
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ (क) बाट बागमती प्रदेश प्रतिनिधि पदमा हेमराज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
लामो समयदेखि सामाजिक तथा सांगठनिक क्षेत्रमा सक्रिय श्रेष्ठ नेपाली कांग्रेस नीलकण्ठ नगरपालिका–८ का निवर्तमान सभापति हुन् । उनी रामकोट सहकारीका संस्थापक अध्यक्ष तथा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी संघका वरिष्ठ उपाध्यक्षसमेत हुन् ।
श्रेष्ठले ‘समावेशी कांग्रेस, सबैको सहभागिता, सबल नेतृत्व’ भन्ने नारासहित उम्मेदवारी अघि सारेका छन् । उनले पार्टी संगठनलाई थप सुदृढ, समावेशी र सबैको सहभागिता सुनिश्चित हुने गरी अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
उनले समावेशी, समानुपातिक र न्यायपूर्ण प्रतिनिधित्वलाई प्राथमिकता दिने बताएका छन्। किसान, युवा, महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरणसँगै पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई विकासका प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता उनको छ ।
त्यस्तै, समृद्ध र आत्मनिर्भर बागमती प्रदेश निर्माणका लागि निरन्तर भूमिका निर्वाह गर्ने श्रेष्ठले बताएका छन् ।
‘तपाईंको विश्वास, मेरो प्रतिबद्धता–हाम्रो पार्टी, हाम्रो जिम्मेवारी’ भन्ने संकल्पसहित श्रेष्ठले धादिङ क्षेत्र नं. २ (क) का क्षेत्रीय प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग सहयोग र मतका लागि अपिल गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ क्षेत्र नं. २ (क) को बागमती प्रदेश प्रतिनिधि चयनका लागि मतदान आज हुँदैछ ।
