
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ६० वर्ष उमेर पूरा गरेका पाँच महिला स्वास्थ्य स्वयंसेविकालाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि सामुदायिक सहभागितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनीहरूलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुने महिला स्वास्थ्य स्वयंसेविकाहरूमा जानुकादेवी पाण्डे क्षेत्री, गंगावती शाह, नानी मैया अधिकारी, विष्णुकुमारी आले र अनिता मल्ल रहेका छन् ।
कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखाले नयाँ पाँच महिला स्वास्थ्य स्वयंसेविकालाई स्वागतसमेत गरेको थियो ।
कार्यक्रममा गाउँपालिका प्रमुख राजु उप्रेती, उपप्रमुख देवराज धरेललगायतको आतिथ्यता रहेको स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिए ।
स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि आहार, विहार, योग र विचारमा शुद्धता कायम गर्नुपर्ने विषयमा स्वास्थ्य संयोजक श्रेष्ठले सहजीकरण गरेका थिए ।
तस्वीरः दिलिप श्रेष्ठ

