
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिञ्चोकस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्फटिक खम्बा (फटिक खम्बा) को प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
स्फटिक खम्बा युवा क्लबको आयोजनामा ६ ए साइड खुला फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी कार्तिक २२ गतेदेखि २४ गतेसम्म आगिञ्चोकको चुराटारमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद १५ हजार रुपैयाँसहित मेडल प्राप्त गर्नेछ।
धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको स्फटिक खम्बा
स्फटिक खम्बा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिञ्चोक (अग्निचोक) मा अवस्थित धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको स्थल हो । स्थानीय धार्मिक मान्यता र हिन्दू धर्मग्रन्थमा वर्णित कथाअनुसार यो स्थान भगवान् विष्णुको नृसिंह अवतार र हिरण्यकशिपुसँग सम्बन्धित छ ।
धार्मिक कथनअनुसार हिरण्यकशिपुले प्रहार गरेको स्फटिकको खम्बाबाट भगवान् नृसिंह प्रकट हुनुभएको मानिन्छ । सोही धार्मिक मान्यताका आधारमा यस क्षेत्रलाई पूजाआजा तथा दर्शन गर्ने स्थलका रूपमा लिइन्छ ।
यस क्षेत्रमा स्फटिक खम्बाको मन्दिरसमेत रहेको छ। प्रत्येक वर्ष फागुपूर्णिमा अर्थात् होलीको अवसरमा आगिञ्चोकस्थित स्फटिक खम्बादेखि सल्यानटारमा रहेको प्रसिद्ध नृसिंह धामसम्म विशेष रथयात्रा निकाल्ने परम्परा रहेको छ ।
स्थानीय धार्मिक मान्यताअनुसार आगिञ्चोक र अग्निकुण्ड दुवै स्थानलाई होलिका दहनसँग सम्बन्धित स्थलका रूपमा पनि लिइन्छ ।
धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको स्फटिक खम्बाको पहिचानलाई थप व्यापक बनाउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताले खेलकुदसँगै स्थानीय क्षेत्रको धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

