
धादिङ । धादिङबेसीस्थित पुछार बजारमा रहेको किबो बोर्डिङ स्कुलले विद्यालयस्तरीय २०औँ खेलकुद उत्सव “20th Kibou Annual Sport Meet- 2083” सुरु गरेको छ । विद्यार्थीमा खेलकुदप्रतिको रुचि र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत खेलकुद उत्सव आयोजना गरेको हो ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसर पारेर यस वर्षको खेलकुद उत्सव सुरु गरिएको विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले बताए । विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्य रहेको उनले बताए ।
‘मनमा आशा, मैदानमा जोस, खेलकुदले जोड्छ हरेक मन र सोच’ भन्ने मूल नारासहित सुरु भएको उत्सव मंसिर ११ गतेसम्म सञ्चालन हुनेछ । शिक्षक अनुप भट्टका अनुसार प्रतियोगितामा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीले भाग लिनेछन् । उत्सवमा १५९ भन्दा बढी खेल तथा प्रतिस्पर्धात्मक गतिविधि समावेश गरिएको छ ।
प्रतियोगितामा भलिबल, बास्केटबल, ब्याडमिन्टन, कबड्डी, फुटबल, १०० मिटर, २०० मिटर र ४०० मिटर दौड, रिले रेस, मिनी म्याराथन, ज्याभलिन थ्रो, सटपुट, पोर्ट बल, डोरी तान्ने, गणित दौड, विज्ञान दौड, व्याकरण दौड, लङजम्प र हाइजम्पलगायतका खेल समावेश छन् ।
त्यसैगरी, प्रि–प्राइमरी तहका विद्यार्थीका लागि १०० मिटर दौड, इन–आउट, चकलेट रेस, हट पटाटो रेस र बेलुन ब्लास्टलगायत मनोरञ्जनात्मक खेलसमेत राखिएको छ ।
खेलकुद उत्सवको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले गरेका थिए । प्रतियोगिता सुरु हुनुअघि विद्यार्थीहरूले धादिङबेसी बजारमा मार्चपास र्यालीसमेत गरेका थिए ।
विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको खेलकुद उत्सवको यो २०औँ संस्करण हो । यसले विद्यार्थीमा खेल भावना, अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
