
धादिङ । नेपाली कांग्रेस धादिङको देउवा पक्षले १५औँ जिल्ला अधिवेशन उद्घाटन गरेको छ । अधिवेशनलाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेस नै आधिकारिक पार्टी भएको दाबी गरेका छन् ।
नेता सिंहले नेपाली कांग्रेस विधि र विधानअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै पार्टीको आधिकारिकताबारे अलमलमा परेकाहरूलाई देउवा नेतृत्वको आधिकारिक कांग्रेसमा आबद्ध हुन आग्रह गरे । कांग्रेसको लामो इतिहास र संगठनात्मक परम्पराबारे चर्चा गर्दै उनले विशेष महाधिवेशनका नाममा गरिएका गतिविधिले पार्टीको विधान उल्लङ्घन गरेको आरोप लगाए। उनले तमाम कांग्रेस कार्यकर्ताले शेरबहादुर देउवा नेतृत्वकै कांग्रेसलाई आधिकारिक पार्टीका रूपमा बुझ्नुपर्ने बताए ।
यसैबीच, नेपाली कांग्रेस धादिङको १५औँ जिल्ला अधिवेशनबाट नेतृत्व चयनका लागि आधा दर्जनभन्दा बढी नेताहरू सभापतिको आकांक्षीका रूपमा देखिएका छन् । पूर्व जिल्ला सभापतिदेखि प्रदेश सांसद, भ्रातृ संगठनका पूर्वअध्यक्ष र युवा नेताहरूसम्मले जिल्ला सभापति बन्ने तयारी गरेका छन् ।
वर्तमान संयोजकको जिम्मेवारी पाएका गोपाल विश्वकर्मा अधिवेशनबाट सभापति बन्ने दौडमा छन् । त्यस्तै, पूर्व जिल्ला उपसभापति रामकृष्ण अधिकारी, बागमती प्रदेश सांसद एवं पूर्व जिल्ला सचिव गोविन्द लम्साल, महासमिति सदस्य तथा पूर्व तरुण दल अध्यक्ष दिनेशबहादुर गुरुङ पनि सभापतिका आकांक्षी छन् ।
यसैगरी, बागमती प्रदेश सदस्य एवं स्वास्थ्य विभाग प्रमुख डा. अमित सिंह कार्की, महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रवि सुदन थापा र जिल्ला कार्यसमिति सदस्य नारायणप्रसाद पोखरेलले पनि सभापतिका लागि आकांक्षा देखाएका छन् ।
यता, गगन थापा पक्षधरले पनि तिहार आसपास जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ ।

