
धादिङ । नेपाली कांग्रेस धादिङको देउवा पक्षधरले आयोजना गरेको १५औँ जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार भव्य समारोहबीच केन्द्रीय नेता प्रकाशमान सिंहले अधिवेशन उद्घाटन गरेका थिए । उद्घाटनपछि आइतबार नै उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो । अन्य निर्वाचन प्रक्रिया भने सोमबार बिहानदेखि सुरु हुने जनाइएको छ ।
आइतबार राति ११ बजेसम्म सम्पन्न उम्मेदवारी मनोनयनमा जिल्ला सभापति पदका लागि नेपाली कांग्रेस धादिङका पूर्व जिल्ला उपसभापति रामकृष्ण अधिकारी, अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित संयोजक बनेका गोपाल विश्वकर्मा, युवा नेता विकास अधिकारी र रविसुधन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
युवा नेता विकास अधिकारीले धादिङपोष्टलाई दिएको जानकारीअनुसार निर्वाचन प्रक्रिया अघि बढेको छ भने सहमतिको प्रयाससमेत जारी छ ।
उनले युवालाई नेतृत्व दिने गरी सहमति भए आफू सभापति बन्न तयार रहेको बताउँदै सहमतिबाट जो सभापति बने पनि आफ्नो सहयोग रहने बताएका छन् ।
चार जनाको उम्मेदवारी परेसँगै देउवा पक्षधर कांग्रेसको जिल्ला नेतृत्व चयन प्रक्रिया थप चासोको विषय बनेको छ ।

