
धादिङ । धादिङबेसीस्थित एडभान्स एकेडेमीको २०औँ एडभान्स खेलकुद महोत्सव–२०८३ सोमबारदेखि सुरु भएको छ। कात्तिक १६ देखि २० गतेसम्म सञ्चालन हुने महोत्सवमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी हुनेछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा सम्पन्न महोत्सवको उद्घाटन जिल्ला खेलकुद समितिका अध्यक्ष प्रतापसिंह तामाङले गर्नुभएको थियो । उद्घाटन समारोहमा विभिन्न संघसंस्था तथा शैक्षिक क्षेत्रका प्रमुख एवं प्रतिनिधि, अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका सञ्चालक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खालीले विद्यालय स्थापनाकालदेखि नै विद्यार्थीहरूको शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक विकासलाई प्राथमिकतामा राख्दै खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गराउने उल्लेख गर्नुभयो ।
यस वर्षको खेलकुद महोत्सवमा १०० भन्दा बढी खेल तथा सिर्जनात्मक गतिविधि सञ्चालन गरिने विद्यालयले जनाएको छ । महोत्सवमा ड्रिल, तेक्वान्दो, एथलेटिक्स, भलिबल, फुटबल, चेस, नृत्य र वक्तृत्वकलालगायत विभिन्न प्रतियोगिता समावेश गरिएका छन् । शिक्षक तथा अभिभावकका लागि समेत मनोरञ्जनात्मक खेलहरू आयोजना गरिने विद्यालयले जनाएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल भावनाका साथ आयोजना गरिएको महोत्सवले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन, खेलकुदप्रति रुचि अभिवृद्धि तथा स्वस्थ र अनुशासित जीवनशैली विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विद्यालयले विगतदेखि नै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। राष्ट्रपति रनिङ सिल्डलगायत विभिन्न प्रतियोगितामा एडभान्स एकेडेमीका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन् । विद्यार्थीहरूको प्रतिभा, क्षमता र सिर्जनशीलतालाई थप उजागर गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष खेलकुद महोत्सवलाई विशेष महत्त्व दिँदै आएको छ ।
२०औँ खेलकुद महोत्सवले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसँगै विद्यालयको शैक्षिक तथा खेलकुद यात्रामा थप उपलब्धि हासिल गर्ने विश्वास विद्यालयले लिएको छ ।

