
धादिङ । लायन्स अन्तर्राष्ट्रिय डिस्टृक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङको अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजित समारोहबीच नवस्थापित ‘लायन्स क्लब धादिङ समाज’ को औपचारिक उद्घाटन गरिएको छ ।
लायन्स अन्तर्राष्ट्रियका अन्तर्राष्ट्रिय निर्देशक लायन राजन लम्साल, डिस्टृक्ट गभर्नर लायन सूर्यकुमार केसी, डिस्टृक्ट फर्स्ट भाइस गभर्नर लायन शैलेन्द्र मोहन भट्टराई र डिस्टृक्ट सेकेन्ड भाइस गभर्नर लायन विष्णु भण्डारीको उपस्थितिमा क्लबको उद्घाटन गरिएको हो ।
सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक रूपान्तरणलाई मुख्य उद्देश्य बनाएर सन् २०२६ अक्टोबर १४ मा स्थापना भएको लायन्स क्लब धादिङ समाजले औपचारिक उद्घाटनसँगै आफ्नो सेवा यात्रा सुरु गरेको छ ।
उद्घाटन समारोहमा क्लबका चार्टर्ड प्रेसिडेन्ट लायन डा. दिनेश रेग्मी, कोषाध्यक्ष लायन डा. प्रियजन पाण्डे र सहसचिव लायन डा. अनिल गुरुङको उपस्थिति रहेको थियो ।
त्यसैगरी क्लब स्थापनामा सहयोगी भूमिका निर्वाह गर्ने स्पोन्सर क्लब लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीका अध्यक्ष लायन राजाराम रिजाल तथा लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष हरिकुमार श्रेष्ठ, सचिव लायन प्रदीप ढकाल र सर्भिस चेयरपर्सन लायन राम श्रेष्ठलगायत विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
क्लबका चार्टर्ड प्रेसिडेन्ट लायन डा. दिनेश रेग्मीले लायन्स अन्तर्राष्ट्रियको मूल नारा ‘We Serve’ अर्थात् ‘हामी सेवा गर्छौँ’ लाई आत्मसात् गर्दै क्लबले सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई प्राथमिकता दिने बताए ।
उनका अनुसार क्लबले आफ्नो कार्यक्षेत्रभित्र शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सचेतनाका क्षेत्रमा विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्नेछ। समुदायको आवश्यकता पहिचान गरी सकारात्मक सामाजिक परिवर्तनका लागि क्लब सक्रिय रहने उनले बताए ।
लायन्स क्लब धादिङ समाजको औपचारिक उद्घाटनसँगै धादिङमा सामाजिक सेवा र मानवीय सहयोगका गतिविधिलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

