धादिङमा सहिद तथा बेपत्ता परिवार सम्मान, नेकपाका नेताहरूले पार्टीभित्रको विवाददेखि रास्वपा सांसदसम्मलाई गरे कटाक्ष

Avatar photo
Dhadingpost
मंसिर ८, २०८३

धादिङ । २५औँ जनमुक्ति सेना नेपाल स्थापना दिवसको अवसरमा धादिङमा सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम आयोजना गरिएको छ । जनक्रान्तिका महान् सहिद तथा बेपत्ता परिवार समाज धादिङले आयोजना गरेको कार्यक्रममा नेकपाका नेताहरूले जनयुद्धको योगदान, सहिद परिवारको अवस्था र पार्टीभित्र देखिएको आन्तरिक विवादबारे धारणा राखेका छन् ।

रामबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णुपुकार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा पुष्पविक्रम मल्ल, मोहन कार्की, जगत सिंखडा, विजय बुर्लाकोटीलगायतका नेताहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कृष्णबहादुर थपलिया (विवेक) ले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि विष्णुपुकार श्रेष्ठले जनयुद्धको चर्चा गर्दै त्यसमा सहभागी योद्धाहरूको योगदान स्मरण गरे । जनयुद्धका एजेन्डा संविधानमै समेटिएको उल्लेख गर्दै उनले सहिद परिवार, बेपत्ता परिवार तथा घाइते र अपाङ्गता भएका व्यक्तिहरूलाई निराश नहुन आग्रह गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाले पार्टीभित्र देखिने व्यक्तिवादी प्रवृत्तिको विरोध गर्नुपर्ने बताए । ‘सबै म नै सर्वेसर्वा हुँ, आफूलाई हुँदा ठीक अरूलाई हुँदा बेठीक भन्ने प्रवृत्ति चाहे केन्द्रमा होस् वा जिल्लामा, त्यसविरुद्ध विद्रोह हुनैपर्छ,’ उनले भने ।

सिंखडाले धादिङको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूप्रति पनि व्यङ्ग्य गरे । पुल निर्माणसमेत गर्न नसक्नेहरू भन्दै उनले सांसदहरूमाथि कटाक्ष गरेका थिए । आफ्नो कार्यकालमा आफूले गरेका कामको २५ प्रतिशत मात्रै रास्वपाका सांसदहरूले गर्न सके आफूले राजनीति नै नगर्ने उनको घोषणा थियो ।

त्यस्तै, धादिङका सहइन्चार्ज विजय बुर्लाकोटीले पार्टीको कात्तिक ३० गते बसेको बैठकको निर्णयअनुसार नै सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम आयोजना गरिएको बताए । सञ्चारमाध्यममा आफूहरूलाई कार्यक्रमबारे थाहा नभएको र पार्टीले निर्णय नगरेको भन्ने अभिव्यक्ति आएको उल्लेख गर्दै उनले जिल्ला सहसंयोजक दीपक लामिछाने (सुबोध) तर्फ लक्षित गर्दै असन्तुष्टि व्यक्त गरे ।

यसअघि कार्यक्रमबारे पार्टीमा औपचारिक निर्णय नभएको र सामाजिक सञ्जालबाट मात्रै जानकारी पाएको जिल्ला सहसंयोजक लामिछानेले बताएका थिए । बुर्लाकोटीको अभिव्यक्तिले कार्यक्रम आयोजना गर्ने निर्णय र त्यसबारे पार्टीका नेताहरूबीच रहेको बुझाइमा देखिएको मतभिन्नतालाई पुनः उजागर गरेको छ ।

कार्यक्रममा नेकपाका नेता शालिकराम जम्कट्टेल, जिल्ला संयोजक मनराज भण्डारी, सहसंयोजक दीपक लामिछाने (सुबोध), शंकर अधिकारीलगायतका केन्द्रीय सदस्यहरू भने उपस्थित थिएनन् ।

सहिद तथा बेपत्ता परिवारको सम्मानका लागि आयोजित कार्यक्रममा नेताहरूका अभिव्यक्तिले धादिङ नेकपाभित्रको आन्तरिक असमझदारी र राजनीतिक मतभिन्नता पनि सार्वजनिक रूपमा चर्चामा ल्याएको छ ।