धादिङमा शनिबार ९ घण्टा विद्युत अवरुद्ध हुने

Avatar photo
Dhadingpost
कार्तिक २०, २०८३

धादिङ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले धादिङ र नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा शनिबार (कार्तिक २१ गते) विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। ३३ केभी विद्युत लाइन विस्तार तथा मर्मत कार्य गर्नुपर्ने भएकाले बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द गरिने भएको हो ।

प्राधिकरणका अनुसार मलेखु १३२/३३ केभी सबस्टेशनबाट कुम्पुर हुँदै धादिङबेसी आएको ३३ केभी डबल सर्किट लाइनअन्तर्गत निलकण्ठ नगरपालिका–८, साघुटार खण्डमा तार विस्तार, डिस्कनेक्टिङ स्विच (Disconnecting Switch) जडान तथा लाइन नजिक रहेका रुखका हाँगा काट्ने कार्य गर्नुपर्नेछ ।

मौसम अनुकूलताका आधारमा उक्त कार्य सञ्चालन गरिने र सो अवधिमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

कुन-कुन क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ?

धादिङबेसी, जहरे, नुवाकोटको रातमाटे तथा सल्यान्टार सबस्टेशनबाट वितरण हुने सम्पूर्ण फिडर क्षेत्रहरूमा विद्युत सेवा प्रभावित हुने जनाइएको छ ।

प्रभावित क्षेत्रहरूमा धादिङका नीलकण्ठ नगरपालिका, सिद्धलेक, बेनीघाट रोराङ, गजुरी, गल्छी, ज्वालामुखी, नेत्रावती डब्जोङ, गंगाजमुना, त्रिपुरासुन्दरी, खनियाबास र रुबीभ्याली गाउँपालिकाका साथै आरुघाट गाउँपालिकाको सम्पूर्ण क्षेत्र रहेका छन् ।

त्यस्तै, नुवाकोटको रातमाटे सबस्टेशनबाट वितरण हुने सम्पूर्ण क्षेत्र तथा त्रिशूली नदीवारिका केही क्षेत्रमा समेत विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।