अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा जापानबाट राजेन्द्र श्रेष्ठको दाबी

Avatar photo
Dhadingpost
अशोज १२, २०८३

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्षका लागि जापानबाट राजेन्द्र श्रेष्ठले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् । समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङमा हुने तय भएसँगै श्रेष्ठले अध्यक्ष पदमा आफ्नो दाबी अघि सारेका हुन् ।

धादिङको ज्वालामुखी गाउँपालिका–१, मैदी घर भएका श्रेष्ठ लामो समयदेखि जापानमा रहेर सामाजिक गतिविधिमा सक्रिय छन् । उनी धादिङ समाज जापानका संस्थापक महासचिवसमेत हुन् ।

श्रेष्ठले अन्तर्राष्ट्रिय धादिङ समाजको दोस्रो कार्यकालमा महासचिव र तेस्रो कार्यकालमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । हाल समाजको उपाध्यक्ष रहेका उनी आगामी कार्यकालमा अध्यक्ष भएर संस्थालाई थप सक्रिय र व्यवस्थित ढंगले अघि बढाउने योजनासहित अध्यक्ष पदमा आकांक्षी बनेका हुन् ।

शैक्षिक रूपमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका श्रेष्ठले प्रवासमा रहेर धादिङवासीबीचको सहकार्य, सामाजिक गतिविधि तथा संस्थागत अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाज गठनको सुरुवात भने २०७४ सालबाट भएको हो । २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तर्राष्ट्रिय धादिङ समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७४ असोज ३१ गते अर्थात् अक्टोबर १७ मा काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका थिए ।

समाजको दोस्रो अधिवेशन २०७८ असोज २४ गते सम्पन्न भएको थियो । दोस्रो अधिवेशनबाट राजन खकुराल अध्यक्षमा चयन भएका थिए । त्यसपछि २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले खकुराललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।