यो बज्जिया त छोरो मान्छे पो त…………

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २०, २०७३

“खर ले छाएको-रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै साचेर राखेको काक्रो झिक्रैमा पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो ।
रोटे पिङ्को लागी माद्लखाबो काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न पाट-बाबियो उठाउदै हिडिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै चिउरा कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दसै आएझै लाग्थो ।
दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो र पो दसै आएझै लाग्थो ।
दसैमा फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो र पो दसै आएझै लाग्थो ।
पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो ।
बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थो ।
अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो ।
मुग्लानीहरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दसै आएझै लाग्थो ।
घरमै आफ्नो मात्रै मनमौजी गर्नेगरी प्राइभेट पिङ हालिदिनु पर्छ भनेर आमाबासँग माग राखेर लडिबुडी खेल्दै अनसन बसिन्थो र पो दसै आएझै लाग्थो ।
सधै निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो र पो दसै आएझै लाग्थो ।
निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो र पो दसै आएझै लाग्थो ।
टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरोमान्छे पो हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो र पो दसै आएझै लाग्थो ।
_ _ _ तर खै त अहिले त्यो दसै ???????
उफ्स सम्झिदापनी बैराग लाग्छ्; त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको दसै माग्थे । नागरिकतामा उमेर घटाएर फेरी त्यो “बालापन ” फर्कने भए म जुनसुकै मुल्य चुकाएर पनि त्यो “बालापन ” साट्थे तर अपसोच नियती सामु म निरिह छु ।
जे होस फेरी हिन्दूहरुको घर दैलोमा बडा दसै आएको छ । यस अबसरमा यहाँहरु सबैमा २०७३ सालको “बडादसै बडा बनोस यही शुभ कामना” दिन चाहन्छु । जय होस !”

बितेका पल बाट