
धादिङ । धादिङको गजुरीमा जन्मिएकी लक्ष्मी थपलियाको स्वरमा नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । बैंकिङ पेसामा आबद्ध थपलिया कला, संगीत र सौन्दर्य प्रतियोगिताको क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सफल छिन् ।
बैंकिङ पेसासँगै सांगीतिक सिर्जना र मनोरञ्जन क्षेत्रमा रुचि राख्दै आएकी थपलियाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेकी हुन् ।
उनले आधा दर्जनभन्दा बढी सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन् । विभिन्न क्षेत्रमा सक्रिय रहेकी थपलियाले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुति ‘फूलै फुल्यो गुराँस’ सुनेर प्रतिक्रिया दिनसमेत दर्शक तथा स्रोतासँग आग्रह गरेकी छन् ।
गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेञ्जमेन्ट, मिक्सिङ र मास्टरिङको काम पनि आचार्यले नै गरेका छन् । एमबी म्युजिक रेकर्डेड स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो निर्देशनसमेत आचार्यले गरेका हुन् ।
गीतको भिडियोमा गायिका थपलिया स्वयंले अभिनय गरेकी छन् । भिडियो छायांकनमा दिपेन बस्न्यात, दुर्गा पौडेल र विजय रुम्बा रहेका छन् ।
बैंकिङ पेसा, संगीत र सौन्दर्य प्रतियोगिताको क्षेत्रमा सक्रिय धादिङकी चेली थपलियाको नयाँ सांगीतिक प्रस्तुतिले दर्शक तथा स्रोताको माया पाउने अपेक्षा गरिएको छ ।

