कांग्रेस धादिङ क्षेत्र नं. २ को अधिवेशन आज, करिब १७०० मतदाता

Avatar photo
Dhadingpost
अशोज १२, २०८३

धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन आजदेखि सुरु हुँदैछ । क्षेत्र नं. २ अन्तर्गतका दुवै प्रदेशसभा क्षेत्रको अधिवेशनसमेत आज धादिङबेसीस्थित कभर्ड हल परिसरमा हुने भएको छ ।

नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाका अनुसार क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रम आज दिउँसो १ बजे कभर्ड हलमा हुनेछ । उद्घाटन कार्यक्रम सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइने र मतदान भने भोलि असोज १३ गते हुने उनले बताए ।

क्षेत्र नं. २ तथा यसअन्तर्गतका दुवै प्रदेशसभा क्षेत्रमा गरी प्रतिनिधि करिब १ हजार ७ सय जना मतदाता रहने बताइएको छ । क्षेत्र नं. २ मा ५१ जना वडा सभापति पदेन प्रतिनिधिका रूपमा रहनेछन् ।

यसैबीच, धादिङ क्षेत्र नं. २ अन्तर्गत खनियाबास गाउँपालिकाको अधिवेशन भने जिल्ला अधिवेशनपछि मात्र हुने भएको छ। क्षेत्र नं. २ अन्तर्गतका अन्य पालिकामा भने अधिवेशन सम्पन्न भइसकेको छ।

क्षेत्र नं. २ अन्तर्गत निर्वाचित पालिका सभापतिहरूमा नीलकण्ठ नगरपालिकामा धर्मराज भण्डारी , ज्वालामुखी गाउँपालिकामा राजु लोप्पा, नेत्रावती डबजोङ गाउँपालिकामा टेकजंग लामा, गंगाजमुनामा भरतबहादुर ढकाल, त्रिपुरासुन्दरीमा देवीकुमारी बुर्लाकोटी पाण्डे र रुवीभ्यालीमा डेभिड डिमदुङ डोङ रहेका छन्।

यस्तै, नेपाली कांग्रेस धादिङ क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशन मौसमको प्रतिकूलताका कारण असोज १३ गतेका लागि सारिएको छ । क्षेत्र नं. १ अन्तर्गत धुनीबेसी, गल्छी र गजुरीको अधिवेशन आज र भोलिसम्ममा सम्पन्न हुने जनाइएको छ ।

क्षेत्र नं. १ अन्तर्गत सिद्धलेक, बेनीघाट रोराङ र थाक्रेको पालिका अधिवेशन भने सम्पन्न भइसकेको छ। ती पालिकामा क्रमशः भीम भट्ट, विनोद भट्टराई र सादुराम थापा सभापतिमा निर्वाचित भएका छन् ।