मूर्तिकला, वास्तुकला, संगीत, जात्रा, गुठी प्रणाली तथा सामुदायिक जीवनशैलीमार्फत नेपालको सभ्यता निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । इन्द्रजात्रा यिनै सांस्कृतिक मूल्य, परम्परा र जीवनदर्शनको उत्सवका रूपमा मनाइन्छ ।
कोलोराडो नेवा: खलःले अमेरिकामा जन्मिएका तथा हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार र मौलिक पहिचानसँग जोड्ने उद्देश्यले प्रत्येक वर्ष इन्द्रजात्रा आयोजना गर्दै आएको जनाएको छ । संस्थाले नेवा: संस्कृति संरक्षण, शैक्षिक कार्यक्रम, सामुदायिक एकता तथा नेपाल र विश्व समुदायबीच सांस्कृतिक सम्बन्ध विस्तारका क्षेत्रमा समेत काम गर्दै आएको छ ।
अमेरिकाको कोलोराडोमा आयोजित पाँचौँ इन्द्रजात्राले नेपालको प्राचीन सभ्यता र सांस्कृतिक धरोहरलाई नयाँ पुस्तासम्म पुर्याउँदै आफ्ना जरा, पहिचान र संस्कृतिसँग जोड्ने साझा अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।
