कांग्रेस धादिङ-२ मा स्वतन्त्रबाट वडा अध्यक्ष बनेका राजकुमार र प्रकाशको उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
अशोज १२, २०८३

धादिङ । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर वडा अध्यक्षमा निर्वाचित भएका नीलकण्ठ नगरपालिका–३ का राजकुमार श्रेष्ठ र नीलकण्ठ नगरपालिका–८ का प्रकाश श्रेष्ठले नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा उम्मेदवारी दिने भएका छन् ।

राजकुमार श्रेष्ठले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यस्तै, प्रकाश श्रेष्ठले धादिङ क्षेत्र नं. २ (क) को प्रदेशसभा क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने भएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाएपछि प्रकाश श्रेष्ठले भुँइकटहर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले कांग्रेसका आधिकारिक उम्मेदवार रमेश कोइरालालाई ७९० मतान्तरले पराजित गर्दै नीलकण्ठ–८ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै, राजकुमार श्रेष्ठले गुलाब चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले कांग्रेसका आधिकारिक उम्मेदवार गोपीकृष्ण भण्डारीलाई ७१० मतान्तरले पराजित गर्दै नीलकण्ठ–३ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर वडा अध्यक्ष निर्वाचित भएका दुवै जना अहिले कांग्रेसको क्षेत्रीय अधिवेशनमा उम्मेदवार बन्न लागेका हुन् । उनीहरूको उम्मेदवारीसँगै धादिङ–२ को अधिवेशनमा थप प्रतिस्पर्धा देखिएको छ ।

कांग्रेस धादिङ २ काे अधिवेशनआज हुँदै छ ।