अन्तर्राष्ट्रिय धादिङ समाजको अधिवेशन नजिकिँदै, स्मारिका प्रकाशनको तयारी तीव्र

Avatar photo
Dhadingpost
अशोज १, २०८३

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशन नजिकिँदै गर्दा समाजले विशेष स्मारिका प्रकाशनको तयारीलाई तीव्र बनाएको छ। समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते अर्थात् अक्टोबर १७ मा हुने तय भएको छ ।

अध्यक्ष राजन खकुरालका अनुसार अधिवेशनको पूर्वसन्ध्यामा प्रकाशन गर्न लागिएको स्मारिका करिब ३०० पृष्ठको हुनेछ। स्मारिकाको सम्भावित नाम ‘प्रतिध्वनि’, ‘माटो र मन’ वा ‘सपना र समृद्धि’ मध्ये एक राखिनेछ जनाईएकाे छ ।

स्मारिकामा धादिङको परिचय, पहिचान, विकास, संस्कृति, साहित्य, पर्यटन, अर्थतन्त्र तथा उद्यमशीलताका साथै विश्वका विभिन्न देशमा रहेका धादिङवासीका अनुभव र योगदान समेटिनेछ ।

स्मारिकामा धादिङको परिचय तथा पहिचान, आर्थिक–सामाजिक विकास र जिल्लाका पर्यटकीय गन्तव्यका विषयमा सामग्री प्रस्तुत गर्नेछन् ।

त्यस्तै, संस्कृति तथा साहित्यतर्फ प्रकाश पौडेलको ‘हाम्रो संस्कृति हाम्रो परम्परा’ र लोक संस्कृति तथा साहित्यसम्बन्धी सामग्री समावेश गरिनेछ ।

अर्थतन्त्र तथा उद्यमशीलता, वित्तीय पहुँच र कृषि, मुख्य उत्पादन तथा व्यवसायीकरण र नवप्रवर्तनीय उद्यमशीलताका विषयमा सामग्री प्रस्तुत गर्ने तयारी छ ।

समसामयिक तथा सामाजिक ‘संघीयता : अवसर र चुनौती’, ज्येष्ठ नागरिकप्रतिको सम्मान तथा एमसिए परियोजना र धादिङसम्बन्धी सामग्री समावेश गरिनेछ ।

समाजले स्मारिका प्रकाशनका लागि सेप्टेम्बर १५ सम्म लेख संकलन गर्ने कार्यतालिका बनाएको छ । सेप्टेम्बर १५ देखि ३० सम्म प्रारम्भिक तथा अन्तिम सम्पादन गर्ने र सेप्टेम्बर ३० सम्म कभर डिजाइनलाई अन्तिम रूप दिने तयारी गरिएको छ ।

अक्टोबर ५ मा स्मारिका प्रेसमा पठाउने र अक्टोबर १५ सम्म पुस्तक तयार पार्ने लक्ष्य राखिएको छ । उक्त स्मारिका अधिवेशनमा विमाेचन गरिने जनाईएकाे छ ।

विश्वका २० राष्ट्रमा शाखा विस्तार गरेको अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशनले पाँचौँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनले समाजको आगामी नेतृत्वसहित विभिन्न पदाधिकारी तथा सदस्य चयन गर्नेछ ।

अन्तर्राष्ट्रिय धादिङ समाज गठनको सुरुवात भने २०७४ सालबाट भएको हो । २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तर्राष्ट्रिय धादिङ समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७४ असोज ३१ गते अर्थात् अक्टोबर १७ मा काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका थिए ।

समाजको दोस्रो अधिवेशन २०७८ असोज २४ गते सम्पन्न भएको थियो । दोस्रो अधिवेशनबाट राजन खकुराल अध्यक्षमा चयन भएका थिए । त्यसपछि २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले खकुराललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।

अब चौथो अधिवेशनमार्फत समाजले पाँचौँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । विभिन्न देशमा रहेका धादिङेलीलाई संगठित गर्दै सामाजिक सेवा, विपद् सहयोग तथा जिल्लासँग सम्बन्धित विभिन्न गतिविधिमा सक्रिय रहँदै आएको समाजको नयाँ नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ ।